
तनहुँ, ४ साउन– पृथ्विराजमार्गबाट झण्डै ११ किलोमिटर परको बस्ती आजकाल झनै टाढिएको छ । १७ असारपछि पटक–पटक आएको बाढी पहिरोले शुक्लागण्डकी नगरपालिका ११ जरेबर आसपासका नाम्सीकोट, पाल्पालीछाप लगायतको बस्ती सडक सञ्जालबाट निकै टाढिएका हुन् ।
बाढी पहिरो र उर्लेको खोलाले सडक सञ्जालबाट छुटाएको जरेबरका बुजसत्तो महतले बताए । ‘बजारबाट नजिक भएपनि दुर्गममा बसेजस्तै भएको छ । कतै सडक खोलाले बगाएको छ । कतै पहिरो झरेर रोकिएको छ,’ उनले भने, ‘गाडी आउजाउ गर्न सकेको छैन ।’
सवारी आउजाउ नहुँदा अबको केही दिनमा यहाँका बस्तीमा खाद्यान्नको अभाव हुने उनी बताउँछन् । बजारबाट गाउँसम्म बोकेर खाद्यान्नका सामाग्री ल्याउन नसकिएको उनी बताउँछन् । हरेक वर्ष बर्खा लागेपछि जरेबर आसपासका बस्ती दुर्गमजस्तै बन्ने उनको भनाइ छ ।
हिउँदमा यो क्षेत्रमा दुलेगौँडाबाट मुस्ताङचोक, किमलडाँडा हुँदै क्याङदी खोला तरेर सिम्ले जोडिन्छ । सिम्लेमा क्याङदी मार्गमा जोडिएपछि अरौदी हुँदै गुमीखोला, वरखोला पार गरेर सवारी आउजाउ गर्छन् । बर्खाको भेलले उर्लिएको क्याङदी खोलाबाट यतिबेला सवारी वारपार गर्न सक्ने अवस्था छैन । विकल्पमा घुमाउँरो बाटो भिमाद बजारबाट भागर हुँदै सिम्ले जोडिएर क्याङदी मार्गबाट जरेबर आसपासको बस्तीमा पुगिन्छ । त्यो बाटो प्रयोग गर्न पनि अरौदी नजिकै क्याङदी खोलाले सडकको नाम निशान नरहने गरी कटान गरेको छ ।
गुमी खोलाले पनि सडकलाई क्षतविक्षत गराएर सवारी चल्न नमिल्ने बनाइदिएको छ । दुई पांग्रे मोटरसाइकल र स्कुटर चलाउनसमेत मुस्किल हुने कन्तबिजोग अवस्थामा सडक छ । जरेबर पुग्न वर खोलाको बहाव पनि बाधक बनेको छ ।
सडक सञ्जाल टुटेपछि बिरामीलाई अस्पताल पु¥याउन पनि बोकेर लैजानु पर्ने अवस्था आएको शुक्लागण्डकी नगर कार्यपालिका सदस्य सानुमाया महत बताउँछिन् । ‘यहाँको बस्तीमा स्वास्थ्य संस्था छैन । सिटामोल लिन पनि बजार नै पुग्नुपर्छ । दोहोरो खोला र पहिरोग्रस्त सडकले छेकेको छ,’ उनले भनिन् ।
जरेबर, नाम्सीकोट, पाल्पालीछाप लगायतका बस्ती शुक्लागण्डकीमा पर्ने र सडक ‐क्याङदी मार्ग) भिमाद नगरपालिका पर्ने भएकाले पनि तत्कालै मर्मत गरी सुचारु गर्न नसकिएको उनको भनाइ छ । सडक खुलाउन भिमादसँग समन्वय भइरहेको उनले बताइन् ।
क्याङदी मार्ग तत्काल खुलाउन नसकिने भिमाद नगरपालिका ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । ‘धेरै ठाउँमा क्षति भएको छ । अरौदीमा क्याङदीले सडक नै नरहने गरी कटान गरेको छ । त्यहाँनेर खोलाको धार परिवर्तन गराउँदैछौं,’ उनले भने, ‘खोलाको धार परिवर्तन भयो भने सुख्खा भएपछि बल्ल सडक सुचारु गर्न सकिएला ।’ कम्तीमा पनि अझै हप्तादिन सडक सुचारु नहुने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जरेबरमा वर खोला र क्याङदी खोलाले खेती योग्य जमिनसँगै बस्ती कटान गर्दा जोखिम बढेको स्थानीय बताउँछन् । शुक्लागण्डकी नगरपालिकाले नदी कटान रोक्न तारजाली उपलब्ध गराएपनि निरन्तरको बर्षाले तटबन्ध गर्न नसकिएको स्थानीय बताउँछन् । जरेबर आसपासका बस्तीलाई बर्खामा वर खोला बढ्दा सहज तरिकाले आउजाउ गर्न मोटर गुड्ने पुल बनाउन थालेपनि निर्माण सम्पन्न भएको छैन ।





