
तनहुँ, ६ जेठ– तनहुँ प्रशासनले निर्माण कार्यमा कडाइ गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि बुधबारदेखि सरकारी योजना तथा आयोजना बाहेकका निर्माण कार्य स्थगित गर्न आदेश जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम जारी यो आदेश जेठ १५ गतेसम्म लागु हुने तनहुँ प्रशासनले जानकारी दिएको छ ।
आदेश पालना गराउन व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी र आम जिल्लावासीलाई अनुरोध गरिएको छ । आदेशको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
व्यक्तिगत निर्माणका कामले कोरोना संक्रमणको जोखिम बढेपछि कडाई गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । तनहुँमा वैशाख २२ गते राती १२ बजेदेखि निषेधाज्ञा लागु भएको थियो । दोस्रो चरणमा थप कडाइका साथ जेठ १५ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ ।





