पोखरा, ७ असार – एउटै कोठामा ४५ जना । बाढी र पहिरो आउँदै गर्दा घरबाट जे जति खानेकुरा ल्याउन भ्याए, त्यही बाँडिचुडी खान्छन्, उनीहरु । यी ४५ जनाको एउटै मेस छ, जहाँ सबैका लागि एकैचोटी खाना पाक्छ । घरबाट ल्याएको खानेकुरा सकिँदैछ । फेरि घर गएर ल्याउने अवस्था छैन, गइहाल्यो भने पनि फर्कर आउने हो कि होइन, अनिश्चित छ ।
मनाङका बाढीपीडितलाई बस्ने र खानेकुराका भन्दा धेरै समस्या पानीको छ । चामेस्थित नवनिर्मित कारागार भवनमा बसेकी नविना लामा भन्छिन्, ‘आकाशको पानी भरेर खानुपरेको छ, खानेकुरा सकिनै लाग्यो, अब के खाने केही थाहा छैन ।’
पोखरामा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पढ्दै गरेकी नविना वैशाख तेस्रो साता मात्रै घर गएकी थिइन् । पोखरामा कोरोना नियन्त्रण गर्न लकडाउन गर्ने भएपछि उनी लकडाउन छल्न चामे पुगेकी थिइन् । जेठ दोस्रो सातादेखि उनी चामेमै थुनिइन् । लगातार चारदिन परेको पानीले जेठ दोस्रो साता तिमाङ छहराको पुल बगायो, जसले नविनाको पोखरा फर्कने बाटो बन्द गरिदियो ।
अहिले त उनी चामेभित्रै बन्दी छिन्, कारागार भवनमा । ठेकेदारले भर्खरै निर्माण सकाएको यो भवन हस्तान्तरण गर्न बाँकी भएकाले संचालनमा आउन सकेको थिएन । अहिले चामेका बाढी पीडितलाई राख्न प्रयोग गरिएको छ । यो भवनमा मात्रै झण्डै ३ सय जना बसेका छन्, भवनको एउटा कोठामा ४५ जनाासँगै कोच्चिएर नविनाले पनि दिन काटेकी छिन् ।
चामेको घट्टे खोला र च्याट्टेखोलाबाट बाढी आएपछि १० घर पूर्ण रुपमा क्षति पुगेको छ । कयौं मानिस विस्थापित भइसकेका छन् । अरुबेला सानो कुलो जस्तो भएर बस्ने यी दुइ खोलाले अहिले चामे बजारलाई तहसनहर पारिदिएको छ । ‘कारागार भवनबाट घर जान खोला तर्र्नै सकिन्न’, नविनाले भनिन्, ‘जसोतसो गयो भने पनि फर्कन सकिँदैन ।’
बाढीले मनाङमा मात्रै एक हजारभन्दा बढी मानिस विस्थापित छन् । चामेमा कारागार भवनमा अटाउन नसकेका विस्थापित त्यहीं वरीपरी टेन्ट टाँगेर बसेका छन् । सेनाको हेलिकप्टरबाट उद्धार गरिएका चामे बाहिरका मानिसलाई पनि चामेमै राखिएको छ । कोही आफन्तको घरतिर लागेका छन् भने कोही जंगल छेउछाउ टेन्टमै बसेका छन् ।
यसरी बस्नेहरुमा वृद्ध–वृद्धा, बालबालिका, गर्भवतीलगायत पनि छन् । मनाङको चिसोमा उनीहरुलाई थप स्वास्थ्य समस्या आउन सक्ने नविना बताउँछिन् । ‘नियमित औषधि खानुपर्ने बाबाआमाको औषधि पनि सकिन लाग्यो’, कारागार भवनबाट नविनाले भनिन्, ‘राहत ल्याउँदा औषधि पनि ल्याइदिए हुन्थ्यो ।’
सरकारले बाढीपीडितको राहत र उद्धारमा पर्याप्त काम नगरेको उनले बताइन् । सेनाको हेलिकप्टरबाट बाढी पीडितको उद्धार भएपनि के खाने समस्या भएको उनले बताइन् । राहतका सामग्री निकै थोरै लगेकाले समस्या परेको उनको भनाई छ ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि मनाङको बाढीपीडितको अवस्था निरीक्षण गर्न असार ४ मा मनाङ गएका थिए । तर, पीडितलाई खान नपुग्ने भन्दै नविनाले असन्तुष्टि जनाइन् । ‘मुख्यमन्त्रीले ल्याएको भनेर १८ प्याकेट चाउचाउ आयो, हाम्रो कोठामा मात्रै ४५ जना छौं, कति जनाले खाने ?,’ उनले भनिन्, ‘सरकारले हामीलाई खाद्यान्न र पानी पर्याप्त ल्याइदियोस् ।’
कारागार भवनमै बसेका चामेका बाढीपीडित पालसाङ गुरुङले जीवनमै सबैभन्दा अप्ठ्यारो परिस्थिति आएको बताए । ‘यस्तो होला भनेर हामीले सोचेको पनि थिएन’, पालसाङले भने, ‘चामेबजार पुरै तहसनहस भएको छ, अब पुरानै अवस्थामा चामे बजार फर्केला जस्तो लाग्दैन ।’
