
कावासोती /गत असार १ गतेको वर्षाका कारण नवलपुरकोे कावासोती स्थित केरुंगे खोलामा आएको बाढीले पुलमा क्षति पु¥यायो । तर, अझैसम्म पनि मर्मत हुन नसक्दा जोखिम र त्रासैत्रासमा यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ ।
केरुंगे खोलाको तिन वटा पुलमा क्षति पुगेको थियो । जसमध्ये २ वटा पुल भर्खर सम्पन्न भएर आउजाउसुरु गरिएको थियो । भत्किएकामध्ये एउटा निर्माधाधीन पुल हो । कावासोती ५ र ४ वडाको हसौरा जोड्ने पुलको छेउमा राखिएको बेससहितको तटबन्ध भासिएर धराप बनेको छ ।
दैनिक सयौं सवारी यसै पुलबाट वारपार गर्ने गर्दछन् । तर, करिब२ महिना बित्न लाग्दा पनि मर्मतमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय बताउँछन् । स्थानीय गोविन्द पाण्डेले दिनरात कामले यसै पुलबाट हिँड्नुपर्ने अवस्थामा कुन दिन ग्राभेल सबै भासिएर जनधनको क्षति पु¥याउने हो भन्ने चिन्ताले सताउने गरेको बताए । ‘यहाँ दुईतर्फी रुपमा आवतजावत गर्न समस्या भएको छ,’ उनले भने ।
स्थानीयले नै त्यता नहिँड्न संकेत स्वरुप पुलको छेउ भत्किएतिर पुल र सडकको आधा भाग ढुंगाले घेरेर राखेका छन् । पाण्डेले निर्माण व्यवसायीसँग कुरा राखेपनि मर्मतमा चासो नदिएको गुनासो गरे ।
पुल निर्माणको काम हेर्दै आएका इन्जिनियर विष्णु खनालले छिट्टै मर्मत गर्ने बताए । निर्माण व्यवसायीसँग कुरा गर्दाबिमाको विषयले केही ढिलाइभएको उनी बताउँछन् । उनले कावासोती ३ अठ्ठाईस बिगाहा र वडा ४ हसौरा जोड्ने निर्माणाधीन पक्की पुलको काम भने तत्काल नहुने बताए । ‘निर्माणाधीन पुलको बीच भागमा सेटिङ भत्किएकोले वर्षा रोकिएपछि काम हुनेछ,’ उनले भने ।
यस्तै कावासोती १ र हुप्सेकोट ४ शंखदेव जोड्ने पुलको बेस ग्याविनमाभएको क्षतिको मर्मत तत्कालै गरिने जनाइएको छ । लामो समयसम्म अवरुद्ध बनेको तनहुँ र नवलपुर जोड्ने पहाडी गाउँपालिका बौदीकालीको कालीगण्डकी माथीको डेढगाउँ पुल मर्मतपछि अहिले सञ्चालनमा आएको छ । लामो समय पुल बन्द हुँदा सास्ती भोगेका नवलपुरको पहाडी गाउँपालिका बौदीकाली र बुलिङटारबासी नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुल सञ्चालनमा आएपछि अहिले सहज महशुस गरेका छन्
बौदीकाली २ र ५ जोड्ने निरन्दी खोलामा बन्दै गरेको पुलमा समेत बाढीले क्षति पुगेको थियो । बौदीकाली १ र २ जोड्ने बौदीखोलामामा आएको बढीले पक्की पुल बगाएको थियो । यी दुई पुल पूर्वाधार कार्यालय नवलपुरमार्फत् निर्माण गरिएका पुल हुन् ।
पूर्वाधार कार्यालय प्रमुख रवीन्द्र तिवारीका अनुसार बौदीखोलाको पुलमा करिब २० लाख र निरन्दी खोलाको पुलमा करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । यी पुल निर्माण गर्ने काम अब वर्षा रोकिएपछि मात्रै हुने प्रमुख तिवारीले बताए ।





