तनहुँ, १७ असार– बुधबार रातीदेखी परेको अविरल बर्षाको कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । बन्दीपुर गाउँपालिका–२ तामुङका ७२ बर्षीया हरिमाया सार्की र करिब ३२ बर्षीया सरस्वती थापाको मृत्यु भएको वडा सदस्य हर्कबहादुर थापाले बताए । ७२ बर्षीया हरिमाया घरमा एक्लै बस्दै आएकी थिईन् । उनको घरमाथी सडकबाट विहान ६ बजेतिर खसेको पहिरोले पुरिएर मृत्यु भएको हो ।
सरस्वतीको भने विहान ३ बजे आसपासमा खसेको पहिरोले च्यापिएर मृत्यु भएको थापाले बताए । उनको परिवारका ३ जना घाईते छन् । मृतकका ससुरा ६६ बर्षिय दिलबहादुर थापा मगर, सासु ५८ बर्षीया दाउरीमाया र देवर २६ बर्षीय सुवास घाईते भएका छन् । घाईतेको दमौली अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य खतारमुक्त रहेको वडा सदस्य थापाले बताए । अर्कै घरमा सुतेका सुवासको श्रीमती र छोरा भने सकुशल छन् ।
घर माथीबाट खसेको पहिरोले घर ढल्दा उनीहरु च्यापिएको अवस्थामा फेला परेको वडा सदस्य थापाको भनाई छ । ‘एक दुई दिन अगाडी पनि माथीबाट पहिरो खसेर सडकमा थुप्रिएको थियो । राती त्यही थुप्रिएको पहिरो सहित सडक तलबाट खसेछ’, उनले भने । २ बर्ष अगाडीमात्रै यहाँको सडक चक्लाएर ८ मिटर फराकिलो बनाईएको थियो । सडककै कारण पहिरो खसेको उनको अनुमान छ । उनका अनुसार तामुङमा आधा दर्जन घर पहिरोको जोखिममा छन् ।
यता शुक्लागण्डकीमा पनि पहिरोमा परेर ३ जना घाईते भएका छन् । सबैको अवस्था सामान्य छ । शुक्लागण्डकी–१० सिम्लेमा चेतबहादुर भुजेलको घर माथी सडकबाट पहिरो खस्दा उनकी श्रीमती ६० बर्षीया खगीमाया र नाती १४ बर्षका विज्ञान घाईते भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । घाईते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल)मा उपचार भईरहेको छ । यी दुवैको अवस्था सामान्ये छ । पहिरो खस्दा खगीमाया भान्छामा र विज्ञान शौचालयमा रहेको स्थानियले बताए । मुल घरमा रहेका अन्य ६ जना परिवारका सदस्य भने सकुशल छन् । भुजेलको गोठ समेत पहिरोले पुर्दा १० वटा बाख्रा मरेका छन् । यस्तै, सोही स्थानका टेकबहादुर महतको पनि पहिरोले १० वटा बाख्रा र १ भैसी पुरेको छ ।
शुक्लागण्डकी–१० खोरादीमा पनि पहिरोले घर बगाएर ५४ बर्षका भविलाल विक घाईते भएका छन् । उनको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भईरहेको वडा कार्यालयले जानकारी दिएको छ । उनको अवस्था सामान्य छ । शुक्लागण्डकीका विभिन्न स्थान डुबानमा परेका छन् ।
व्यास नगरपालिकामा छाब्दी खोलामा आएको बाढीले पक्की पुल नै बगाईदिएको छ । बाढीले बुद्धसिंह मोटरमार्गमा पर्ने व्यासको वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको हो । पुल बगाएसँगै बुद्धसिंह मार्ग, केशवटार मार्गमा आवतजावतमा समस्या भएको छ ।
जिल्लामा पर्ने पृथ्वीराजमार्गको ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अबरुद्ध छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ । पृथ्वीराजमार्गको दुलेगौडा खैरेनीटार सडकखण्ड जलमग्न बनेको छ । भारी बर्षाले जलमग्न सडकमा सवारी हुईकाउँदा दुर्घटनाको जोखिम बढेको छ ।
जिल्लाका धेरै जसो स्थानमा पहिरोले ग्रामिण सडक अबरुद्ध बनेका छन् । सयौँ घर जोखिममा छन् । हजारौँ हेक्टरमा जमिनमा लगाएको धानवालीमा बाढीले क्षति पु¥याएको छ । निरन्तर बर्षा भईरहेकाले अझै क्षति हुनसक्ने भएकाले चनाखो बन्न प्रशासनले अनुरोध गरेको छ । तनहुँ हुदै बग्ने सेती, कालीगण्डकी, मादी, मस्र्याङदी नदीमा पानीको वहाब बढेको छ । साना खहरे खोलामा बाढी आएको छ ।





