बागलुङ, ६ साउन– नेपाली कांग्रेस बागलुङले संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा बागलुङ जिल्लाभर बिभिन्न कार्यक्रम गरेर मनाएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृतिमा बुधबार बागलुङमा सरसफाइ, प्रवचन तथा स्वास्थ्य सामाग्री बितरणका काम समेत गरेको हो । बुधवार बागलुङ नगरपालिका–१ रामरेखामा रहेको वीपी स्मृति पार्क (उद्यान)मा सरसफाई तथा गोडमेल गरिएको थियो । बुधवारै जैमिनी नगरपालिकाको स्वास्थ्य शाखामा स्वास्थ्य सामाग्री बितरण र काठेखोलाको भीमसेन माबिमा सरसफाइ समेत गरेको हो ।
बानपा १ रामरेखामा निर्माणाधिन पार्कमा जिल्ला तथा केन्द्रिय तहका नेता तथा कार्यकर्ताले सरसफाइ पछि प्रवचन कार्यक्रम गरेर वीपीलाई सम्झेका थिए । बागलुङ नगर समितिको आयोजनामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य शेरचनले वीपीले लोकतन्त्र र विधिको शासनकालागि खेलेको भूमिका अझै स्मरण योग्य रहेको बताइन् । उनले लोकतन्त्रको रक्षाकालागि अहिले पनि विधिको शासन चाहिएको बताइन् ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, जिल्ला पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पूर्व सभापति प्रकाश शर्मा पौडेल, महिला संघकी केन्द्रीय सदस्य पावर्ती आचार्य लगायतले बोलेका थिए । कांग्रेस नगरसभापति महेन्द्र आचार्यको अध्यक्षता, शम्भु आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताले निर्माणाधिन वीपी पार्कको सरसफाइ गरेका थिए । गण्डकी प्रदेश सरकार तथा डिभिजन वन कार्यालय मार्फत १५ लाख रुपैयाँको लागतमा वीपी पार्क निर्माण गरिएको हो । उक्त पार्क निर्माण सक्न थप डेढलाख उपभोक्ताले लगानी गरेको आचार्यले जानकारी दिए । उक्त पार्कमा वीपीको शालिक र भ्यु प्वाइन्ट बनाउने योजना समेत छ । यहाँ झण्डै १ सय ५० जना बस्न मिल्ने प्याराफिट मसेत बनाइएको छ ।





