पोखरा, ५ असार– मनाङमा थुनिएको मर्स्याङ्दी नदी खुलेको छ । थुनिएको नदी खुले पनि तल्लो तटीय भूभागको जोखिम नटरेको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए ।
‘लगातार परेको पानीले अहिले मर्स्याङ्दीमा माटो, काठदाउरा, बालुवा, घाँसहरु धेरै बोकेर ल्याइरहेको छ । त्यसैले थुनिएको हो’ सिडिओ लामिछानेले भने, ‘त्यसमाथि ठाउँठाउँमा पहिरो पनि गइरहेको छ ।’ थुनिएको नदी नेपाली सेनाको सक्रियतामा खुलाइएको हो ।
शनिबार पनि मनाङमा बिहानैदेखि भारी बर्षात भइरहेको छ । भारी वर्षाका कारण चामेबाट माथिल्लो मनाङ जोड्ने पुल पनि जोखिममा परेको सिडिओ लामिछानेले जानकारी दिए ।
‘यो पुल मनाङकै सबैभन्दा ठूलो पुल हो । यो यहाँलो लाइफलाइन पुल नै हो’ उनले भने, ‘बाढीले यही पुलनै सबैभन्दा जोखिममा छ । यो पुलमा क्षति पुग्यो भने मनाङमा झन् धेरै नोक्सान हुने देखिन्छ ।
मनाङमा मनसुनको सुरुआतबाटै आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । बाढी पहिरोका कारण ताल गाउँ, चामे गाउँ लगायत डुबानमा परेका थिए । बाढी, पहिरोका कारण मनाङमा एक हजार बढी परिवार विस्थापित भएका छम् । विस्थापित परिवारलाई जिल्ला कारागारको भवनमा राखिएको छ भने बाँकीलाई विभिन्न स्थानीय तहको कार्यालयमा राखिएको लामिछानेले जानकारी दिए ।
लगातारको बर्षातका कारण ताल गाउँ र मनाङमा क्षति पुगेको ४ दिनपछिमात्रै उद्धार सहज भएको थियो । क्षतिग्रस्त ठाउँमा गण्डकी प्रदेश मुख्यमन्त्रीको टोली र विघटित संघीय सांसद पाल्देन गुरुङको टोली उद्धार र राहतका लागि पुगेको थियो ।
सिडिओ लामिछानेले अहिलेसम्म १ सय ७९ जनाको हेली उद्धार गरिएको जानकारी दिए । बाढी, पहिरोले ठाउँठाउँमा क्षति पुर्याएकाले मनाङ सडक, विद्युत, सञ्चारसम्पर्कविहीन बन्न पुगेको छ । मनाङ जोड्ने विभिन्न सडक र पुलहरु बगाएकाले राहत तथा उद्धारमा पनि समस्या भइरहेको उनले बताए ।




