
बागलुङ, १२ जेठ– कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आउँदा उनी घाँस काट्न गएकी थिइन् । भारी खेपेर स्वास्थ्य चौकीको बाटो फर्किंदै गर्दामात्रै आफू संक्रमित भएको पत्तो पाइन् ।
काठेखोला गाउँपालिका-८ को लेखानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले बोलाएर ९० वर्षीय महिलालाई कोरोना पोजेटिभको सूचना दिएका हुन् । उनको घरमा अहिले ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । घरमा गाईभैंसी छन् । खेतीपातीको समय छ । दैनिक काममा नगए सुख नभएपछि पोजेटिभ भएपनि काम गर्नुपर्ने उनीहरुको बाध्यता छ ।
लेखानीकै विभिन्न टोलमा गरी ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । उनीहरुलाई घरमा बस्न भनिएको छ । तर, काम विशेषले निस्किरहेका छन् । उनीहरुलाई घरमा बसाल्न पटक्कै नसकिएको वडाध्यक्ष चित्रकला छन्त्यालले बताइन् । ‘कामले निस्कनै पर्नेहरु पनि छन्, काम नभएर निस्कनेबाट पनि जोखिम बढिरहेको छ,’ उनले भनिन्, ‘एकादुई जना निरन्तर घरभित्र बसेर निषेधाज्ञा पालना गरेका छन्, केहीले लापरवाही गरेका छन् ।’ उनले प्रहरी परिचालन गरेर भएपनि घरबाहिर निस्कन नदिने हो भने साता दिनमै कोरोना नियन्त्रण गर्न सकिने बताइन् ।
केही ज्यालामजदुरी गर्नेहरु पनि छन् । उनीहरुले २ छाक खानकै लागि पनि बाहिर नगई सुख नपाएको बताएपछि के गर्ने भनेर अलमलमा परेको छत्यालले बताइन् । ‘उनीहरु बाहिर निस्केपछि अरु डराउँछन्, घरभित्रै बस्ने वातावरण बनाउन सकिएको छैन,’ उनले भनिन्, ‘कतिपयले समयमा स्वाब परीक्षणमा नआएर घरमै बिरामी भइन्जेल बसेकोले परिवारमा सरिसकेको जस्तो छ ।’
लेखानीकै कादेशमा भने अहिलेसम्म एक जनालाई पनि संक्रमण देखिएको छैन । उनीहरुले गाउँ प्रवेश पनि नगराउने, कोही बाहिर पनि नजाने गरेर संक्रमण रोकेको बताए । ज्वरो आउने वा अन्य लक्षण भेटिएमा तत्काल परीक्षणमा लैजाने गरी खोजी अभियान गरिरहेको स्थानीय लालमाया श्रीषले बताइन् । काठेखोलामा ९ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
प्रशासन, कर्मचारी वा जनप्रतिनिधिले भनेर पनि नमानेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडाबहादुर कार्कीले बताए । ‘कतिपय मानिसको घरमा कोही नभएपछि काममा निस्कनु बाध्यता होला, तर कतिपयहरु वास्तै नगरी निस्कने गरेपछि समस्या भएको हो,’ कार्कीले भने, ‘प्रभावकारी नियन्त्रणका लागि प्रशासन र जिल्ला स्वास्थ्यबाट योजना बनाउनु आवश्यक भयो ।’
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले सरकारले नयाँ रणनीति र कार्ययोजना समेत बनाएकोले नियन्त्रणमा सहजीकरण हुने बताए । सरकारले ल्याएको कोभिड १९ सुस्म नियन्त्रण कार्ययोजनाले प्रभावकारी भूमिका खेल्ने गरी कामको बाँडफाँड समेत गरेको गुरौले जानकारी दिए । उक्त योजनामा एक घरमा संक्रमित देखिएमा त्यो घर शिल गर्ने, उक्त घरका मानिस कतैपनि बाहिर निस्कन नपाउने र सबै सदस्यको पीसीआर गरिने योजनामा उल्लेख छ ।
त्यस्तै ७ देखि १५ वटासम्म घरमा संक्रमण देखिएको खण्डमा वडालाई नै सिल गर्ने र वडा तहमा गठन भएको निगरानी समूहले संक्रमित र उनीहरुको परिवार घर बाहिर निस्कन नदिने गरी कार्यक्रम बनेको हो । उक्त कार्ययोजना गाउँपालिका अध्यक्ष अमर थापा र प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई हस्तान्तरण समेत गरेका छन् ।





