शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

व्यापारी विन्दुको राजनीतिक छलाङ !

व्यापारी विन्दुको राजनीतिक छलाङ !

मोटरसाइकल भाडामा दिने व्यवसायलाई बढाउँदै अंशुभरा नामक व्यवसायिक प्रतिष्ठान स्थापना गरेका विन्दुको राजनीतिक परीक्षा बल्ल सुरु भएको छ ।


  • ढोरपाटन सम्वाददाता
  • साउन ९ २०७८, शनिबार

पोखरा, ९ साउन– २०७१ देखि २०७३ सालसम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदासम्म विन्दुकुमार थापाको राजनीतिक वृत्तमा खासै परिचय थिएन । तर,अध्यक्षको कार्यकाल सकिँदा–नसकिँदै उनी नेपाली कांग्रेसको राजनीतिक वृत्तमा चर्चित भइसकेका थिए । यद्यपि, उनले कांग्रेसको क्रियाशिल सदस्यता लिएको धेरै भएको थिएन ।
नेपाल राष्ट्र बैंकको जागिरे जीवन, व्यापारीक छलाङ अनि रियलस्टेट क्षेत्र चम्केसँगै आकासिएको आर्थिक हैसियतलाई भरथेग गर्न उनीसँग कानूनी पृष्ठभूमि पनि रहेको थियो । अधिवक्तासमेत रहेका उनले राजनीतिमा आफूलाई स्थापित गर्दै लगे । स्थानीय निकायको निर्वाचनको क्रममा उनी नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरको मेयरको प्रत्यासी बने । तर, उनलाई टिकट भने दिइएन । लगत्तै प्रदेशको चुनाव लाग्यो ।
देशभर वाम गठबन्धनको लहर थियो । कास्की कांग्रेसको लागि उर्वर भूमि भएपनि चुनाव जित्न सजिलो थिएन । अझ, नेपाली कांग्रेसबाट तत्कालीन पोखराको उपमेयर भएका नरेशशंकर पालिखे पनि उनीसँगै टिकटको प्रतिष्पर्धामा थिए । तर, बाजी विन्दुकुमार थापाले मारे । पालिखेले बागी उम्देवारी दिएपनि विन्दुले हरेस खाएनन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका नेकपाका साझा उम्मेदवार राजकाजी गुरुङलाई उनले पराजीत गरे । कास्कीको सबै क्षेत्रमा कांग्रेसले पराजय भोग्दा विन्दुले बीऊ बचाइदिए । उनको राजनीतिक उचाइ झन उचो बन्यो ।
तत्कालीन प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश नामाकरण गराउने समितिका संयोजक थिए, उनी । प्रदेश सभासदको रुपमा ३ वर्षे कार्यकाल भने उनको औषत नै थियो । विशेष र शुन्य समयमा आफ्ना कुरा राख्न सधैँ अगाडि हुने विन्दुले प्रतिपक्षी सभासदको रुपमा आफूलाई परिस्कृत गर्दै लगे । तत्कालीन नेकपाको प्रचण्ड बहुमत भएको सदनमा विपक्षीले गर्ने पनि त्यही थियो । उनले सभासदको रुपमा पाएको तलब–भत्ता सामाजिक काममै लगाउने घोषणा गरे । त्यही अनुरुप जनताको घरदैलो चहारे र आउँदो चुनावमा कांग्रेस कास्कीको निर्विकल्प उम्मेदवारको रुपमा स्थापित गरे ।
उनलाई आउँदो कार्यकालमा पोखराको मेयर वा संघीय सांसदको उम्मेदवारको रुपमा हेर्न थालियो । तर, समय बदलियो । नेकपा विभाजनपछि १५ सिट रहेको कांग्रेस सरकार बनाउने ठाउँमा पुग्यो । गएको जेठ २९ गते कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बने । उनी मुख्यमन्त्री बन्नासाथ कांग्रेसभित्र मन्त्री बन्ने दौडधूप सुरु भयो । निर्वाचित त्यहीमाथि कास्कीकै सभासद भएकाले विन्दुको सम्भावना बढेर आयो । किनकि, यसअघिको मन्त्रीमण्डलमा कास्कीका मन्त्री थिएनन् भने कांग्रेसमा प्रत्यक्ष चुनाव जितेकाहरु ६ जना मात्रै थिए ।
तर, एकाएक कास्कीबाटै समानुपातिक सभासद रहेका कुुमार खड्का विनाविभागीय मन्त्रीको रुपमा सरकारमा गइदिए । कांग्रेसमा मन्त्री बन्ने आंकाक्षी धेरै थिए । कास्कीबाट कुमार मन्त्री भएसँगै विन्दुको सम्भावना घट्यो । पार्टी बैठकमा उनले असन्तुष्टि जनाएका खबरहरु बाहिर आए तर, विन्दुले हार मानेनन् ।
मन्त्रिपरिषद्मा सबै समानुपातिक सांसद मात्रै रहँदाको फाइदा विन्दुलाई भयो । त्यतिमात्र नभएर,पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्री शशांक कोइरालासँग पनि उत्तिकै राम्रो सम्बन्ध बनाएका विन्दुलाई दुबैको साथ मिल्यो ।
मन्त्रिपरिषद्मा कांग्रेसबाट तनहूँका डोबाटे विश्वकर्मालाई लैजाने अन्तिम तयारी हुँदा विन्दुको नाममा पार्टी सभापतिको ‘भिटो’ आयो । दलित समुुदायको प्रतिनिधित्व गर्ने डोबाटे पुराना कांग्रेसी हुन् । पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय भनेर चिनिने डोबाटेको नाम अन्तिम समयमा हटाइयो । विन्दुकुमार थापा कानून,संचार तथा प्रदेश मामिला मन्त्री बने ।
उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिए । मोटरसाइकल भाडामा दिने व्यवसायलाई बढाउँदै अंशुभरा नामक व्यवसायिक प्रतिष्ठान स्थापना गरेका विन्दुले आफूले पढेको कानून मन्त्रालयको जिम्मेवारीलाई कसरी न्याय गर्छन्, कामले नै देखाउने छ । व्यापारमा सफल उनको अब वास्तविक परीक्षा सुरु भएको छ । किनकि, कास्की कांग्रेसबाट संघमा मन्त्री भएकाहरुले दोस्रो पटक आफूलाई सफल बनाएको इतिहास छैन । भला, तारानाथ रानाभाट मन्त्रीपछि सभामुख भएकै किन नहुन् !

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->