तनहुँ, ७ साउन– शुक्लागण्डकी नगरपालिकाले हालसम्म ६ सय ६२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सबैभन्दा बढी अति अशक्त ‘ख’ वर्गको २ सय ६७ जनाले प्राप्त गरेको सामाजिक विकास शाखाले जनाएको छ ।
१ सय ६७ जना पुर्ण अशक्त भएकाले ‘क’ वर्गको, १ सय ४५ जना मध्यम अपांगता भएकाले ‘ग’ वर्गको परिचयपत्र लिएका छन् । ‘घ’ वर्गको परिचयपत्र लिने सामान्य अपांगता भएकाको संख्या ८२ रहेको शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले हरेक महिना परिचयपत्र वितरण शिविर सञ्चालन गर्दै आएको सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले बताइन् । यो साता पनि नगरपालिकामा शिविर चलाईएको थियो । शिविरबाट ८ जनाले परिचयपत्र लिएको उनले जानकारी दिइन् । उनका अनुसार ‘क’ र ‘ख’ वर्गको ३÷३ जनाले र ‘ग’ वर्गको २ जनाले परिचयपत्र पाए । नगरपालिकाले बनाएको कार्यविधिको अनुसार ढोर फुलबारी सहिद अस्पताल साँखेमा कार्यरत डाक्टर प्रतीक्षा आलेले शारीरिक अपांगता चेकजाँच गरेपछि परिचयपत्रको वर्ग निर्धारण गरी वितरण गरिएको हो ।
नगरपालिका सम्म आउन नसक्नेका लागी भने घरमै पुगेर परिचयपत्र दिने गरेको पोखरेल बताउँछिन् । ‘नगरपालिकामा महिनामा एक पटक शिविर गरेर दिन्छौं । नसक्ने अवस्था छ भने डाक्टर सहितको टोली घरमै पुगेर दिदै आईरहका छौं । जसरी हुन्छ परिचयपत्र लिनबाट कोही छुट्न हुदैन् भन्ने हाम्रो मान्यता हो’, उनले भनिन् ।
परिचयपत्र वितरणको जिम्मा स्थानिय तहले पाएपछि अपांगता भएकाहरुलाई परिचयपत्र लिन सहज भएको अपांगता समन्वय समिति शुक्लागण्डकीका सदस्य दामोदर रेग्मीले बताए । ‘परिचयपत्र लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यसले आर्थिक भार पनि कम हुने भयो’, उनले भने । अधिकारबाट सुसुचित नभएका पनि स्थानिय तहबाट परिचयपत्र वितरणले लाभन्वित भएका उनको भनाइ छ ।
स्थानीय तहमा जनप्रतिनिधी आउनुअगाडिसम्म जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयले अपांगता परिचय वितरण गर्दैैै आएको थियो । ३ वर्ष यता स्थानीय तहले नै परिचयपत्र वितरण गर्न थालेका छन् ।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार अपांगता भएका व्यक्तिहरूले स्थानीय तहबाट अपांगता परिचयपत्र पाउँछन् । ‘क’ र ‘ख’ वर्गको परिचयपत्र भएकालाई राज्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदछ । ‘ग’ र ‘घ’ वर्गकाले भने राज्यले प्रदान गर्ने सेवा सुविधामा कोटा प्रणालीको व्यवस्था गरेको छ ।