यता, गाउँ नै पुरै डुबेको मनाङ प्रवेशद्धार तालका बाढीपीडितको अवस्था पनि उस्तै छ । गाउँमा रहेका ६५ घर पुरै डुबेका छन् भने स्थानीयबासी रातारात मस्र्याङ्दी वारी तालडाँडा र घेराङ गाउँको शरणमा पुगेका छन् । उनीहरुलाई पनि खानेकुराको अभाव छ । तालका ३ सय जना विस्थापित भएको भन्दै स्थानीय मिनरासी गुरुङले सरकारबाट कुनै राहत नपाएको गुनासो गरे ।
‘हाम्रो घरका सबै सामान बाढीले बगायो, अहिले पनि घरहरु सबै मस्र्याङ्दीको बाढीले डुबाएको छ’, मिनरासीले भने, ‘बस्न खानै नपाएर मर्नुपर्ने हो कि जस्तो लागेछ ।’ असार १ गते नै राति घरघरमा पानी आएपछि उनीहरु भागेर तालडाँडा पुगेका थिए । तालडाँडामा एउटा मात्रै रेष्टुरेण्ट छ, त्यहीं बसेर उनीहरुले पहिलो रात काटे ।
बाढीले पुरै डुबान गरेपछि जंगल, डाँडा र ओडारमा बास बसेर ज्यान जोगाएको तालका स्थानीय ललिता गुरुङले बताइन् । उनले भनिन्, ‘गाउँतिर फर्केर हेर्दा मन भकानिन्छ । सोच्दै नसोंचेको कुरा भयो । एक्कासी बाढीले घर डुबायो । जेनतेन ज्यान बचाउन सकियो । कहिले मस्र्याङ्दीमा पानी घट्ला र घर गएर केही सामान खोजेर ल्याउँजस्तो हुन्छ । नदीमा हे¥यो, पानी घट्दै घट्दैन ।’
तालका बाढीपीडितलाई पनि खान र बस्नको समस्या छ । घरबाट धेरैजसोले खानेकुरा र कपडासमेत ल्याउन पाएनन् । भएका खानेकुरा पनि सकिनै लागेको ललिताले बताइन् । निरन्तर पानी परेकाले जाडो बढेपनि ओढ्ने, ओच्छ्याउने कपडा पनि छैन । अहिलेसम्म सरकारबाट राहतका लागि केही आउन नसकेको ललिताले बताइन् ।
बाढी आउँदा सदरमुकाम चामेका केही स्थानीय सामान्य घाइते भएका थिए । ताल गाउँका पनि केही मानिस घाइते भएको ललिताले बताइन् । अपाङ्ग र वृद्ध घाइते भएकाले उनीहरुको उद्धार गरेर अन्यत्र लैजान उनले आग्रह गरिन् ।
तालडाँडामा बसेका मिनराासीले पनि उक्त ठाउँबाट अन्यत्र लगेर राखिदिन सरकारसामु आग्रह गरे । ‘हामीलाई यहाँबाट टेन्ट लगाएर बस्ने सकिने ठाउँमा लगिदिए हुन्थ्यो’, उनले भने, ‘५ दिन भइसक्यो, न निदाउन पाएका छौं, न खाना नै, दिनरात नै जागा बसेर ड्युटी गर्नुपरेको छ ।’
बाढी र पहिरोका कारण मनाङको चामे, धारापानी, ताल, हुम्डे, पिसाङ लगायतका स्थानका बासिन्दा सबैभन्दा धेरै जोखिममा छन् । मोटरबाटोका पुलहरु बाढीले बगाइसकेको छ भने बाटोमा पनि पहिरो गएको छ । चामेबाट तल बेसीशहरतर्फ झर्ने त्यही एउटा मात्रै बाटो हो, यसबाहेक उनीहरुसँग अर्को बैकल्पिक बाटो छैन ।
पैदल हिँड्न प्रयोग गरिने बाटोहरु समेत पहिरोले भत्किएका छन् भने झोलुङ्गे पुल पनि बाढीले बगाइदिएको छ । मनाङमा ८ वटा झोलुङ्गे पुल, ३ वटा काठेपुल र एउटा मोटरेवल पुल बगिसकेको छ भने तिमाङ र चामेको लघुजलविद्युत आयोजना बाढीले बगाएको छ । राष्ट्रिय प्रशारण लाइन लगेको बिजुलीका पोलहरु समेत ढलेका छन् ।
विजुली नहुँदा चामेबाहेक अन्य गाउँहरुमा टेलिफोनको टाउर समेत संचालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । जसका कारण गाउँहरुसँगको सम्पर्क टुटेको छ, स्थलमार्गबाट जान बाटो बन्द रहेको सिडिओ लामिछाने बताउँछन् ।
बाढीपीडितलाई खाद्यान्न वितरण भइरहेको भन्दै सिडिओ लामिछानेले अहिल्यै समस्या नभएको दाबी गरे । खानेपानीको समस्या भने गहिरो भएको उनले बताए । ‘हामीले खाद्यान्न बाँडिराखेका छौं, समस्या आउन दिन्नौं’, उनले भने, ‘खानेपानीको त सिस्टम नै भत्कियो, अरु विकल्पै भएन ।’




