पोखरा, ३ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गण्डकीको गाँठो फुकाइदिन आग्रह गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिना बितिसक्दासमेत पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
सत्तारुढ कांग्रेससहित गठबन्धनमा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा समेत विवाद रहेकाले मन्त्रीपरिषद विस्तारमा समस्या भएको भन्दै मुुख्यमन्त्री पोखरेलले समाधान गरिदिन प्रधानमन्त्रीलाइ आग्रह गरेका हुन् ।
गण्डकीमा सत्तारुढ कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका सांसदहरु मन्त्री बन्न तछाडमछाडमा छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडमा समेत सहमति हुन सकेको छैन । अहिले गण्डकी सरकारमा कांग्रेसबाट मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीमा कुमार खड्का छन् । माओवादीकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री, जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री छन् । स्वतन्त्र सांसद राजीव गरुङ ‘दीपक मनाङे’ युवा तथा खेलकुद मन्त्री छन् ।
उनीहरुले मन्त्री नियुक्त भएको लामो समयपछि मन्त्रालयको जिम्मेवारी पाएका थिए । मन्त्रिपरिषदले पूर्णता पाउँदा अहिले जिम्मेवारी पाएको मन्त्रालय हेरफेर हुने स्वयं मन्त्रीहरुले बताउँदै आएका छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिन अर्थ मन्त्रालयको अड्को थापेर जसपाले मुख्यमन्त्री पोखरेलसँग अर्थ मन्त्रालय लिने लिखित सहमति गरेका थिए । विश्वासको मत पाएपछि काँग्रेसले जसपालाई अर्थमन्त्रालय दिन नसक्ने अडान राखेपछि जसपा पछि हटेको थियो ।
अझै कांग्रेस र माओवादीबीच अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रालय कसले लिने भन्ने विवाद छ । दुबै दलको नजर भौतिक पूर्वाधार मन्त्रालयमा केन्द्रित छ । मन्त्रालय बाँडफाँडमा देखिएको विवादले पनि गण्डकीको मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको हो ।
गण्डकीको मन्त्रालय बाँडफाँड मन्त्रीको नाम टुंगो लगाइदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेको मुख्यमन्त्री नेपालीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । दलका शीर्ष नेताहरुसँगको बैठकमा गण्डकीको विषय उठाइदिन र समस्याको समाधान गरिदिन पोखरेलले आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री देउवाले गण्डकीको समस्या समाधान गरिदिने आग्रह गरेका छन् । उनले दलका शीर्ष नेताहरुसँगको बैठकमा सल्लाह गरेर मन्त्रीको नाम र मन्त्रालयको बाँडफाँड टुंग्याइदिने आश्वासन दिएका छन् ।
शनिबार दिनभर काठमाडौंमा राजनीतिक भेटघाट गरेका मुख्यमन्त्री पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाइ भेटेर गण्डकीमा बजेट बढाइदिनसमेत आग्रह गरे । गण्डकीमा सबैभन्दा कम बजेट आएको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त आग्रह गरेका थिए । जवाफमा अर्थमन्त्री पोखरेलले बजेटको अवस्था हेरेर निर्णय गर्ने बताए । मुख्यमन्त्री पोखरेलले बजेटका थप गर्न प्रदेश सरकारले योजना लिएर आउने समेत बताएका थिए ।
मुख्यमन्त्री पोखरेलले गृहमन्त्री बालकृष्ण खाँडलाइ भेटेर प्रदेश सरकारलाइ सहयोग गर्न आग्रह गरे । खाँडले मुख्यमन्त्री पोखरेलको राजनीतिक इमानदारितामा दाग नलाग्ने गरी काम गर्न आग्रह गर्दै राम्रो टिम बनाएर अघि बढ्न आग्रह गरे । प्रदेश सरकारलाइ सफल बनाउन आफुले सहयोग गर्ने आश्वासन खाँडले दिए ।
भेटघाटका क्रममा मुख्यमन्त्री पोखरेलले उर्जामन्त्री पम्फा भुषाललाइ भेटेर गण्डकीका योजनालाइ प्राथमिकता दिन आग्रह गरे । मन्त्री भुषालको निवास पुलचोकमा भएको भेटघाटमा केन्द्रमा बनेको गठबन्धनका आधारमा गण्डकी सरकार गठन भएको भन्दै पोखरेलले प्रदेश सरकारलाई सघाउन आग्रह गरेका थिए ।
जवाफमा मन्त्री भुषालले भनिन्, ‘प्रतिगमनलाइ परास्त गरेर केन्द्रमा हामी आयौं, गण्डकीमा तपाइ आउनुभयो । चुनावसम्म गठबन्धन कायम गर्नुपर्छ ।’ उनले गण्डकी सरकारलाई सघाउने आश्वासन दिइन् ।
‘तोकिएको समयामा वडा अधिवेशन गर्न सकिँदैन’
कांग्रेस महामन्त्री डा. सशांक कोइरालालाइ भेटेर मुख्यमन्त्री पोखरेलले साउन १२ गते वडा तहको अधिवेशन गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसले भदौ १६ देखि १९ सम्मका लागि तय गरेको महाधिवेशनको पहिलो खुट्किलो वडा तहको अधिवेशन गनुपर्छ । कांग्रेसले महाधिवेसन तालिकामा साउन १२ गते वडा तहको अधिवेशन गर्ने उल्लेख छ ।
कोरोना महामारी अझै यथावत रहेको र बाढी पहिरोका कारण वडा अधिवेसन गर्न नसकिने अवस्था रहेको मुख्यमन्त्री पोखरेलले बताएका थिए । उनले भने, ‘बाढी पहिरोले वडा अधिवेसनमा मान्छे आउन सक्दैन । अहिले अधिवेसन गर्न सकिने अवस्था रहेन । अलि पछाडी सार्नुप¥यो ।’
जवाफमा महामन्त्री कोइरालाले वडा तहको अधिवेशन आउने समयसम्म पर्खन र अवस्था यस्तै रहे वडा अधिवेसन सार्न सकिने जवाफ दिएका थिए । मुख्यमन्त्री पोखरेलले कांग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्कालाइ पनि यही कुरा राखेका थिए । खड्काले पनि अधिवेशन सार्नेबारे छलफल नभएको भन्दै अवस्था हेरेर निर्णय लिने बताए । उनले पहिलो पटक गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बनेको भन्दै जसरी पनि सफल बनाउन आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले यसपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेर भेटवार्ता गरे । पौडेलले पार्टी संगठन र सरकार सञ्चालनका विषयमा सुझाव दिएको मुख्यमन्त्री पोखरेलले बताए । पौडेल र पोखरेलबीच दुई पक्षीय गोप्य वार्ता भएको उनका सचिवालयले जनाएको छ ।
महामन्त्री कोइरालासँग भेटघाट गर्दासम्म सामाजिक विकास मन्त्री कुमार खड्का पनि सँगै रहेका थिए । त्यसपछि खड्का पोखरा फर्किए भने मुख्यमन्त्री पोखरेलले भेटवार्तालाइ जारी राखे । पोखरेल पौडेल पक्षीय नेता हुन् भने खड्का देउवा पक्षका हुन् ।
पार्टी नेताहरुलाइ भेट्ने क्रममा मुख्यमन्त्री पोखरेलले सुजाता कोइराला र गोपालमान श्रेष्ठलाई पनि भेटेका छन् । उनीहरु दुबैले गण्डकी सरकारलाइ सफल बनाउन सहयोग गर्ने आश्वासन दिएको पोखरेलको सचिवालयले जनाएको छ ।





