पोखरा, २९ असार– पोखरा विश्वविद्यालयको २१ औं साधारण सभामा प्रधानमन्त्री केपी ओलीले भर्चुअल संवोधन गर्ने कार्यक्रम थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ त सभामा भाग लिन भन्दै विमानस्थल पुगिसकेका थिए । तर, एकाएक सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदियो । पद गुमाएका शिक्षामन्त्री एयरपोर्टबाटै फिर्ता भए । प्रधानमन्त्रीले संवोधन गर्ने कार्यक्रम एकाएक रोकियो । कोभिड महामारीका कारण देखाउँदै अघिल्लो वर्षदेखि रोकिएको साधारणसभा भने रोकिएन ।
सोमबार भएको साधारण सभाले १ अर्ब १९ करोड ९० लाखको बजेट पारित गर्दै विश्वविद्यालयअन्तर्गत संचालित नर्सिङ र चिकित्सा विज्ञानसँग सम्बन्धित प्यारामेडिकल विषय संचालनको लागि शिक्षण अस्पताल बनाउने निर्णय ग¥यो ।
शिक्षण अस्पताल निर्माणको लागि आर्थिक वर्ष २०७८÷०७९ को लागि २१ करोड विनियोजन गरिएको छ । विश्वविद्यालयका रजिष्टार डाक्टर दीपकबहादुर भण्डारीले एक सय बेडको अस्पतालको लागि सो बजेट विनियोजन गरिएको बताए । उनले छाप्रोबाटै भएपनि शिक्षण अस्पताल संचालन गरिने प्रतिवद्धता जनाए । उनले चालु आर्थिक वर्षको लागि ५७ करोड ९३ लाखको बजेट पारित भएको जानकारी दिए । विश्वविद्यालयले पर्यटन, प्याराग्लाइडिङ, टे«किङ, माउण्टेन हाइकिङ, आयुर्वेद आदिको कक्षा चलाउने तयारी गरिएको बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले भौतिक निर्माणलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालय लागेको पनि जानकारी दिए । विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले शैक्षिक क्यालेण्डरको पालना एवं आंगिक क्याम्पसहरुको बिस्तारको योजना सुनाए ।





