तनहुँ, ६ साउन– अचेल टिकटक लगायत समाजिक सञ्जालान एउटा हिन्दी गीतांश खुबै चर्चित छ, ‘मैं पानीपानी होगई !’ मनसुन सुरुआतीसँगै चर्चामा आएको यो गीतमा पछिल्लो पुस्ताका हजारौं युवाले हजारौं गरेका छन् । पछिल्लो समय जीवनको अपरिहार्य बनेको सामाजिक सञ्जालको केही नकारात्मक पक्ष होलान् । तर, यसले मानव जीवनलाई सहज बनाउन पनि सहयोग गरिरहेको छ । समाजमा लुकेर बसेका प्रतिभादेखि पर्यटकीय ठाउँसम्मलाई केही दिनमै चर्चाको शीखरमा पु¥याएर स्थानीयको जीवनै फेरबदल पारिदिएको छ । गतवर्ष सामाजिक सञ्जाल टिकटकबाट तनुहुँको मानहुँकोट खुबै भाइरल बनेको थियो । गुमनाम ठाउँबाट बादलमाथि उभिएर दमौली लगायत बजार देखिने दृश्य कैदले धेरै युवाको मन खिचेको थियो । यस वर्ष पनि भएको छ, त्यस्तै ! चर्चामा छ – म्याग्देको थाब्दी झरनामा ।
०००
पहाडको टुप्पोबाट उन्मुक्त पानीको फोहोरा सुसेल्दै वेग गतिमा झर्छ । हावाको झोंक्काले पानीको फोहोरालाई उडाएर आकारमा घटबढ ल्याउँदाको दृश्य रोमाञ्चक देखिन्छ । सुनसान खोँचमा झरनाको सुन्दरता नियाल्न पुग्नेको भिड हुन्छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्र्नेको तछाँडमछाड देखिन्छ । निषेधाज्ञाको अवज्ञा गर्दै पुग्ने घुमन्तेको कमी छैन । कहिलेकाहीं प्रहरीले नै भिडलाई तित्तरबित्तर पार्नुपर्ने स्थिति पनि सिर्जना हुन्छ । तर, पनि म्याग्दे गाउँपालिका ५ को थाब्दी झरनामा आन्तरिक पर्यटकको कमी हुँदैन । थाब्दी झरनाले पछिल्लो समय पर्यटकलाई लोभ्याउन सफल भएको हो । कान्छी बाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटनको गन्तव्य बनेको छ । झरनाको दृश्य नियाल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको छ ।
३ वर्षदेखि चर्चामा आएको झर नामा यो वर्ष झनै पर्यटक वृद्धि भएको स्थानीय अमृता भट्टराई बताउँछिन् । पर्यटक बढ्नुको श्रेय उनी सामाजिक सञ्जाललाई दिन्छिन् । उनी भन्छिन्, ‘टिकटकले त भाइरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ । र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।’
शनिबार झरनामा आउने पर्यटकको भिडभाड हुने उनले उल्लेख गरिन् । उनका अनुसार तनहुँका विभिन्न स्थानबाट पर्यटक झरनामा घुम्न आउँछन् । छिमेकी जिल्लाबाट आउनेको संख्या पनि कम छैन । युवायुवतीको बढी आउने भट्टराईले बताइन् । झरना क्षेत्रमा पिकनिक स्पट, भ्यु प्वाइन्ट, वाटरफल बनाएमा अझै पर्यटक बढ्ने उनको सुझाव छ । जनप्रतिनिधि आएपछि झरनाको विकासमा चासो दिएको वडाध्यक्ष शिवबहादुर आले बताउँछन् । ‘झरना पहिल्यैदेखि नै हो । कसैको चासो नहुदाँ ओझेलमा थियो । हामी जनप्रतिनिधि आएपछि चर्चामा आएको छ’, उनको दाबी छ । झरनामा आउने पर्यटकको सुविधाका लागी गाउँपालिकाको लगानीमा प्रतीक्षालय, माछापोखरी, पदमार्ग निर्माणसँगै खानेपानीको व्यवस्थापन गरेको उनले जनाए । पदमार्गमा भने यही असारमा आएको बाढीले क्षति पु¥याएको छ । कान्छी बाराही मन्दिर र झरनाको वृहत्तर विकासका लागि गुरुयोजना बनाएको वडाध्यक्ष आलेले बताए । ‘असाध्यै आकर्षक गन्तव्य बनाउने गरी डिपिआर बनेको छ । डिपिआर अनुसार पुर्वाधार थप्न प्रदेश सरकारसँग योजना माग्नेछौं’, उनले भने । पृथ्वी राजमार्गको खैरे नीटार बजारबाट ४ किलोमिटरको यात्रामा थाब्दी झरनामा पुगिन्छ । झरनाको खोँचसम्म नै २ पांग्रे सवारी साधानमा पुग्न सकिन्छ । ४ पांग्रे सवारीमा जानेहरु भने झरनासम्म पुग्न ५ मिनेटको पै दलयात्रा गर्नुपर्छ ।





