तनहुँ, १४ असार– दुलेगौँडा बजारमा वडा कार्यालयले अग्नि नियन्त्रक यन्त्र बाँडेको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ को कार्यालयले यहाँका टोल विकास संस्था र सामाजिक संघसंस्थालाई ९० वटा अग्नि नियन्त्रक यन्त्र बाँडेको हो । वडामा १६ टोल छन् । सबै टोललाई ५/५ वटाका दरले उपलब्ध गराईएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार वडामा रहेका विद्यालय, खानेपानी संस्था, हेल्थपोस्टलगायतका सामाजिक संघसंस्थालाई पनि उपलब्ध गराइएको छ । सहरी क्षेत्रमा आगलागीको जोखिम बढी भएकाले यन्त्र वितरण गरेको उनले बताए । ‘आगलागीको जोखिम बढेको छ । सडक साँघुरो भएकाले कतिपय गल्लीमा आगलागी हुदाँ दमकल पनि नछिर्ने अवस्थाका छन् । त्यसैले आगलागीको भईहाले निभाउन सजिलो होस भनेर टोल बिकासलाई अग्नि नियन्त्रक यन्त्र दिएका हौं,’ उनले भने । आगलागीको घटनाबाट ठुलो क्षति हुन नदिन यन्त्र प्रभावकारी हुने वडाध्यक्ष श्रेष्ठको दाबी छ ।
वडाले अग्नि नियन्त्रक यन्त्र खरिदका लागी चालु आर्थिक बर्षको बजेटमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । सोही रकमले खरिद गरी वितरण गरेको वडा सचिव कल्पना गैरे सुवेदीले बताइन् । उनका अनुसार एउटा अग्नि नियन्त्रक यन्त्रलाई झन्डै ३ हजार ८ सय रुपैयाँ परेको छ ।





