पोखरा/ जेठको अन्तिमसम्म मनाङको तालगाउँको परिचय छुट्टै थियो । कञ्चन मस्र्याङ्दी नदी किनारको सुन्दर बस्ती । त्यसमाथि छङ्छङी बगेको झरना । हिमाली जिल्लाको तल्लो भेग भएर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो ।
तर, असार १ गतेदेखि ताल गाउँको परिचय फेरियो । मनसुनको सुरुआतीमै आएको अविरल वर्षाले मस्र्याङ्दी उर्लियो । बस्तीमा मस्र्याङ्दी घुसेपछि तालगाउँ बगर बन्यो, बस्तीवासी लालापाखा लागे ।
बाढी, पहिरोले गाउँ नै डुबानमा परेको करिब २ महिना बित्न लागिसक्दा पनि त्यहाँ फर्किन सक्ने स्थिति छैन । सुन्दर नासों गाउँपालिका १ मा पर्ने उक्त बस्तीलाई गाउँपालिकाले नै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउँदै थियो । तर, अहिले खण्डहर बनेको छ ।
‘यहाँका गाउँलेहरु जसोतसो भागेर ज्यान जोगाए, कसैको उद्धार गरियो । गाउँको अनुहारै फेरियो,’ तालगाउँ वडाध्यक्ष झलकबहादुर गुरुङ सुनिन्छन्, ‘गाउँमा बस्न सक्ने स्थिति अब बन्दैन होला । गाउँलेहरु उँचो ठाउँमा टेन्ट टाँगेर डुबेको गाउँ हेर्दै बस्या’छन् ।’
असारको पहिलो साता भारी मनसुनी वर्षाले मनाङ जिल्लालाई ठूलो क्षति पु¥यायो । बाढी, पहिरोले मानवीय क्षति नपु¥याए पनि अर्बौंको भौतिक क्षति पु¥याएको छ । बाढी, पहिरोले क्षति पु¥याएपछि जिल्लाको सडक सम्पर्कामात्रै टुटेन, लघुविद्युतमा असर पु¥याउँदा अहिलेसम्म जिल्ला अँध्यारै छ ।
मनाङमा बाढी, पहिरोले बितण्डा मच्चाएको करिब २ महिना बितिसक्दा पनि अहिलेसम्म पीडितको न सुरक्षित व्यवस्थापन भएको छ न त राहत नै । बरु, दैनिकजसो मनाङका आकासमा हेली उड्छन् । तर, पीडितलाई प्रत्यक्ष राहत पुग्दैन । उनीहरुको गुनासो छ, ‘आकासभरि हेली देखिन्छन् । तर, उनीहरुले ल्याएको राहत हामीसम्म आइपुग्दैन ।’
जिल्ला प्रशासन कार्यालयका अनुसार असार १ गतेदेखि मात्रै मनाङमा ३४ पटक हेलिकप्टर पुगेको छ । ती हेली पनि सरकारी तवरबाट गएकामात्रै हुन् । ‘निषेधित क्षेत्रमा जाँदामात्रै निजी हेलीको गन्ती गर्ने हो । नत्र यहाँ आउने सरकारी हेलीकोमात्रै गन्ती गरेका हौं,’ मनाङ सिडिओ विष्णु लामिछाने भन्छन् ।
सिडिओ लामिछानेका अनुसार सरकारीतर्फबाट ३४ हेलीमध्ये ५ पटकमात्रै उद्धारका लागि गएका थिए । बाँकी सबै उद्धार, निरीक्षण र अनुगमनका नाममा गएका हुन् । बाढी, पहिरोले बितन्डा मच्चाएको ३ दिनपछिमात्रै प्रदेश सरकारको उद्धार टोली मनाङ पुगेको थियो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित गएको टोली उद्धार गर्न भन्दै गएपनि प्रभावित क्षेत्रमै नपुगी फर्किएको थियो । त्यसयता प्रदेश, केन्द्र सांसद तथा जनप्रतिनिधि पनि अनुगमन, राहत, अनुगमनका लागि पुगेका छन् । शनिबारमात्रै ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहितको टोली पुगेको थियो ।
तर, ती हेलीमा पुगेका मन्त्रीदेखि सांसदसम्मले आश्वासनमात्रै बाँडेर फर्किने गरेको बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । दैनिकजसो राहत र निरीक्षण भन्दै हेली आए पनि आफूहरुको ठाउँमा नआइपुग्दै हेली जिल्ला सदरमुकाम चामेबजारबाटै फर्किने गरेको सुनाउँछन्, तालगाउँका वडाध्यक्ष गुरुङ ।
‘गाउँपालिकाले दिएको १०÷१२ बोरा चामल र टेन्टको भरमा बाढी पीडितहरु बसिराख्या’छन् । हेली आ’को आई छ । तर, अरु राहत आएको छैन,’ भन्छन्, ‘मन्त्रीहरु आउँछन् । ताल गाउँ नआइपुग्दै सबैको हेली बिग्रिन्छ । खै त्यहाँ के हुन्छ, हुन्छ ।’
