पोखरा, २० असार– लायन्स क्लव अफ पोखरा सृजना चौतारीका अध्यक्ष कृष्ण बहादर कार्कीले कोभिड पिडितलाई सहयोग गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् । उनले कोभिड पिडितलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरे । क्लबको पद तथा माइन्युट हस्तान्तरण कार्यक्रममा वर्ष २०२१–२०२२ का अध्यक्ष कार्कीले सो सहयोग गरेका हुन् । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई हाल पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने केशव सुवेदीको केहि समय अगाडि कोभिड संक्रमणका कारण निधन भएको थियो । उनै स्वर्गीय सुवेदीको परिवारलाई अध्यक्ष कार्कीले क्लव मार्फत आर्थिक सहयोग गरेका हुन् ।
सोही कार्यक्रममा अध्यक्ष कार्कीले २५ बुँदे सामाजिक सेवाका आफ्नो भावी कार्ययोजना प्रस्तुत गरे । आफ्नो कार्यकाल अविस्मरणिय बनाउन सबै साथीहरुलाई साथमै लिएर अगाडि बढ्ने उनको प्रतिबद्धता थियो । सेवा मुलक संस्थामा रहेर सामाजिक सेवा गर्ने आफ्नो रुचि क्लब लायन्स क्लब मार्फत गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
लायन्स क्लव अफ ३२५ बि १ नेपालका एफ डब्लु सी संयोजक विना गुरुङको प्रमुखको आतिथ्यतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवं सिनियर एडभाइजर बालकृष्ण बराल, एसिस्टेन्ट चिफ एडभाइजर तथा ट्रि प्लान्टेसन डिर्पाट चिफ बसन्त गिरी, मोडल भिलेज डेपुटी चिफ जित बहादुर थापा गोपाल, डिष्ट्रिक पिआरओ राजु बराल, डिष्ट्रिक अफिसर विष्णु शर्मा र रिजन चियरपर्सन जीवन गोर्खालीले आफ्ना भनाई राख्दै लायन्सहरु सामाजिक कार्यमा सधै क्रियाशिल बन्नुपर्नेमा जोड दिए ।




