बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुंगुर पाल्न वडाले सघायो

सुंगुर पाल्न वडाले सघायो

‘पहिलो वर्ष पूर्वाधार निर्माण र पशुपंक्षी खरिदमा सघाउँछौ । दोस्रो वर्षबाट बजारीकरण र प्राविधिक ज्ञानमा हाम्रो जोड हुन्छ ।’


  • ढोरपाटन सम्वाददाता
  • साउन ४ २०७८, सोमबार
 भिमाद नगरपालिका–९ थामडाँडामा किसानलाई कालो सुंगुर वितरण गर्दै वडाध्यक्ष ईमानबहादुर थापा । तस्बिर : विनोद ढुंगाना

तनहुँ, ४ साउन– भिमाद नगरपालिका ९ थामडाँडाका विपन्न दलित समुदायले सुंगुर पालन सुरु गरेका छन् । आर्थिक स्तर उकास्ने उदेश्यले यहाँ कालो सुंगुर पालन सुरु गरिएको हो । यहाँका १९ घरधुरीले सुंगुर पाल्न समूह बनाएका छन् । समूहमा आबद्ध हरेक घरधुरीले २ वटाका दरले सुंगुर पाल्न सुरु गरेका हुन् ।
‘समृद्ध जीवन, सुनौलो कृषि अभियान’ अन्तर्गत कालो सुंगुर पालनका लागि वडा कार्यालयले सघाएको छ । सुंगुरको खोर निर्माण र बच्चा किन्न वडाले अनुदान उपलब्ध गराएको वडाध्यक्ष ईमानबहादुर थापाले जानकारी दिए । उनका अनुसार वडाले थामडाँडाको समूहलाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
‘परम्परागत तरिकाले पशुपालन गरिरहेका किसानलाई व्यवसायिक बनाउने वडाको योजना छ’, उनले भने, ‘किसानका माग अनुसार वडाले पशुपंक्षी पालनमा सघाउनेछ ।’ वडालाई पशुपंक्षी पालनमा नमूना र आत्मनिर्भर बनाउने लक्ष्य रेहको वडाध्यक्ष थापा बताउँछन् । थामडाँडाको किसानलाई भिमाद नगरपालिका पशु शाखाले सुंगुर पालन गर्न ३ दिनको आधारभूत तालिमसमेत दिएको थियो ।
कालो सुंगुर पालनलाई व्यवासयिक बनाएर नमूना गाउँ बनाउने स्थानीयले प्रण गरेका छन् । दैनिक ज्याला मजदुरी, वैदेशिक रोजगारीमा भर परेका गाउँले परम्परागत कृषि र पशुपालन गर्दै आएको स्थानीय जितबहादुर विकले बताए ।
‘आर्थिक हिसाबले पछाडि छौं । सुंगुर पालनलाई व्यवसायिक बनाएर आत्मानिर्भर बन्ने उदेश्य छ’, उनले भने । २ वटा बंगुर पालनबाट सुरु गरेको व्यवसायलाई बढाउदै लैजानले उनले जनाए । कालो सुंगुरको बजारमा माग भएको कारण बजारीकरणमा समस्या नहुने उनी बताउँछन् ।
‘समृद्ध जिवन, सुनौलो कृषि अभियान’ अन्र्तगत भिमाद ९ को सखेपमा कुखरापालन, मोहोरियामा बंगुर र बाख्रा पालन, कटनछापमा बाख्रा पालन, असपाक्दी भाटडाँडामा मौरी पालन सुरु गरिएको छ । किसान र वडाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेका छन् ।
हरेक वर्ष यो अभियानले निरन्तरता पाउने वडाध्यक्ष थापा बताउँछन् । ‘पहिलो वर्ष पूर्वाधार निर्माण र पशुपंक्षी खरिदमा सघाउँछौ । दोस्रो वर्षबाट बजारीकरण र प्राविधिक ज्ञानमा हाम्रो जोड हुन्छ’, उनले भने । बाख्रा, कुखुरा, सुंगुर, बंगुर, मौरी पालन र सुन्तला खेतीका लागि वडा उपयुक्त रहेको वडाध्यक्ष थापाले बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->