तनहुँ, २३ जेठ– श्रीमती बिरामी भइन् । कोरोना शंका लागेर २८ वैशाखमा उनले श्रीमतीसँगै आफ्नो पनि पिसीआर परीक्षण गर्नलाई स्वाबको नमूना दिए । वडाको जिम्मेवार निभाउँदा निभाउँदै निरन्तर खटिएका उनीसँगै श्रीमतीलाई ३ जेठमा कोरोना संक्रमणको पुष्टि भयो । कोरोनाको संक्रमण बढेसँगै उनको परिवारले पनि सावधानीका उपाय अपनाएका थियो । ‘खै कहाँबाट कसरी स¥यो कोरोना !’ वडाको कामले डुलिरहने उनले मेसो पाएका छैनन् ।
श्रीमतीलाई बिसञ्चो भएपनि आफूलाई कोरोना पुष्टि हुँदासम्म उनी अर्थात शुक्लागण्डकी नगरपालिका ४ वडाध्यक्ष शिवकुमार श्रेष्ठलाई कुनै लक्षण देखिएको थिएन । तन्दुरुस्त नै थिए । कोरोना पोजेटिभ पुष्टि होला भन्ने शंकासमेत गरेका थिएनन्, उनले ।
जब कोरोना पुष्टि भयो केही दिनपछि मात्रै उनलाई गलाउँदै लग्यो । उच्च ज्वरो आयो । ज्यान दुखेर शिथिल बन्यो । उनी बोल्नै नसक्ने भए । खाने कुरा केही हेर्नै मन नलाग्ने रे ! उनलाई । बिस्तारै शरीरमा अक्सिजनको लेवल घट्दै गयो । कोरोनाले यतिसम्म सतायो कि होम आइसोलेसनमा बसेका वडाध्यक्ष दम्पतिलाई अक्सिजन नै दिनुप¥यो । पोखरास्थित मणिपाल अस्पतालमा कार्यरत स्टाफ नर्स छोरीले स्याहारसुसार गरिन् । छोरीको मणिपालको कोरोना वार्डमा काम गर्दाको अनुभवले सघायो पनि । अलिक अफ्ठ्यारो हुँदा पोखरा लगेर परीक्षण गरिन्थ्यो ।
१४ जेठमा दोस्रो पटक स्वाब दिएका वडाध्यक्ष दम्पति १६ जेठमा कोरोनामुक्त भएको रिपोर्ट प्राप्त भयो । आधा महिनासम्म कोरोनासँग लडेका वडाध्यक्ष श्रेष्ठ औषधिसँगै आत्माबल, पोषिला खानेकुरा र स्याहारसुसारले कोरोनालाई परास्त गर्न सफल भएको बताउँछन् । ‘औषधी र स्याहारसुुसार त नभई हँुदैन् । संक्रमितको आत्माबल पनि चाहिन्छ’, उनी आफ्नो अनुभव सुनाउँछन् ।
कोरोना पुष्टि हुँदापनि आफू नडराएको उनले बताए । ‘मनोबल दरो बनाएर कोरोना केही हैन्, जसरी पनि मैले जित्छु भन्ने थियो । कोरोना पोजेटिभ हँुदैमा केही हुन्छ कि भन्ने पीर गरिन् । ढुक्कसँग जित्छु भनेरै बसेँ ’, उनले भने । संक्रमित भएर होम आइसोलेसनमा बस्दा आफन्त इष्टमित्र, साथीभाई र शुभचिन्तकको सकरात्मक फोनकल र म्यासेजलेसमेत आत्माबल बढाएको उनको अनुभव छ ।
संक्रमित भएर होम आइसोलेसनमा बस्दा आफ्नो स्वास्थ्यसँगै वडाबासी जनताको चिन्ताले सताएको वडाध्यक्ष श्रेष्ठले बताए । कोरोना नियन्त्रणसंगै चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजनाका काम अधुरो रहने चिन्ता बढी हुने गरेको उनले उल्लेख गरे । ४ जेठ मा उनी वडाध्यक्ष निर्वाचित भएर सपथ ग्रहण गरेको ४ वर्ष पूरा भयो ।





