नवलपुर, ३ असार – अविरल वर्षाको आएको बाढीले जिल्लाको पहाडी भेगमा बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले ३ करोड ५० लाख विनियोजन गरेको थियो ।
पुलको स्लाब (माथिल्लो भाग) ढलानको काम हुँदै गर्दा पुल बगाएको हो । अर्को महिनावाट काम समपन्न गरी गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बगाएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । बाढीले दुबै पिल्लर हल्लाएर भासिएपछि पुलको माथिल्लो भाग (स्लाब) खोलामा खसेको हो ।





