
तनहुँ, ११ असार– तनहुँका ९ स्थानिय तहले विहीबार आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लामा १० स्थानिय तह छन् । भानु नगरपालिकाले भने सार्वजनिक गर्न सकेन् ।
१० असार भित्रै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानलाई भानुले लत्याएको छ । पालिकाको केन्द्र विवाद लगायतको आन्तरिक किचलोमा फसेको भानुमा विहीबार हुने भनिएको नगर सभा स्थगित गरियो । तयारी नपुगेकाले नगर सभा स्थगित गर्नुपरेको प्रस्टीकरण दिएपनि केन्द्र विवाद मुख्य कारण मानिएको छ । विहीबार सार्वजनिक नभएको बजेट कहिले पेश हुन्छ कुनै टुंगो छैन् ।
भानु बाहेक जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकाले नगर तथा गाउँ सभामार्फत बजेट सार्वजनिक गरेका छन् । स्थानिय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । संघ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानको आधारमा बजेटको आकार निर्धारण गरिएको छ ।
जिल्लाको पुरानो नगरपालिका व्यासले अन्यको तुलनामा ठुलो आकारको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि व्यासले १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु बर्षको तुलनामा २५ करोड रुपैयाँ बढीको बजेट पेश गरेको उपप्रमुख मिरा जोशीलाई जानकारी दिईन् । उनका अनुसार विहीबार पेश गरेको व्यासको निती तथा कार्यक्रम एकै दिनमा पारित भएको छ । बजेट उपर छलफल बाँकी छ । त्यसका लागी २३ असारमा अर्को बैठक डाकिएको उनले बताईन् ।
शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक बर्षको भन्दा ३ करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले १ अर्ब ६ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
भिमाद नगरपालिकाले५८ करोड ५६ लाख ८ हजार रुपैयाँको बजेट पेश गरेको छ । नवौं नगरसभामा उपप्रमुख शारदा खनालले पेश गरेको बजेटको आधा बढी रकम सामाजिक विकास शिर्षकमा छुट्याईएको छ । यो शिर्षकमा ३० करोड १ लाख २० हजार ८ सय ७० रुपैयाँ र पुर्वाधार विकासमा १६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको खनालले बताईन् ।
गाउँपालिकातर्फ म्याग्दे गाउँपालिकाको बजेट ठुलो आकारको छ । म्याग्देका उपाध्यक्ष बालकृष्ण घिमिरेले ६५ करोड ८२ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरे ।
६१ करोड ७० लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
पर्यटन पुर्वाधारलाई प्राथमिकता दिदै बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुण गुरुङले ५१ करोड ३४ लाख १ हजार ५ सयको रुपैयाँको अनुमानित बजेट गाउँसभामा पेश गरिन् ।
दक्षिण भेगमा रहेको जिल्लाको दुर्गम मानिने ऋषिङ गाउँपालिकाले ५२ करोड रुपैयाँको अनुमानित बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।
देवघाट गाउँपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
घिरिङ गाउँपालिकाले जिल्लाका स्थानिय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । आन्तरिक आम्दानीको स्रोत नभएको घिरिङले ४६ करोड ३४ लाख रुपैयाँको बजेट पेश गरेको हो । स्थानिय तहले १० असार भित्रै बजेट ल्याउनुपर्ने प्रावधानका कारण प्रस्तुत भएको नीति, कार्यक्रम तथा बजेट भने छलफल गरी शंसोधन सहित पारित हुनेछ ।





