शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जसको पहिरोमा ३ सय २६ वटा भेडा पुरिए…

जसको पहिरोमा ३ सय २६ वटा भेडा पुरिए…

‘जीवनै भेडाको पछि बित्यो, फेरि भेडा पाल्छु’


  • विकास रोकामगर
  • असार ८ २०७८, मंगलबार

पोखरा, ८ असार– सयौं भेडाबाख्राको हुल । भेडाहरुलाई पछ्याउँदै हिँडिरहेका ४ वटा ठूला भोटेकुकुर । भेडाहरुको चाल र घाँटीमा झुन्डाइएको घन्टीबाट आवाज आउँदा गाउँ नै संगीतमय हुन्थ्यो । भेडाका बथानै लिएर गाउँ पस्दा सबैले सबै भन्थे, ‘अहो ! लिलेका भेडा त खत्रै सप्रिए । भेडालाई माया गर्न त जानेकै हो ।’
कास्कीको मादी गाउँपालिका १ सिक्लेसका लीलप्रसाद गुरुङको जीवनै भेडाको पछि बित्यो । दाजुभाइहरु पढ्न स्कुल जाँदा पनि उनी भेडाकै पछि जान्थे । जीवनमा भेडाबाहेक अर्को ‘इलम’ सोचेनन् । जतिसक्दो भेडाको संख्या बढाउने र डाँडापाखा डुल्नेमात्रै सपना थियो ।
गएको दशैंमा पनि गुरुङ सबै भेडाबाख्रा जम्मा गरेर गाउँ आएका थिए । वरिपरिका सबैले ‘दशैं मनाउन’ उनीसँग भेडा माग गरेका थिए । तर, त्यतिबेला उनले प्रस्ताव नकार्दै भनेका थिए, ‘हुँदैन । मैले भेडा अझै थप्ने हो । बढाउने हो । बेच्दिनँ । अरुसँगै किन्नुस् ।’
गुरुङले भेडा नबेचेपछि ग्राहकले अर्कै व्यापारीसँग किनेर दशैं मनाए । उनी भने आफ्नो भेडा बचेकोम मख्ख भए । केही दिनमै गाउँमा बाघ पस्यो । ७ वटा भेडा बाघको आहारा बने ।
पुसको सुरुमामात्रै गुरुङका भेडाहरुमा रोग देखियो । एकदुई गर्दै धमाधम १ सय ५० भन्दा बढी भेडा मरे । के रोग थियो त्यो ? उनलाई अझै थाहा छैन । हिउँद सुरु भइसकेको थियो । यामअनुसार खर्कका गोठमा स्थानान्तरण गर्नुपर्ने थियो । गन्तव्य बन्यो, कोरी हिमालसम्म ।
पुसको १० गते उनी आफ्ना ३ सय ५० भेडाबाख्रा र ४ वटा कुकुरसहित उकालो उक्लिए ।
पहिरोमा भेडाबाख्रा सोत्तर भएको खबर..
कोरीसम्म पुग्न अरु भेडा गोठाला अरु नै बाटो समाते । तर, गुरुङको गोठ हुगुमा थियो । उनी अर्का एकजना भेडा गोठाला र २ जना कामदारसँग क्हपुचेतर्फको बाटो सोझिए । त्यहाँ उनले ३ वर्षअघिमात्रै नयाँ रैथाने गोठ बनाएका थिए । ‘कोरीसम्म पुग्न धेरै बाटो छन् । पहिले पनि अर्कै बाटोबाट जान्थ्यौं । तर, गोठ बनिसकेपछि त्यो बाटो हिँड्नै प¥यो,’ गुरुङ सुनाउँछन् ।
जेठको अन्तिम सातातिर गाउँमा काम प¥यो । आफ्ना भेडाहरु ३ जना साथीहरुलाई जिम्मा लगाएर गुरुङ जेठ ३१ गते गाउँ फर्किए । गाउँ आइपुग्दा साँझै परेको थियो । भारी वर्षा पनि भइरहेको थियो ।
तर, असारको २ गते बिहानै हुगुको एक होटलबाट खबर आयो, ‘बौला खोला बौलियो । पहिरो गयो । जम्मै भेडाबाख्रा पु¥यो । भेडी गोठको नामनिशान छैन । ३ जना गोठाला उतै फसेका छन् । आउन सक्ने अवस्था छैन ।’
त्यो दिनदेखि गुरुङ बेचैन छन् । भएका आफ्ना सबै सम्पत्ती पहिरोले बगाएपछि के गरौं कसो गरौंको हालतमा छन् । ‘त्यहाँ पनि फोन टिप्दैन । त्यहाँको एउटा होटलमा भएको वाकीटकीबाट खबर आएको थियो,’ भन्छन्, ‘धेरै पानी परेर बाटो पनि बिग्रिएको थियो । त्यो दिन जान सक्ने अवस्थै रहेन ।’
उक्त पहिरोमा परी गुरुङको ६० लाखभन्दा बढी क्षति भएको उनी सुनाउँछन् । पहिरोमा २४ वटा भेडा र एउटा कुकुरमात्रै बचेका थिए । ‘पानी परेको प¥यै भएर खोला बढ्न थालेपछि केटाहरु माथितिर भागेको रै’छन् । त्यैबेला पहिरो गएछ,’ उनी सुनाउँछन्, ‘६० सालपछि पहिलो पटक यसरी खोला उर्लिएको देख्यौं । तर, त्यतिबेला पनि यति बिजोग बनाएको थिएन ।’
उर्लिएका २ खोला बीच फसेका ३ गोठालालाई उद्धार गर्न ३ गतेमात्रै गाउँदेखि २४ जनाको टोली पुगेको थियो । ‘होटलका भाइहरुले प्लास्टिकमा ढुंगा बाँधेर बिस्कुट फालिदिएपछि त्यही खाएर बसेका रै’छन्,’ गुरुङका भाइ पावेल गुरुङ भन्छन्, ‘त्यो दिनपछि बाटो बनाउँदै बनाउँदै जानु पर्ने भएर ४ घन्टाको बाटो ८ घन्टा लगाएर पुग्यौं ।’
गुरुङको सम्पत्ती भनेकै तिनै भेडाबाख्रा र कुकुर थिए । पहिरोमा पुरिएको एकहप्ता बितिसक्यो । तर, अझै आरामले निदाउन सकिरहेका छैनन् । घरिघरि सपना तिनै भेडाहरुको याद आउँछ । परिवार सदस्य जस्तै गरी हुर्काएका भोटे कुकुरहरुको याद आउँछ । ‘मेरो जीवन भेडाको पछि लागेर बित्यो । फेरि पनि ऋण धन गरेरै भेडा पाल्छु । अर्को काम त मैले जानेकै छैन,’ उनी सुनिन्छन्, ‘मेरो आफ्ना भनेकै तिनै हुन् ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->