समाचार टिप्पणी
बागलुङ, ७ जेठ– एक वर्षअघि कोरोना महामारीको पहिलो लहर चलेका बेला बागलुङको काठेखोला गाउँपालिकाले चिकित्सकको खोजी ग¥यो । गाउँपालिकाले नै सेवा सुविधा उपलव्ध गराउने गरी करार सेवामा नियुक्त गर्न विज्ञापन गरेको भएपनि कसैले दरखास्त दिएनन् । अस्थायी कोभिड अस्पतालको लागि भनेर माग गरिएको पदमा दरखास्त नपर्नुमा पालिकाको कुनै दोषको रहेन । सरकारी नियम अनुसारको तलबसुविधा तोकिएकै थियो । गाउँपालिकाले जबर्जस्ती कसैलाई ल्याउने कुरा भएन । आफ्नो मातहतमा रहेको जनस्वास्थ्यका अधिकृतबाटै कोभिड अस्पतालको नेतृत्व गराएर काम चलाइयो । त्यो बेला अवस्था भयावह नबनेकाले गाउँपालिकालाई असहज भने नभएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामा बताउँछन् । उनले आफैले कोभिड नियन्त्रण तथा रोकथाम, खोजपड्ताल र उपचारको नेतृत्व गर्नुपरेको थियो ।
यो समस्या काठेखोलाको मात्रै होइन,जैमिनी नगरपालिकामा रहेको स्वास्थ्य केन्द्र, गलकोटमा रहेको स्वास्थ्य केन्द्रले पनि त्यो समयमा समस्या भोगे । बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रमा भने डा. मिलन मल्लको नेतृत्वले कोरोना महामारीको पहिलो लहर पार लगायो । त्यो बेला बागलुङमा स्वास्थ्य सामग्रीको चरम समस्या थियो । बिना सुरक्षाकवच स्वास्थ्यकर्मीहरु बिरामीको उपचार, जाँच र खोजपड्तालमा उत्रिए । प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको धौलागिरी अस्पतालमा १६ जना विशेषज्ञ र ६ जना मेडिकल अधिकृत थिए । त्यो बाहेकको स्वास्थ्य जनशक्ति पर्याप्त नभएपनि पुग्दो थियो ।
पहिलो लहर साम्य भएको केही समय नबित्दै महामारीको दोस्रो र तेस्रो लहर चलिरहेको छ । एक वर्ष पहिला बनेका क्वारेन्टिन, आईसोलेसन र कोभिड अस्थायी अस्पतालहरु पुनः प्रयोगमा ल्याउनुपर्ने हो । पहिलेको जस्तो संक्रमणको नरम अवस्था छैन । पहिलो लहरमा संक्रमित भएकामध्ये कमैलाई समस्या भयो । अस्पतालको आइसोलेसन बसेका हुन वा होम आइसोलेसनमा बसेका धेरैले सहजै कोभिड पराजित गरे । दोस्रो लहर चलेपछि संक्रमित बनेकाहरु धेरैमा स्वासप्रस्वासको समस्या छ । संक्रमितमध्ये धेरैलाई अस्पताल र अक्सिजनको आवश्यकता छ ।
धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट छ । प्रमुख डा. शैलेन्द्र बिक पोखरेलका अनुसार प्लान्टले २० जना बिरामीका लागि समेत नपुग्ने अक्सिजनको उत्पादन गर्छ । उत्पादित अक्सिजनको गति समेत कम हुने भएकाले धेरैलाई सिलिण्डरबाट अक्सिजन दिनुपर्ने अवस्था छ । स्थानीय तहले निर्माण गरेका आइसोलेसन र अस्थायी कोभिड अस्पतालको अभावको त कुरै नगरौं । त्यहाँको अभावलाई नजरअन्दाज गरेर मुकामको ठूलो अस्पतालको अभाव मात्रै नियाल्ने हो भने जिल्लाको समग्र अवस्थाको चित्रण हुन्छ ।
अस्पतालको नर्सिङ वार्डलाई जानकारी माग्दा सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्रीले आधा नपुग्ने तथ्यांक आउँछ । अक्सिजन र भेण्टिलेटरको अभाव त देशभरकै समस्याको विषय भयो । जनशक्ति हेर्ने हो भने १६ जना विशेषज्ञ डाक्टरको दरबन्दीमा एकजना मात्रै स्थायी दरबन्दीका चिकित्सक छन् । छात्रवृत्तिका १४ जना चिकित्सकले कोभिडका बिरामीको सेवा गरिरहेका छन् । ६ जना दरवन्दी रहेको मेडिकल अधिकृत खाली छन् । करारमा आएकाले समेत लामो समय बसेर काम गर्दैनन् ।
कोरोनाको दोस्रो लहरको उत्कर्ष चलिरहँदा बागलुङमा जनप्रतिनिधिहरुको सहयोगको होड चलेको छ । आवश्यकता कुन भन्ने नखुट्याई भइरहेको सहयोगको उपयोग कसरी होला ?
