पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले संरक्षणमुखी विकास नै अहिलेको आवश्यकता भएको बताएका छन् ।
४७ औं भु संरक्षण दिवसका अवसरमा शुभकामना दिँदै थापाले बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्नको लागि अव्यवस्थित नदी उत्खनन, अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणालाई पच्छ्याउनुपर्नेमा जोड दिए ।
जथाभावी संचालन गरिने विकास निर्माणका कार्यहरु र वनजंगलको विनासका कारण क्षति बढेको बताउँदै उनले तत्काल यी कार्यहरु रोकिनुपर्ने बताए । ‘नेपालको भिरालो भूबनोटमा बसोबास गर्ने अधिकांश जनताको जीवन प्रणालीसँग जलाधारीय श्रोतहरू अर्थात् जमिन, जल, जंगल, जनावर र जनताको संरक्षण र व्यवस्थापन नै जलाधार व्यवस्थापन हो’,मन्त्री थापाद्धारा जारी सन्देशमा भनिएको छ,‘संरक्षणमुखी विकास नेपालको दिगो विकासको आधार भएकोले विकाश र संरक्षणलाई समनान्तर रुपमा अगाडि बढाउन आग्रह गर्दछु ।’
मन्त्री थापाले आइतबार वृहद जलाधार व्यवस्थापन केन्द्र कास्की, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहूँ र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सहभागिता पनि जनाए ।
यो वर्षको बर्खा सुरु भएयता आएको बाढीपहिरोले देशभर १०५ जनाले ज्यान गुमाए । बाढीपहिरोले गण्डकी प्रदेशलाई पनि छाडेन । यहाँका मनाङ, गोर्खा, लमजुङ बाढीले सबैभन्दा बढी प्रभावित भए । त्यसो त, गतवर्ष गण्डकीमा बाढीपहिरोका कारण १५१ जनाले ज्यान गुमाएका थिए भने २४ जना अझै वेपत्ता छन् ।





