तनहुँ, ३१ असार– शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागी ल्याएको निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको निती, कार्यक्रम तथा बजेट विहीबार पारित भएको हो ।
चालु आर्थिक बर्षका लागी शुक्लागण्डकीले १ अर्ब २८ करोड ४९ लाख २९ हजार १ सय रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को तुलनामा ५ करोड ९९ लाख ४२ हजार ९ सय १४ रुपैयाँले बढी बजेट ल्याईएको हो । अघिल्लो बर्ष १ अर्ब २२ करोड ४९ लाख ८६ हजार १ सय ८६ रुपैयाँको बजेट सार्वजनिक भएको थियो ।
चालु बर्षमा सबैभन्दा बढी बजेट पुर्वाधार बिकासलाई विनियोजन भएको छ । नगर उपप्रमुख सविता रसाईलीले नगरसभामा प्रस्तुत गरेको बजेटमा पुर्वाधार बिकासलाई मात्र १७ करोड रुपैयाँ विनियोजन भएको छ । पुर्वाधार विकासमा विनियोजन भएको रमक गत बर्षको तुलनामा कम रहेको छ । गतबर्ष पुर्वाधार बिकास शिर्षकमा २० करोड ९४ लाख रुपैयाँ विनियोजन भएको थियो ।
सामाजिक बिकासतर्फ ८ करोड ३० लाख ४ हजार १ सय रुपैयाँ बजेट छुट्याएको रसाईलीले बताईन् । आर्थिक विकासमा २ करोड ७५ लाख ३५ हजार रुपैयाँ, वातावरण तथा विपद्मा २ करोड ४२ लाख ५० हजार रुपैयाँ, सुशासन तथा संस्थागत बिकासमा १ करोड ३६ लाख रुपैयाँ, चालु पुँजीगतमा १२ करोड ३६ लाख रुपैयाँ, प्रदेश समपुरकमा २ करोड रुपैयाँ, वडागत सिलिङमा १० करोड ८७ लाख रुपैयाँ, क्रमागत अल्या योजनामा ९ करोड ३४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गरिबसंग विश्वेश्वर कार्यक्रमका लागी ५ लाख, सशर्त अनुदानमा ३८ करोड ४३ लाख रुपैयाँ, सडक बोर्डमा ६० लाख रुपैयाँ, जनसहभागिताका लागी ५ करोड रुपैयाँ र सामाजिक सुरक्षा शिर्षकमा १८ करोड रुपैयाँ विनियोजन भएको उपप्रमुख रसाईलीले जानकारी दिईन् ।
आम्दानीतर्फ संघ सरकारको समानिकरण अनुदानमा १५ करोड ४७ लाख रुपैयाँ, राजस्व बाँडफाँडमा १० करोड ३९ लाख २३ हजार रुपैयाँ, शशर्त अनुदानमा ३८ करोड ४३ लाख रुपैयाँ, प्रदेश सरकारको समानिकरण अनुदानमा १ करोड ८८ लाख ३८ हजार रुपैयाँ, राजस्व बाँडफाडमा १ करोड ३७ लाख १९ हजार रुपैयाँ, समपुरक अनुदानमा २ करोड रुपैयाँ अनुमान गरिएको छ ।
यस्तै, आन्तरिक आम्दानी १९ करोड ९१ लाख ५९ हजार १ सय रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । अल्या ४ करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्ता १८ करोड रुपैयाँ, क्रमागत अल्या गरिएको योजना ९ करोड ३४ लाख ४० हजार रुपैयाँ, सडकबोर्ड ६० लाख रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन शुल्क २ करोड रुपैयाँ, वनबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । पक्की नाल, कालोपत्रे, कल्भर्ट निर्माणमा जनसहभागिताबाट ५ करोड आम्दानी हुने जनाईएको छ ।
गत असार १० गते सुरु भएको नवौ नगरसभा शोक प्रस्ताव पारित गरेर स्थगति भएको थियो । संवैधानिक व्यवस्था अनुसार बजेट, निती तथा कार्यक्रम प्रस्तुत गर्नका लागी डाकिएको नगरसभा वडा नम्बर ६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थगित भएको थियो । नगरसभामा प्रस्तुत नगरिएपनि नगरसभा सदस्यलाई बजेट, निती तथा कार्यक्रमको प्रति उपलब्ध गराई सार्वजनिक गरिएको थियो । बजेट, निती तथा कार्यक्रमको अध्ययन गरी नगरसभा सदस्यले विहीबार सुझाव दिएका थिए । विहीबार नै पारित गरेको नगर प्रमुख किसान गुरुङले जानकारी दिए ।
नगरसभामा प्रमुख गुरुङले पेश गरेको विनियोजन विधेयक २०७८, आर्थिक ऐन २०७८ संगै स्थानिय तह कर्मचारी व्यवस्थापन ऐन, न्यायिक समितिको कार्यविधी व्यवस्थित गर्ने ऐन र अनुगमन समिति सञ्चालन कार्यविधी ऐन सर्वसम्मत पारित भएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । कोभिड नियन्त्रणमा खटिएको फ्रन्टलाईनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निती समेत पारित भएको कुमालले बताए ।
शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधीले आफ्नो कार्यकालको अन्तिम निती तथा कार्यक्रम, कृषी, पर्यटन, पुर्वाधार, कोरोना नियन्त्रणलाई मध्यजनर गरेर बनाएका छन् ।





