मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोभिड खोप : रेडक्रसका पदाधिकारीबाटै दुरुपयोग

कोभिड खोप : रेडक्रसका पदाधिकारीबाटै दुरुपयोग

वडामा गएको खोप वडामै सक्नुपर्छ भन्ने भावनाले स्वास्थ्यकर्मीलाई नै असर पुग्ने गरी लगाउन बाध्य बनाइयो ।


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार
फाईल तस्विर

पोखरा, ४ असार– कोरोना भाइरसबाट सबैभन्दा बढी जेष्ठ नागरिक प्रभावित छन् । यसो त, कोरोनाका कारण मृत्युहुनेमा अधिकांश नागरिक नै छन् ।
नेपाल सरकाले विभिन्न चरणमा गरी जेष्ठ नागरिकका लागि कोभिड खोप वितरण गरेको छ । सरकारले हालै मात्रै ६२ देखि ६४ वर्ष उमेर समूहको जेष्ठ नागरिकलाई खोप लगायो । जेठ २७ गते पोखराका विभिन्न ४७ स्थानबाट खोप लगाइयो । पोखरा महानगरले महानगरभित्रका ६ हजार २९२ जना जेष्ठ नागरिकलाई खोप लगाएको जनाउको छ । तर, खोप पाउने भाग्यमानीहरु सबै जेष्ठ नागरिक भने होइनन् ।
खोप लगाउने क्रममा सामाजिक संस्था रेडक्रसदेखि वडा पदाधिकारीसम्मले आफ्नो मान्छे हाले । यतिमात्र होइन, रेडक्रसका पदाधिकारीले त केही स्थानमा बखेडा नै गरेको पोखरा महानगर स्वास्थ्य महाशाखाका एक स्वास्थ्य अधिकारीले जानकारी दिए । उनले खोप लगाउँदा स्वास्थ्यकर्मी नै असुरक्षित समेत भएको जिकिर गरे । ‘खोप लगाउन गएका स्वास्थ्यकर्मीमाथि नै जाइलाग्न खोजे । रेडक्रसका केही पदाधिकारीले त बखेडा नै खडा गरे’, उनले भने,‘हामीले यो कुरा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा समेत जानकारी गराएका थियौ उहाँहरुले के गर्नु भयो थाहा भएन ।’
यस्तै केही वडाले त वडामा आएको खोप भन्दै लक्षित वर्गभन्दा बाहिरका विभिन्न व्यक्तिलाई खोप लगाएको उनले जानकारी दिए । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले दिएको तथ्यांक अनुसार महानगरमा ३ हजार १४९ महिला तथा ३ हजार १४३ पुरुष गरी जम्मा ६ हजार २९२ जेष्ठ नागरिकले खोप लगाएका छन् । तर, उक्त तथ्यांकमा जेष्ठ नागरिकभन्दा बाहिरका व्यक्तिको समेत नाम रहेको स्रोतले बतायो । ‘सबै नागरिकले खोप लगाउन पाउनुपर्छ तर, सरकारले लक्षित समूह तोकेर खोप पठाएको हो । हामीले सुरक्षित साथ खोप लगाउन सकेनौं,’ ती स्वास्थ्यकर्मीले गुनासो पोखे । उनका अनुसार नेता तथा वडा पदाधिकारी एवं रेडक्रस पदाधिकारीका कारण वडा नं. २, ५, ६ र १७ मा निकै समस्या आयो ।
‘लक्षित समूहलाई लगाइसकेपछि बाँकी रहेको खोप फिर्ता ल्याउन सकिएन । कतै खोप अपुग हुन पुगेको थियो तर बाँकी रहेको खोप हामीले ल्याउन सकेनौं,’ उनले भने । उनका अनुसार वडामा गएको खोप वडामै सक्नुपर्छ भन्ने भावनाले स्वास्थ्यकर्मीलाई नै असर पुग्ने गरी लगाउन बाध्य बनाइयो । ‘हामी सुरक्षित नभएको कुरा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गरायौँ, उहाँहरुले सुरक्षा व्यवस्था मिलाएपछि मात्र लगाउन थाल्यौँ’,उनले भने । नागरिकहरुले कोभिडको लागि खोप अत्यावश्यक रहेको कुरा बुझ्नु खुसीको कुरा रहेपनि जिम्मेवार व्यक्तिबाट नै नियम मिच्नु दुःखद् भएको उनको भनाइ थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले वडाहरुमा लक्षित समूहभन्दा बाहिर खोप गएको स्वीकारे । उनले जिल्लामा ८ हजार खोप वितरण भएपनि केहि व्यक्तिका कारण लक्षित समूह बाहेककाले समेत खोप लगाएको बताए । उनले रेडक्रसका व्यक्तिले धाँधली गरेको गुनासो मौखिम मात्रै भएको सुनाए । ‘रेडक्रस जस्तो सामाजिक संस्थाले पनि धाधँली गर्छ भन्ने होइन । केही व्यक्तिले गरेको हुनसक्छ यसको मौखिक जानकारी मात्र आएको हो त्यस्तो केही छैन,’ उनले भने ।
लक्षित भन्दा बाहिर कसैलाई लगाएका छैनौ : वडाध्यक्ष
वडा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले लक्षित समूहभन्दा बाहिरका एकजनालाई पनि खोप नलगाएको दावी गरे । जिल्ला जनस्वास्थ्य तथा महानगर स्वास्थ्य महाशाखाले लक्षित समूहभन्दा बाहिर खोप गएको बताइरहँदा उनले भने त्यस्तो नभएको जिकिर गरिरहे । ‘हामीले लक्षित समूहभन्दा बाहिर एकजनालाई पनि खोप लगाएका छैनौँ’,उनले भने, हामीकहाँ रेडक्रसका जिल्ला अध्यक्षसहित धेरै पदाधिकारी थिए । सबैको रोहवरमै खोप लगाएका हौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->