पोखरा, ६ जेठ- संघियताका विज्ञ डा. खिमलाल देवकोटाको राष्ट्रिय सभामा इन्ट्री भएको छ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. देवकोटा विजयी भएका हुन् । उनले ५०८८ मतभार पाए ।
डा. देवकोटा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका उम्मेदवार हुन् । देवकोटालाई नेकपा एमालेको माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।
राष्ट्रिय सभाको उपनिर्वाचनमा वादल सुर्य चिन्हबाट चुनाव लडेका थिए भने देवकोटा कलम चिन्हबाट चुनाव लडेका थिए ।
देवकोटाको पुख्र्याेली घर कास्की जिल्ला पोखरा महानगरपालिका-२३ चापाकोट (साविक चापाकोट- ४) हो । उनको परिवार २०३७ सालमा वारा जिल्लामा वसाई सरेको थियो । हाल उनी काठमाडौं भैसेपाटीमा वस्छन् ।





