पोखरा, ८ साउन– सक्रिय कोरोना संक्रमित संख्या घट्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले असार १४ देखि कास्कीमा जोरबिजोर प्रणालीमा सार्वजनिक गाडी चल्न दिने निर्णय ग¥यो । त्यसअघिसमेत गाडीबाहेक अन्य क्षेत्रमा निषेधाज्ञा आंशिक खुकुलो गरिसकेको थियो ।
प्रशासनले उक्त निर्णय गर्दाको दिन कास्की जिल्लाभर सक्रिय संक्रमितको संख्या जम्मा ५ सय ३२ थियो । केही निश्चित क्षेत्रबाहेक सम्पूर्ण क्षेत्र सञ्चालन हुन पाउने गरी प्रशासनले निर्णय गरेको थियो । शर्त थियो, ‘स्वास्थ्य मापदण्ड अपनाउने, भिडभाड नगर्ने ।’
निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भिडभाडमात्रै बढेको छैन, तोकिएको स्वास्थ्य मापदण्डसमेत अपनाइएको छैन । मुख्यबजार क्षेत्रमा बाक्लो चहलपहल छ भने सार्वजनिक स्थानमा पनि उस्तै भिडभाड देखिन्छ । निषेधाज्ञा खुकुलो भएसँगै घट्दो क्रममा रहेको कोरोना संक्रमणदर फेरि ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएको एक महिना नहुँदै कास्कीमा सक्रिय संक्रमितको संख्या दोब्बर भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार बिहीबारसम्म कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर १ हजार २६८ पुगेको छ । कोरोना मृतकको संख्यासमेत बढेर ४ सय ३९ जना पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामात्रै कास्कीमा २ सय ७४ जना संक्रमित थपिएका छन् । निर्देशनालयका तथ्यांकअनुसार कास्कीका ४ सय ६६ जनामा परीक्षण गर्दा ५० प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीमामात्रै नभई लकडाउन खुकुलो भएकै दिनदेखि प्रदेश भर सक्रिय संक्रमितको संख्यामासमेत वृद्धि भएको छ । निषेधाज्ञा खुकुलो गरेर सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको दिन गण्डकीमा २ हजार ७०६ जना सक्रिय संक्रमित थिए । तर, अहिले उक्त संख्या बढेर २ हजार ९२२ पुगेको छ ।
प्रदेश निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा बिहीबारसम्म सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् भने सबै भन्दा कम १० जना छन् । गण्डकीकै नवलपुर पूर्वमा ४ सय २८ जना सक्रिय संक्रमित छन् । गण्डकीमा हालसम्म १ हजार ४४ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।
स्वास्थ्य मापदण्डमा हेलचक्य्राइँ भो : निर्देशनालय
प्रदेश स्वास्थ्य निर्देशनालयले निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा संक्रमणदर उकालो लाग्न थालेको बताएको छ । निर्देशनालय प्रमुख खिमबहादुर खड्काले निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड पालनामा पनि कमी आएको बताए ।
‘निषेधाज्ञा खुकुलो भएपछि मास्क पनि लगाउन छाडिएको छ । घुलमिल उत्तिकै बढेको छ,’ प्रमुख खड्काले भने, ‘पछिल्लो समय खोप लगाइसकेको भनेर खुला हिँड्नाले पनि संक्रमण झनै बढेको देखिन्छ ।’
खड्काले आफूलाई कोरोना संक्रमणले नभेटेको र कोरोनाविरुद्धको खोप लगाएको भन्दै स्वास्थ्य मापदण्ड पालना नगरिदिँदा अरुलाई पनि समस्यामा पारेको बताए । ‘सतर्कता अपनाउनै पर्छ । नहुनेलाई पो ठीकै छ, हुनेलाई त यसले असर पारिहाल्छ भनेर बुझिदिनुप¥यो,’ उनले भने ।




