पोखरा, ३ असार– यस वर्षको मनसुन सुरु भएसँगै प्रदेशका विभिन्न जिल्लाले ठूलो प्राकृतिक विपद् व्यहोर्न थालेका छन् । ३ दिनदेखि लगातार परिरहेको भारी बर्षाका कारण कतै बस्ती नै डुबेका छन् भने कतै निर्माणाधीन हाइड्रो पावरमा लाखौंको क्षति पु¥याएको छ ।
निरन्तर झरीका कारण प्रदेशमा सबैभन्दा बढी क्षति मनाङले व्यहोरिरहेको छ । मनाङका चामे, ताल गाउँ लगायत बस्ती मस्र्यांदीमा आएको बाढीका कारण पूर्ण डुबानमा परेका छन् । मनसुनको पहिलो दिनबाटै मनाङको चामे गाउँमा ६ घर बगेका थिए भने सयौं विस्थापित हुनु परेको थियो ।
त्यसैमा बुधबार बिहान मस्र्यांदी खोलामा पहिरो खसेर नदी थुनिँदा तल्लो तटीय भेग उच्च जोखिममा परेका छन् । दिउँसोबाट थुनिएको नदी खुल्न सुरु भए पनि भारी वर्षाका कारण क्षति जोखिम नटरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘लगातार पानी परेर खोलाहरुमा बाढी आएकाले तल्लो तटीय क्षेत्र बढी जोखिममा छन् । मनाङ पूरै अस्तव्यस्त छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले मनाङका विभिन्न गाउँपालिका गरेर सयभन्दा बढी घर डुबानमा र क्षतिग्रस्त हुन पुगेको जानकारी दिए । ‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन् पूरा तथ्यांक आउनै बाँकी छ । तर, अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षति पु¥याएको छ,’ उनले भने ।
सिडिओ लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए । लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ ।
अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको सिडिओ लामिछाने बताउँछन् । निरन्तर भारी बर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए ।
‘काठमाडौंबाट हेलिकप्टर पठाउँछौं भन्नु भएको थियो । त्यो आयो भने केही सहज हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘तर, पानी रोकिने सुरसार छैन । ठूलो पानी परेकै कारण हेली आउन सकेको छैन । हामी त्यसैको प्रतीक्षामा छौं ।’
मनाङ चामेबजारका करिब ३ सय जना भन्दा बढी बस्तीमा बाढी छिरेपछि जिल्ला कारागारको भवनमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले जानकारी दिए । लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामै रहेको ३२ किलोवाटको लघुजलविद्युत पनि बाढीले बगाएको थियो ।
लमजुङ दोर्दीखोलाले १५ घर बगायो
३ दिनदेखि लगातार परिरहेको पानीले लमजुङको दोर्दी गाउँपालिका ८, हिलेबजारको १५ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । बाढीले बजारको ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध हुन थालेको वडाध्यक्ष घलेले जानकारी दिए ।
‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले ढले नकुरा गरम्,’ वडाध्यक्ष घलेले, ‘हाम्रो वडा लथालिंग भयो । पानी परेको प¥यै छ । रमिता हेर्नुबाहेक उपाय छैन ।’ बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए ।
बाढीले दोर्दी खोलामाथि बनेको झोलुंगे पुलमा पनि क्षति पु¥याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए । हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पु¥याएको उनले बताए । ‘बजार खोलाभन्दा धेरै माथि थियो, कसरी बढ्यो थाहै भएन,’ उनले भने, ‘बाढीले क्षति कति पुग्यो, पुग्यो थाहै छैन ।’
बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो हामी ।’
राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए । ‘सबै बाटो पहिरोले खायो । हामी त सम्पर्कविहीन हुने अवस्था आइसक्यो,’ उनले भने, ‘सदरमुकामबाट बाटो आउन सक्ने स्थिति छैन । गाडीहरु पनि आउन सक्दैनन् ।’
बागलुङ ः पुल भत्किँदा सडकविच्छेद
बागलुङको काठेखोलामा आएको बाढीले सदरमुकाम बागलुङ बजारदेखि बलेवा क्षेत्र जोड्ने पक्कीपुल बगाएको छ । यो पुल तरेर बलेवासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासम्म पुगिन्छ । कालीगण्डकी करिडोर प्रवेशका लागि पनि यो एकमात्रै पुल हो ।
यो पुल भत्केपछि बुधबार बिहानैबाट दक्षिण बागलुङ जाने यातायात ठप्प भएको छ । पुल भत्केको थाहा पाएपछि जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का सहितका जनप्रतिनिधि पुगेका थिए । तत्काल मर्मत गरेर पुल संरक्षण गर्न सकिने विषयमा खोजी भएपनि त्यो संभव नदेखेपछि फर्केका हुन् । ‘तत्काल मर्मत गरेर पुल चलाउने अवस्था छैन । पानी घटेपछि मात्रै केही गर्न सकिएला,’ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्काले भने ।
मालढुंगा तर्फको चट्टान खसेर खोला थुनिएपछि खोलाले धार परिवर्तन गर्दा पुल भत्केको हो । यो पुल बगेपछि दक्षिण बागलुङबाट दैनिक दूध ढुवानी ठप्प भएको छ । अत्यावस्यक सामग्री खरिदका लागि यात्रा गर्नेले पनि आउन नपाएका हुन् ।
बाढीले करिडोरको दर्जनौं स्थानमा पहिरो खसेको छ । गत बर्ष ट्रयाक खोलेको एक सडकबाट खसेको पहिरोले पाग्जा तर्फको सडकदेखि करिडोर र तल्लो गलुवामा समेत पुरेको छ । यहाँका दर्जन घरमा पहिरोले घरै भत्कने खतरा भएको छ । ‘मेरो जीवनमा काठेखोला र कालीगण्डकी नदी यति ठूलो भएको कहिले पनि देखेको थिइन’ बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘हाम्रो अनुभवले पनि पानीको बहाव इतिहासकै ठूलो भएकोले बाढीपहिरो बढेको हो ।’
बानपा १३ को कालाखोलामा नगरपालिकाले निर्माण थालेको औद्योगिक ग्रामस्थल कालीगण्डकी नदीले कटान गरेको छ । हाल संचालित क्रसर उद्योगको अधिकांस सामग्रीसहित जमिन कटान गरेको हो । पोखरा जाने सडकको सहश्रधारामा खसेको पहिरोले नदीको बहाव फेरिंदा उक्त क्षेत्रमा कटान गरेको हो ।
सडकका ट्रयाकबाट खसेका पहिरोले दर्जनौ घरहरु जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले बताए । उनका अनुसार जिल्लाभका ३० घर बिस्थापित भएका छन् । ती घरका १ सय ५५ जना मानिस छिमेकीको आश्रयमा बस्न बाध्य छन् । ‘अहिलेसम्म मानवीय क्षति त भएको छैन, तर हरेक ठाउँमा जोखिम बढेको छ’ उनले भने, ‘सुरक्षित स्थानमा बस्न र जोखिम भएमा सुरक्षा निकायमा खबर गर्न भनेका छौं ।’
बाढीले ढोरपाटन जाने सडक ठप्प भएको छ । भुजीखोला बढेर सडकको अधिकांस खण्ड बगाएको हो । बुर्तिवाङ बजारमा पानीको सतह बढेपछि बाढी पस्ने जोखिम बढेको छ । बडिगाड खोलाछेउका बजारमा पनि उच्च सर्तकता अपनाउन भनिएको जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले बताए ।
बाढीले ताराखोलामा बिद्युत, खानेपानी र टेलिफोनसमेत अबरुद्ध भएको वडा नं. २ का अध्यक्ष भद्रबहादुर घर्तीले बताए । बाढीले घुस्मेलीको जलविद्युतमा क्षति पुगेको छ । ‘सडक छेउमा पहिरो खस्दा खानेपानीको पाइपलाइन बगेका छन्, चारवटा घर जोखिममा परेका छन्’ उनले भने, ‘तीनवटा घरका मानिस सुरक्षित स्थानमा सारिएको छ ।’
