
तनहुँ, २ साउन- जनताको सबैभन्दा नजिकको स्थानीय सरकार । स्थानीय सरकारलाई गाउँको सिंहदरबार पनिभन्ने गरिन्छ । संघीयता कार्यान्वयन चरण सुरु भएसँगै स्थानीय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी सम्हालेको पनि ४ वर्ष भइसक्यो । तर, यो अवधिसम्म गाउँका सिंहदरबारका भवनसमेत बन्न सकेका छैनन् ।
स्थानीय तहले कतै भाडाको घरमा केन्द्र चलाइरहेका छन् त कतै वडा कार्यालय । स्थानीय सरकार गठन भएको लामो समयपछिमात्रै सीमितमात्रामा आवश्यक भवन बनेका छन् । कतिले भर्खर बनाएको नयाँ भवनबाट सेवा दिन थालेका छन् ।
आँबुखैरेनी गाउँपालिकाको ४ नम्बर वडाले पनि नयाँ भवन बनाएको छ । बेनीटार सामुदायिक भवनबाट सेवा दिँदै आएको वडाको नयाँ भवन बिहीबार उद्घाटन भयो । पृथ्विराजमार्ग नजिकै ४९ लाख ७९ हजार चार सय ४७ रुपैयाँमा भवन निर्माण गरिएको हो ।
वडाले आइतबारदेखि आफ्नै पक्की भवनबाट सेवा दिने वडाध्यक्ष नेत्र गुरुङ बताउँछन् । ‘निर्वाचित भएर आएको ७÷८ महिना पालिका केन्द्रमा चौरबाट पनि सेवा दियौं । पछि सामुदायिक भवनमा स¥यौं । कोरोनाबेला सामुदायिक भवन साँघुरो हुँदा सेवा दिन असहज पनि भयो । तर, कुनै दिन जनताको सेवा रोकेनौ,’ उनले भने, ‘अब आफ्नै भवनबाट झन सजिलो तरिकाले सेवा दिन्छौं ।’ जग्गा व्यवस्थापनमा समय लाग्दा भवन निर्माणमा ढिलाइ भएको वडाध्यक्ष गुरुङको भनाइछ ।
आँबुखैरेनीमा वडा नम्बर ५ को भवन पनि निर्माण सकिएको छ । उद्घाटनको तयारीमा गाउँपालिका छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार वडा नम्बर १ को भवन यसअघि नै बनेको हो । प्रत्येक वडा कार्यालयको आफ्नै भवन बनाउने नीति गाउँपालिकाले लिएको उनले बताए ।
त्यही नीतिअनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाले २ वटा वडा कार्यालय भवन निर्माण गर्न ९० लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नम्बर ६ भवन निर्माणमा ५० लाख रुपैयाँ र २ को भवनलाई ४० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए ।
सामुदायिक भवनबाट सेवा दिइरहेको वडा नम्बर ३ मा भने जग्गा व्यवस्थापनमा समस्या हुँदा अन्तिम कार्यकालमा पनि बजेट विनियोजन हुन सकेन। ‘वडा कार्यालय भवन बनाउनलाई स्थान नपाएकाले बजेट विनियोजन भएन,’ उनले भने ।
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको आँबुखैरेनीले प्रशासकीय भवन पनि सुविधायुक्त बनाएको छ । ३ करोड ८ लाख ७७ हजार ४६६ रुपैयाँको लागतमा बनेको ३ तले भवनबाट १ बैशाखदेखी सेवा दिन थालिएको हो । यसअघि आँबुखैरेनी बजारमा रहेको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको थियो ।
पालिका मुकाममा बन्दै बहुउद्देश्यीय भवन ।
नयाँ भवनबाट सेवा प्रवाह हुन थालेपछि पहिलेको पुरानो भवन भत्काएर आँबुखैरेनी गाउँपालिकाले बहुउद्देश्यीय भवन निर्माणको थालनी गरेको छ । गत बुधबार गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बहुउद्देश्यीय भवन निर्माणको शिलन्यास गरे ।
१३ करोड ७४ लाख १ हजार सात सय ८१ रुपैयाँ अनुमान गरिएको भवनको पहिलो चरणमा तीन तल्लासम्म निर्माण हुनेछ । भवनले पुर्णता पाउँदा पाँच तलाको भवन ठडिनेछ । गाउँपालिकाले ज्ञानज्योति विल्डर्स प्रालि काभ्रेसँग निर्माण सम्झौता गरेको हो ।
पहिलो चरणको कामका लागि ३ करोड ५७ लाख ८९ हजार ८ सय ७९ रुपैयाँ लागत अनुमान गरिएपनि निर्माण कम्पनीसँग २ करोड ३८ लाख ८८ हजार ७ सय ७८ रुपैयाँमै सम्झौता गरिएको छ ।
सम्झौता अनुसार २०७९ कात्तिक १५ ३ तलाको बहुउदेश्यिय भवन तयार हुनेछ । बहुउद्देश्यीय भवनले दिगो रुपमा आन्तरिक आम्दानीको स्रोत बढ्ने गाउँपालिका अध्यक्ष थापाले बताए ।





