नवलपुर/अवैध र भन्सार छली गरेर भित्रिने सामान मात्रै बेवारिसे अवस्थामा बरामद गर्ने नवलपुर प्रहरीले यसपटक भने ओसारपोसारमा संलग्न ब्यक्तिलाई सामान सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्वपश्चिम मुख्यमार्गबाट भन्सार छलेर ल्याउँदै गरेको ५ सय ९५ थान बिभिन्न कम्पनी र मोडलका मोवाईल फोन सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका– ८ का अर्जुन ढकाल र भरतपुर– २१ का ईन्द्रलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
प्रनाउ गिरीका अनुसार उनीहरुले प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको कारमा अवैध मोवाईल फोन ल्याएका हुन् । उनीहरुले मोवाईल भैरहवा नाकाबाट चितवन पुर्याएर त्यहाँबाट रिटेल मोवाईल पसलेहरुलाई बेच्ने उदेश्यले सामान ल्याएको खुलेको छ । गिरीका अनुसार उनीहरु स्वयं ब्यापारी हुन् ।
बरामद भएको सामान नेपाली बजार मुल्यका आधारमा मुल्यांकन गर्दा अन्दाजी ७८ लाख रुपैंया वराबरको रहेको प्रहरीले जनाएको छ । बरामद भएका सामान भन्सार कार्यालय पठाउने प्रक्रियामा रहेको जनाईएको छ ।
दक्षिणको साना–ठूला खुला नाकाबाट भन्सार छलेर नेपाल भित्रिने सामान र लागु औषध समेतको ओसारपोसारमा ट्रान्जिट–वेका रुपमा नवलपुर खण्डमा तस्कर सक्रिय हुँदा नवलपुर प्रहरीले निगरानीलाई कडा पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।





