
तनहुँ, १२ जेठ – कोरोना भाइरसबाट आक्रान्त आफ्ना नागरिकलाई बचाउन तनहुँको म्याग्दे गाउँपालिकाले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दै खोप किन्ने अनुमति मागेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
अध्यक्ष मायादेवी राना र उपाध्यक्ष घिमिरेद्वारा हस्ताक्षरित पत्र मन्त्रालयमा पठाइएको छ । स्थानीय नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन अत्याधिक माग गरेकाले यथाशीघ्र उपलब्ध गराइदिन गाउँपालिकाले मन्त्रालयसँग अनुरोधसमेत गरेको छ । ‘यदि मन्त्रालयबाट भ्याक्सिन उपलब्ध नहुने अवस्था भएमा यस गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत र आवश्यक परे नागरिकको जिवन रक्षाका लागी विकास बजेट कटौती गरेर भएपनि भ्याक्सिन खरिदमा लगानी गर्ने भएको हुदाँ नियम तथा मापदण्ड अनुसार कोभिड भ्याक्सिन खरिद गर्न अनुमति दिनुहुन सिफारिस साथ अनुरोध गरिन्छ’, मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।
सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्न आएकाले गाउँपालिकाले नागरिकको जीवन रक्षाका लागी विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताए । ‘स्रोतकै कमी हो भने त हामी स्थानिय तहले पनि आफ्ना नागरिकलाई व्यवस्था गर्न सक्छौं भनेर सरकारलाई सहयोग गर्न खोजेका छौं । हामी नागरिक प्रति उत्तरदायी भएका हौं,’ उनले भने, ‘अहिले सबैभन्दा प्रेसर खोपको छ । अरु त तपशिलका कुरा हुन् । बन्द गर्ने, आइसोलेसनमा राख्ने ।’
विकास निर्माण भन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उनको प्रष्टोक्ति छ । ‘जनता बचेनन् भने विकासको के अर्थ रहन्छ ?’, उनले प्रश्न गरे, ‘अहिले बाटो हिँड्नै पाएको छैनन् मान्छे, घरमा थुनिएर बस्या छ भने त्यो बाटोको नि काम भएन त । पहिलो त नागरिकको जीवनरक्षा नै ठूलो कुरा हो ।’ उनले विकास कोरोना समाधान भए अर्को वर्ष गर्न सकिने र कोरोना नियन्त्रण नहुदाँ थुप्रै विकास बजेट पनि अवरुद्ध भइरहेको जनाए ।
उपाध्यक्ष घिमिरेका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क भएको छैन । तर, अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सक्ने उनी बताउँछन् । यतिबेला स्थानीय सरकारले संघीय सरकार मातहतको स्वास्थ्य मन्त्रालयसँग कोरोनाविरुद्धको खोप किन्न अनुमति माग्ने ट्रेन्ड चलेको छ । यस अगाडि स्याङजाको वालिङ नगरपालिकाले समेत खोप किन्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिसकेको छ । गण्डकी बाहेक अन्य प्रदेशका स्थानीय तहले पनि विदेशबाट खोप किन्ने चाहाना देखाउदै मन्त्रालयसँग अनुमति मागिरहेका छन् । स्थानीय सरकारले खोप किन्ने अनुमती मागेतापनि संघीय सरकारले कुटनीतिक पहल थालेर समन्वयकारी भुमिका निभाउनुपर्ने बताउँछन् म्याग्देका उपाध्यक्ष घिमिरे ।
स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दोस्रो लहरको कोरोना सुरु भएपछि म्याग्देमा ६४ जनालाई कोरोना देखिएको छ । तीमध्ये ११ जना निको भएका छन् । ५१ ज्ना सक्रिय संक्रमित रहेका छन् । २ जना संक्रमितको मृत्यु भएको छ ।





