
तनहुँ, २७ जेठ– तनहुँका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षकोे बजेट नीति तथा कार्यक्रमको तयारी थालेका छन् । संघीय सरकारको बजेट नीति तथा कार्यक्रम आईसकेको छ । गण्डकी प्रदेश सरकारको प्रदेशसभामा प्रस्तुत हुन बाँकी नै छ । प्रदेशमा सार्वजनिक भएपछि त्यसैलाई आधार मानेर स्थानीय तहले आफ्ना बजेट नीति तथा कार्यक्रमलाई पूर्णता दिनेछन ।
यतिबेला जिल्लाका सबै स्थानीय तहलाई बजेट नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न चटारो छ । सम्भवतः समयमै स्थानीय तहको निर्वाचन भएको खण्डमा अर्को बजेट ल्याउनु अगावै अहिलेका जनप्रतिनिधिले बिदाइको हात हल्लाउनेछन् । तसर्थ आगामी बजेट चुनावमुखी बनाएर जनताको मन र मत दुवै जित्ने दाउमा यहाँका जनप्रतिनिधि छन् ।
असार १५ गते भित्र स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार तयारी थालेको ऋषिङ गाउँपालिकाले मंगलबार भर्चुअल तरिकाले सुझाव संकलन ग¥यो । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधी र स्थानीय गाउँपालिकावासीलाई जुम मिटिङमा डाकेर सुझाव संकलन गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
‘भौतिक पुर्वाधारतर्फ ऋषिङको काम अग्रपंक्तिमा भएको पाइयो । शिक्षा, स्वास्थ्य र कृषितर्फको योजनालाई समेट्न सुझाव आएको छ,’ उनले भने, ‘यसैलाई मनन गरेर आगामी वर्षको योजना बनाउँछौं । जनताको आवाजलाई हामीले सुन्नुपर्छ । यी सुझाव समय सापेक्ष पनि छ ।’
अगामी वर्षको बजेट चुनाव केन्द्रित टुक्रे योजना त बाँडिदैन् ? प्रश्नमा उनको जवाफ छ, ‘अघिल्ला वर्षमा कार्यन्वयन भा’का अधुरो रहेका योजनाहरु पहिलो प्राथमिकतामा राख्छौं । दोस्रो शिक्षा, स्वास्थ्य र कृषिसँग सम्बन्धित रहेर जे सुझाव आको छ त्यही अनुसार गर्छौं ।’
ऋषिङले यसअघि विषयगत शाखाका प्रमुखसँग सुझाव लिइसकेको छ । तेस्रो चरणमा शुक्रबार उच्च पदस्थ ऋषिंगेहरुसँग भर्चुअल सुझाव संकलन गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । स्थानीय विद्यालयका प्रधानध्यापकसंग पनि सुझाव लिने योजना रहेको उनले सुनाए ।
शुक्लागण्डकी र व्यास नगरपालिकाले बजेटमा समेट्नुपर्ने बिषयमा इमेलमार्फत सुझाव पेश गर्न अनुरोध गरेका छन् । बन्दीपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजना अनुसार बिहीबारसम्ममा सुझाव दिने समय तोकेको छ ।
म्याग्दे गाउँपालिकाले भने आगामी वर्ष ल्याउने बजेटको आकारसमेत तय गरिसकेको छ । ६५ करोड ६६ लाख ३१ हजार रुपैयाँको बजेट गाउँपालिकाले ल्याउने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाबासीलाई इमेलमार्फत जेठ मसान्तसम्म बजेटमा सुझाव दिन भनिएको छ । ‘इमेलमार्फत सुझाव मागेका छौं । यस्तो अभ्यास पहिलो पटक भएर हालसम्म सुझावका इमेल प्राप्त भएको छैन,’ उनले भने ।
अघिल्ला वर्षहरुमा जनतालाई भेला गराएर स्थानीय तहले सुझाव संकलन र योजना माग्न लगाउँथे । यसपाली कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएकाले भर्चुअल सुझाव संकलनको अभ्यासमा छन् । वडा कार्यालयले टोल–टोलसँग योजना मागिरहेका छन् ।





