पोखरा, २७ जेठ – गण्डकी प्रदेशसभाको आधा घन्टाका लागि स्थगित भएको बैठक १ घन्टा ढिला गरी सुरु भएको छ । आजको दोस्रो बैठकमा मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिदैछन् । त्यसपछि मत विभाजनमा जाने कार्यसूची तय भएको छ ।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग २७ मत छन् । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले साथ छोड्ने बताएका छन् । बहुमतका लागि ३१ मत चाहिन्छ । कतैबाट फ्लोर क्रस नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।
प्रदेश सभामा रहेका ५ दल मध्ये ४ दल मुख्यमन्त्रीकाे विपक्षमा उभिएका छन् । गण्डकी प्रदेश सभामा विश्वासकाे मत प्रस्ताव उपर छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमाेर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएका छन् ।
वैशाख २६ मा राजीनामा दिएमा मुख्यमन्त्री गुरुङ २९ गते ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले संसदको फेस गरेका हुन् ।