बरेङ गाउँपालिकामा यातायातसँगै विद्युत सेवा पनि अबरुद्ध भएको बरेङ १ का वडाध्यक्ष नरसिंङ पुनले बताए । वडा नं. १ धुल्लुका १६ घर पहिरोको जोखिममा परेको समेत उनले जानकारी गराए । बरेङबाट गलकोटतर्फको एक, गुल्मीतर्फको एक र जैमिनीतर्फका २ वटा सडक पहिरोले अवरुद्ध भएको उनले जानकारी दिए ।
कालीगण्डकीको बहाव २८ वर्ष यताकै उच्च हुँदा पर्वत सेतीवेणीमा ९ घर बगाएको छ । पर्वत जिल्लाभर करिब ५० भन्दा बढी परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले बाढी पहिरोले भौतिक क्षति पु¥याए पनि मानवीय क्षतिको खबर भने नआएको जानकारी दिएको छ ।
नवलपुर : नारायणीमा ४७ वर्ष यताकै उच्च बहाव
नारायणी नदीले ४७ वर्षको रेकर्ड तोड्दै अहिलेसम्मकै उच्च बहावमा आएको छ । यसअघि नारायणीमा २०३१ साल साउन २१ गते १० दशमलव १ मिटर जलसतह पुगेको नारायणी नदीमा यस वर्षको मनसुन सुरु भएको एक सातापनि नबित्दै १० दशमलव ४१ मिटर जलसतह पुगेको हो । गतवर्ष साउन ६ गते ९ दशमलव ९१ मिटर पुगेको थियो ।
नवलपुर, चितवन र तनहुँको संगम देवघाटमा मापन भएको जलसतह खतराको चिन्ह ८ मिटर नाघेपछि भारतीय पक्षसँगको समन्वयमा नवलपुरका प्रमुख जिल्ला अधिकारी सहितको टोलीको आग्रहमा त्रिवेणीको गण्डक ब्यारेजका सवै ३६ वटै ढोका खुलाइएको छ । साँझसम्म पनि ती ढोकाहरु खुल्ला नै रहेको सिडीओ मनमाया पंगेनीले जानकारी दिइन् ।
नारायणी नदीको प्रत्यक्ष प्रभाव पर्ने किनारका बस्तीमध्ये गैंडाकोटको २ वटा बोटे बस्तीलाई पूर्व सतर्कता अपनाएर सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरिएको छ । यहाँका करिब ३५ परिवारलाई बिद्यालय तथा कलेजमा सुरक्षित रुपमा राखिएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताए ।
विनयी त्रिवेणीको बगुवनमा भिœयाउन ठिक्क तयार भएको १ सय ५० बिगाहा क्षेत्रफलको चैतेधान पानीमा डुबेर नष्ट भएको छ । कावासोती १७ अमलटारीमा ५ घर, केही रिसोर्ट र नारायणी प्रावि डुवानमा परेको छ । मध्यविन्दु २ भुताहाटोलका २० घर डुवानमा परेका छन् । भुताहाटोलकै नेपाली सेनाको खडक दल गण परिसरमा पनि पानी पसेको छ । स्थानीयलाई आफन्तकोमा र गणको कार्यालय अस्थायी रुपमा सोही टोलकै शारदा प्राविमा स्थानान्तरण गरिएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा विकास निर्माणका योजनाहरु प्रभावित बनेका छन् । यहाँ पुल–पुलेसादेखि सडकहरुमा प्रभाव परेको छ । नवलपुरको पहाडी गाउँपालिकाका स्थानीयहरु नवलपुर सदरमुकाम सहित पाल्पाको रामपुर, तनहुँ–कास्कीको भिमाद–पोखरासँग सम्बन्ध विच्छेद भएका छन् । कालिगण्डकी कोरिडोर अन्तरगत पाल्पाको रामपुर–डेढगाउँ र डेढगाउँ–बुलिङटार– गैडाकोट खण्डमा पहिरो खसेकाले आवागमन ठप्प भएको छ ।
निरन्तर बर्षाको कारण प्रदेशभर हजार बढी परिवार प्रभावित बनेका छन् । मनाङ, कास्की लमजुङ लगायत ठाउँमा निर्माणाधीन हाइड्रो पावरमा समेत बाढीले अर्बौंको क्षति पु¥याएको छ । कास्कीको सुपर माडीमा निर्माणाधीन हाइड्रोमा बुधबारसमेत बाढीले क्षति पु¥याउन रोकेको छैन । कास्कीको खहरे खोलामा आएको बाढीले एक जना महिलाको ज्यान लिएको छ भने गोरखा एक पुरुष बेपत्ता भएका छन् ।