तालगाउँको जोखिम नघटेकाले गाउँलेले अन्यत्र सुरक्षित स्थानान्तरण गर्नुपर्ने माग राख्दै आएपनि सुनुवाइमा ढिलाइ हुँदा सबै ‘तित्तरबित्तर’ भइसकेको वडाध्यक्ष गुरुङ सुनाउँछन् । ‘सबैले नयाँ ठाउँ सर्ने भनेका छन् । तर, अहिले त सबै लालापाखा लागिसके, गाउँ नै तित्तरवित्तर भइसक्यो । बैठकमा आउने पनि कोही भएनन्,’ उनी भन्छन् ।
बाढी, पहिरो मनाङकै चामे गाउँपालिकाको कार्यालयलाई नै क्षति पु¥याएको थियो । कार्यालयलाई क्षति पु¥याएपछि अहिले लमजुङको बेंशीसहरमा अस्थायी कार्यालय खोलेर प्रशासनिक कामकारबाही अघि बढाएको पालिका उपाध्यक्ष मणिन्द्रजङ गुरुङले जानकारी दिए ।
‘बाढी, पहिरोले बाटोघाटो पुरै अवरुद्ध भयो । ठूला बाटोहरुको अवस्था उस्तै छ । तिमाङदेखि गाउँपालिका जोड्ने बाटो भने बल्लबल्ल खुलेको छ,’ उपाध्यक्ष गुरुङ भन्छन्, ‘पावर हाउस नै उडाएपछि बिजुली छैन । कहिले बन्ने थाहै छैन ।’
उपाध्यक्ष गुरुङले प्रदेश र केन्द्रीय सरकार राहत नआएपनि देशविदेशमा रहेका मनाङबासीबाट भने राहत आइरहेको जानकारी दिए । ‘यतिबेला विदेशमा बस्नेहरुले धेरै माया गर्नुभा’छ । उहाँहरुले दिनदिनै राहत पठाइराख्नु भा’छ । त्यसले पनि हामीलाई अलि सहज भएको छ,’ उनले भने । प्रदेश र केन्द्र सरकारबाट बाट २५ सय किलोवाट बराबरको सोलार आए पनि वितरण गर्नै समस्या भइरहेको जानकारी दिए ।
बाढी, पहिरोबाट मनाङमा १ हजार बढी परिवार विस्थापित भएका थिए । तीमध्ये केही जोखिम केही टरेपछि आफ्नो बासस्थान फर्किएका छन् भने केही अझै जिल्ला जिल्ला कारागार भवनमै आश्रय लिइरहेका छन् ।
‘सुरुमा हामीले कारागार भवनमा ३ सयभन्दा बढीलाई राखेका थियौं । अवस्था केही सुध्रिएपछि केही फर्किसक्नु भयो,’ सिडिओ विष्णु लामिछानेले भने, ‘हिजो (शनिबार)सम्म अझै त्यहाँ ७३ जना आश्रय लिइरहनु भएको छ ।’
तत्काल काम गर्न नयाँ आर्थिक वर्षले असर पा¥यो ः सिडिओ लामिछाने
जिल्ला प्रशासन कार्यालय, मनाङ प्रमुख विष्णु लामिछानेले आर्थिक वर्षको फेरबदलले विपद् पीडितको पुनस्र्थापनामा ढिलाइ भएको बताए । ‘यहाँ तत्कालै एक्सनमा जान सकिए राम्रो हुन्थ्यो भन्ने हो । तर, नयाँ आर्थिक वर्ष भएकाले केही ढिलाइ भएको पक्का हो,’ उनले भने ।
सिडिओ लामिछानेले बाढी, पहिरोबाट वास्तविक पीडितको तथ्यांक संकलनका लागि स्थानीय तहलाई जानकारी दिइसकेको सुनाए । उनले भने, ‘वास्तविक विस्थापितहरुबारे अहिलेसम्मको स्थिति र कार्यविधिसहितको तथ्यांक छिटो पठाउन आग्रह गरेका छौैं ।’
उनले तालगाउँवासीलाई कसरी व्यवस्थित गर्नेबारे छलफल भइरहेको र गृहमन्त्रालयलाईसमेत प्रतिवेदन पठाइसकेको जानकारी दिए । ‘तालगाउँवासीलाई के गर्ने भन्नेबारे अध्ययन गरेर गृह सचिवलाई प्रतिवेदन पठाइसकेका छौं । त्यहाँबाट सेनाको टोली आएर अध्ययन गरिसकेको छ,’ उनले भने, ‘त्यो प्रतिवेदन आएपछि योजना बन्छ ।’
लामिछानेले मस्र्यांदी पुल खोलेर केही धेरै जोखिम घटेको र चामेदेखि तिमाङसम्मको पहिरो हटाएर बाटो खुल्दा जिल्लावासीलाई राहत पुगेको दाबी गरे । ‘विभिन्न खोलामाहरुमा तत्कालका लागि अस्थायी काठेपुल पनि बनाइरहेका छौं । यसले पनि ठूलो राहत मिल्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।




