
पोखरा, २८ असार– उच्च अदालत पोखराले एक वर्षमा ६५.४२ प्रतिशत अर्थात् १ हजार ३७ वटा मुद्दा फछ्र्यौट गरेको छ । रजिष्टार श्रीलाल पौडेलका अनुसार यो लक्ष्यभन्दा करिब ४ प्रतिशत कम हो । अदातलले चालु आर्थिक वर्षमा १ हजार ५८५ वटा मुद्दा फछ्र्यौटको लक्ष्य राखेको थियो । कोभिड १९ ले प्रभाव पारेकाले मुद्दा फछ्र्यौट लक्ष्यभन्दा कम रहेको अदालतले जनाएको छ ।
रजिष्टार पौडेलका अनुसार अदालतमा गत ५ वर्षयताकै सबैभन्दा बढी लगत मुद्दाहरु रहन पुगेका छन् । यीमध्ये अघिल्लो आर्थिक वर्षबाट ८९५ मुद्दा सरेका हुन् भने १ हजार ७७ नयाँ मुद्दा हुन् । गत आर्थिक वर्षमा १ हजार ६ सय ७० मुद्दा रहेकोमा १ हजार ३७ अर्थात् छयालिस प्रतिशत फछ्र्याैट भएका थिए । त्यो भन्दा अघिल्लो वर्षमा १ हजार ८ सय १४ मुद्दामा एकहत्तर प्रतिशत फछ्र्याैट भएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले बताए । आर्थिक वर्ष ०७४÷७५ मा १ हजार २ सय १५ र ०७३÷७४ मा १ हजार ३ सय ७९ मुद्दा रहेका थिए ।
जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा राख्ने गरि गरेको ३७ वटा आदेशलाई उच्च अदालतले बदर गरी धरौटी माग गरेको जनाएको छ । यसैगरी जिल्लाले पुर्पक्षका लागि थुनामा राख्न दिएको १० वटा आदेशलाई उच्च अदालतले बदर गरि साधारण तारेखमा राख्न आदेश दिएको छ ।अदालतले चालु आवमा १ करोड २ लाख ३३ हजार ४११ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यस्तै धरौटीबाट ३ करोड ६४ हजार ७०६ रुपैयाँ संकलन गरेकोमा १३ लाख ९७ हजार ३०१ रुपैयाँ फिर्ता भएको रजिष्टार पौडेलले जानकारी दिए ।





