मनाङ, १९ असार – जिल्ला प्रहरी कार्यालय मनाङले अवैध जडिबुटीसहित २ जनालाई पक्राउ गरेको छ । गोरखाको धार्के गाउँपालिका-५ को गुम्जा गाउँका कान्छा भन्ने माइला गुरुङ र सोही गाउँपालिका-७ को लापु गाउँका जितबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको होे । उनीहरुलाई अवैध जडिबुटी (वनलसुन) सहित शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शम्भु खड्काले बताए । उनीहरूले संकलन गरेको वन लसुन माइला गुरुङको डेराबाट बरामद भएको हो ।
सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको कमान्डमा गएको सीमा प्रहरी चौकी क्युपार मनाङसहितको २० जनाको टोलीले उनीहरुलाई जडीवुटीसहित पक्राउ गरेको हो। प्रनाउ खड्काका अनुसार प्रहरी टोलीले माईला गुरुङको भान्छा कोठाबाट एपोलो लेखिएको बोरामा २२ केजी ३ सय ग्राम र अर्को एउटा बोरामा ७ केजी ६ सय १० ग्राम गरी जम्मा २९ केजी ९ सय १० ग्राम आलो माटोसहितको वन लसुन लुकाई राखेको अवस्थामा फेला पारेको हो । आवश्यक कारबाहीका लागि दुवै जनालाई बन लसुनसहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय चामेमा बुझाएको प्रनाउ खड्काले वताए ।