केही दिनअघि प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले स्वास्थ्य मन्त्रालयले दिएका २५ थान सिलिण्डरसहितको स्वास्थ्य सामग्री लिएर अस्पताल आए । सामाजिक सञ्जालमा ठूलो चर्चा भयो । सञ्जालमार्फत स्याबासी खाएका पाठकले अस्पतालमा रहेका सिलिण्डरको विषयमा जानकारी लिए । जनशक्तिको विषयमा पनि जानकारी त लिए तर ध्यान स्वास्थ्य सामग्रीमै थियो ।
पाठक आएको साता नबित्दै क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य भएका देवेन्द्र पौडेल स्वास्थ्य सामग्री बोकेर निर्वाचन क्षेत्र पुगे । कार्यकर्ताले उनले व्यक्तिगत खर्चमा सामग्री ल्याएको प्रचार गरिरहेकै छन् । सबै पालिका मुकामहरुमा पुगेर भीड जम्मा गर्दै छलफल गर्न पौडेलले छुटाएनन् । अस्थायी कोभिड अस्पतालहरुका साँघुरा कोठा हेरेर सुधार गर्न अनुरोध गरेका पौडेलले जनशक्ति पर्याप्त हो होइन भन्नेबारे मौन रहे ।
तीन तहका सरकार छन् । उनीहरुका आफ्नै सञ्जाल छन् । स्वास्थ्य क्षेत्रमा सोही अनुसारको सञ्जाल छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यसका विभाग छन् । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय (यो टिप्पणी तयार गर्ने बेलासम्म) छ । गाउँपालिका तथा नगरपालिकाका आफ्नै स्वास्थ्य शाखा छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लामा रहेको स्वास्थ्य कार्यालयले त अग्रभागमा रहेर काम गरिरहेको छ । यी सबै संयन्त्र स्वास्थ्य संस्थालाई मजबुद बनाउन, पूर्वाधार, उपकरण र सामग्रीको उपलव्धताका लागि होइनन् र ? कि हाम्रो स्वास्थ्य प्रणाली ध्वस्त भैसकेको हो ? सांसदले आफै बोकेर आउने की ती संयन्त्रको प्रयोग गर्ने ? होला कठिन परिस्थिथिमा तत्कालीन आवश्यकताको पूर्तिको प्रसंग तर सरकारका संयन्त्रलाई नै छिटोछरितो बनाउने जिम्मेबारी जनप्रतिनिधिको हो । यदि हाम्रो सरकारको संयन्त्र छभने सांसदहरु, स्वास्थ्य सामग्री बोकेर निर्वाचन क्षेत्रमा दौडाहा किन ?
धौलागिरी अस्पतालमा १४ वर्षदेखि ‘सि’ व्लक भवन निर्माणाधीन छ । कठिन परिस्थितीमा बनिसकेको तेस्रो तल्लाका कोठाहरु प्रयोग गर्न सकिन्थ्यो, अस्थायी शैया निर्माणका लागि । दुर्भाग्य! व्यवस्थापनले ५० शैया थप्छु भन्दा ठेकेदार कम्पनीले बाँकी काम रोक्ने चेतावनी दियो । त्यो कम्पनीलाई ठेगान लगाउन सरकारलाई दबाव दिने काम सांसदको होइन र ? २५ शैयाको आईसोलेसन बनाएको अस्पतालले गंम्भीर बिरामीहरुको चाप हेरेर ३५ शैयामा स्तरवृद्धि गरेको छ । सामान्य वार्डका शैयाहरुको समेत स्तरवृद्धि गरेर अक्सिजनसहितको आईसोलेसन बनाउन अझै सकिन्छ । तर जनशक्ति खोई ? जनशक्तिको व्यवस्थापनका लागि निर्वाचित भएको केही दिन जसरी सांसदहरुले दबाव सिर्जना गरेका थिए । जसका कारण सुधार भएको पनि थियो । अहिले किन यसो गर्न नसकिएको होला ?
प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा, हरिचौर र बुर्तिबाङमा अक्सिजन प्लान्ट लगाउन सकिँदैन ? धौलागिरी अस्पतालमा २० दिनमा प्लान्ट जडान गर्न सकिने अभिव्यक्ति दिने सांसदहरुले त्यहाँको विषयमा किन नसोच्ने ? अक्सिजनको प्रयोग गर्न सक्ने जनशक्तिको व्यवस्थापनको बिषयमा सम्बन्धित निकायलाई किन सचेत नगराउने ? अस्पतालमा आएका चिकित्सकको मनलाग्दी सरुवा हुन्छ । कम्तिमा एकपटक आएकालाई दुई वर्ष रोक्नेगरी दबाव सिर्जना गर्नु जनप्रतिनिधिको दायित्व होइन ?
संकटको समयमा साथ सबैले खोजिरहेका हुन्छन् । दायित्वबोध गर्नेहरुले प्रचार होइन, प्रक्रियाको माध्यमबाट आफूलाई स्थापित गराउँछन् । अक्सिजन मात्रै होइन, अहिले बागलुङमा कोरोना महामारीको लहरसँग जुध्न जनशक्तिको पनि चरम समस्या छ । यसमा सबैको ध्यान जान जरुरी छ ।





