
पोखरा/मनसुनको सुरुआती समयमै आएको बाढी, पहिरोले मनाङको नासों गाउँपालिका भवन नै पूर्ण रुपमा क्षति पु¥याएपछि कार्यालय नै सर्नुप¥यो । आफ्नो क्षेत्रलाई नै बाढी, पहिरोले ‘अपायक’ र सेवा प्रवाह गर्न असमर्थ बनाइदिपछि जिल्ला नै छोडेर अर्को जिल्लाकै शरणमा पुग्नुप¥यो ।
गाउँपालिकाले अहिले लमजुङको बेंशीसहरमा अस्थायी गाउँपालिका कार्यालय राखेर सेवा दिन थालेको करिब २ महिना हुन लागिसकेको छ । यता, गाउँमा जोखिम टरेको छैन । लामो समयपछि मस्र्याङ्दीको बहाव केही घटेको त छ । तर, गाउँ फर्किने सबै बाटाहरु क्षतिग्रस्त छन् । हिँड्न सम्भवै छैन ।
बाढी, पहिरोले सडक, विद्युत सञ्चारमा अवरोध पु¥याउँदा तत्काल फर्किन पनि सम्भव नभएको सुनाउँछन् पालिका अध्यक्ष चन्द्र घले । ‘आर्थिक वर्ष अन्त्य हुनेबेलै मस्र्याङ्दी उर्लेर सबै बगायो । फेरि केके योजना मिलाउनुपर्ने हुन्छ । भुक्तानी गर्नुपर्ने हुन्छ, त्यही कारणले बेंशीसहर झरेर अस्थायी कार्यालय खोलेर सबै काम ग¥यौं,’ अध्यक्ष घले भन्छन् ।
बेंशीसहरको अस्थायी कार्यालय साउन ३० सम्मका लागिमात्रै राख्ने भनिएकाले अब गाउँतिरै फर्किने योजना छ । तर, आफ्नै पालिका फर्केर पनि कहाँ कार्यालय राख्ने ? टुंगो छै । ‘पहिला कार्यालय भाकै ठाउँमा राख्न अब त सम्भव भएन । त्यही धारापानी (वडा ३) तिर राख्ने कि भन्ने कुरा भइराख्या’छ,’घले भन्छन्, ‘यहाँ ल्याएका सामान फेरि कसरी लैजाने अर्को तनावको कुरा छ ।’
बाढी, पहिरोले गाउँपालिकासम्म पुग्ने बाटा, विजुली पोलमा पूर्ण रुपमा क्षति पु¥याएपछि सबैभन्दा ठूलो समस्या भोग्नु परेको घलेले सुनाए । ‘गाउँमा गाउँपालिकाको कार्यालय ल्याएर पनि अहिले बिजुली छैन । सबैभन्दा बढी चाहिने मोबाइल नेटवर्क नै हो । अहिले त्यही छैन,’ उनी भन्छन् । नेपाल टेलिकमले चासो नदिँदा लामो समयसम्म आफूहरु सञ्चारविहीन बन्न पुगेको उनको आरोप छ ।
जोखिम मोलेर तुइन यात्रा
बाढी, पहिरोले सबै बाटाहरुमा पूर्ण क्षति पु¥याएपछि अहिले एक गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था छैन । मस्र्याङ्दीले छुट्याएका नासों ८, ताचैं गाउँ पुग्न त झनै समस्या छ । बाढीले पुलहरु नै बगाइदिएपछि गाउँ आउजाउ गर्न स्थानीयले ज्यान जोखिममा राखेर तुइनको सहारा लिन बाध्य छन् ।
करिब ४ वर्ष अघि मनाङमा निर्माणाधीन माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाले उक्त तुइन बनाएको थियो । तुइन मानव ओसारपसारका लागि नभई आयोजनाको निर्माण सामाग्री ढुवानी गर्न बनाइएको थियो । जुन अहिले जीण भइसकेको छ ।
सामान ओसार्न बनेको तुइनमा बाध्यतावश अहिले स्थानीयले जोखिम मोलेरै भए पनि आउजायउ गर्नु परेको अध्यक्ष घलेको सुनाउँछन् । ‘कतिबेला, कहाँ के हुने हो थाहै छैन । कहिले नट फुस्किन्छ । कहिले तुइन बीचमै अड्किन्छ,’ उनी भन्छन्, ‘यो उनीहरुको रहर होइन । बाध्यता आएपछि के गर्नु र अरु ?’ अध्यक्ष घले आधा घन्टा पनि नलाग्ने ठाउँमा पुग्न पनि अहिले ४ घन्टाभन्दा बढी समय लाग्ने गरेको बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुखको नेतृत्वमा असार २५ देखि २९ गतेसम्म विभिन्न पालिकामा स्थलगत निरीक्षण पछि बाढी पहिरोले पारेको क्षति प्रतिवेदन तयार पारेको छ । गृह मन्त्रालयमा बुझाइएको उक्त प्रतिवेदनमा जिल्लाभरका १७ झोलुंगे पुलमा क्षति पु¥याएको उल्लेख छ ।
ती सबै पुलमध्ये नासों गाउँपालिकाकामात्रै ११ वटा पुलमा क्षति पुगेका छन् । नासोंका ७ वटा पुल फेरि बनाउनुपर्ने गरी पूर्ण रुपमा क्षति पुगेको छ भने ४ वटा पुल मर्मत गर्नुपर्ने उक्त प्रतिवेदनमा उल्लेख छ ।
‘दोकान रित्तियो, राहतले कति दिन धान्छ ?’
गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरुमा बाढीले क्षति पु¥याएपछि नासों अहिले सडक सञ्चारविहीन छ । सडक यातायात पूर्ण रुपमा ठप्प हुँदा गाउँमा खाद्यान्न अभाव सुरु हुन थालिसकेको अध्यक्ष गुरुङ सुनाउँछन् ।
‘एउटा खच्चड हिँड्ने बाटोसम्म बनाउन सकियो भने धेरै सजिलो हुन्थ्यो । अहिले त गाउँमा किन्छु भन्दा पनि केही पाइँदैन । दोकान सबै रित्तिए,’ उनी भन्छन्, ‘अलिअलिपाएको राहतले गुजारा चलाउँदै छौं । कति दिन धानिएला र ?’




