बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मिनी ग्रेटवाल थानीमाईमा बन्दीपुरको कार्यापालिका बैठक

मिनी ग्रेटवाल थानीमाईमा बन्दीपुरको कार्यापालिका बैठक

मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) को प्रचारप्रसार गर्न ८९ औँ कार्यपालिका बैठक बसेको हो ।


  • विनोद ढुंगाना
  • साउन ३१ २०७८, आइतबार

तनहुँ/ बन्दीपुर गाउँपालिकाको कार्यापालिका बैठक थानीमाई डाँडामा बसेको छ । बन्दीपुर–२ मा पर्ने थानीमाई डाँडा ऐतिहासिक थलो हो । विश्वप्रसिद्ध चिनको ग्रेटवालको झल्को दिनेगरी गाउँपालिकाले निर्माण थालेको मणिमुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल) को प्रवेशविन्दु पनि थानीमाई डाँडा हो ।

मणिमुकुन्देश्वरी पर्खाल ‐मिनी ग्रेटवाल) को प्रचारप्रसार गर्न थानीमाई डाँडामा ८९ औँ कार्यपालिका बैठक बसेको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । ‘ऐतिहासिक र पर्यटकीय थलोमा कार्यपालिका बैठक बसेर पर्यटन प्रर्बद्धन गर्ने निर्णय गरेका छौँ । यसपाली थानीमाईमा बस्यौँ । अबको बैठक अर्को वडाको कुनै महत्वपुर्ण ठाउँमा बस्छौँ’, गाउँपालिका अध्यक्ष थापाले भने । बैठकले जिर्ण अवस्थामा पुगेको थानीमाईको मन्दिर पुननिर्माणसंगै पुर्वाधार थप गर्ने निर्णय गरेको उनले बताए ।

कार्यापालिका बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष थापाले जनाए । गत असार १७ गते घरमाथीबाट खसेको पहिरोमा परी बन्दीपुर–२ तामुङकी ७२ वर्षीया हरिमाया सार्की र करिब ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको थियो ।
बाढी पहिरोले घर पुर्ण रुपमा क्षति भएकालाई पनि गाउँपालिकाले राहतमा ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ । घरमा आंशिक क्षति भएकालाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । गाउँपालिकामा हालसम्म ३१ घर पुर्ण क्षति भएका छन् । ८१ घरमा आशिंक क्षति पुगेको गाउँपालिकाले जनाएको छ । विपद व्यवस्थापनका लागी २ सय ५० थान जाली खरिद गर्ने निर्णय समेत गरिएको छ ।
बन्दीपुर गाउँपालिका–१ जामुनेमा निर्माण प्रस्ताव गरिएको फोहोर मैला संकलन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन‐डिपिआर) तयार पार्ने र ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न नदीको घाट खुलाउने निर्णय समेत शुक्रबार बसेको बैठकले गरेको छ ।

थानीमाई बन्दीपुर घुम्न आएका पर्यटकले सुर्योदय र सुर्यास्त अवलोकन गर्ने विन्दु हो । थानीमाई डाँडादेखी १४ सय मिटरको दुरीमा मिनी ग्रेटवाल निर्माण भएको छ । २ बर्ष पहिलोदेखी निर्माण थालिएको मिनी ग्रेटवालमा गाउँपालिकाले हालसम्म १ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । थानीमाईदेखी मणिमुकन्देश्वरी डाँडासम्म करिब ३ किलोमिटरमा मिनी ग्रेटवाल निर्माण हुने गाउँपालिका उपाध्यक्ष करुण गुरुङले जानकारी दिईन् ।
यो बर्ष निर्माण सक्ने लक्ष्य गाउँपालिकाको छ । ५ करोड रुपैयाँमा हालै मिनी ग्रेटवाल निर्माणका लागी टेन्डर आह्वान गरिएको छ । उपाध्यक्ष गुरुङका अनुसार चालु बर्षको बजेटमा मिनी ग्रेटवाललाई गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघिय सरकारले ३ करोड ५० लाख रुपैयाँ विजियोजन गरेको छ । सुरुमा संघिय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेपनि पछि फेरी रकम घटाएको हो ।

पुर्वाधार थप्दै पर्यटकको बसाई लम्ब्याउने निती गाउँपालिकाले लिएको उपाध्यक्ष गुरुङले बताईन् । डुम्रेदेखी बन्दीपुरसम्म केबलकार निर्माणधिन छ । निजी कम्पनीले निर्माण गरिरहेको केबुलकारमा गाउँपालिकाबासी र गाउँपालिकाले पनि लगानी गरेका छन् । साहसिक पर्यटक भित्र्याउन शिसाको दृश्यावलोकन केन्द्र, स्काई ग्लास ब्रिज, जिप लाईन निर्माण गर्ने योजनामा गाउँपालिका रहेको उनले बताईन् । भक्तपुरे शैलीमा बनेका पुराना घर र शान्त बन्दीपुर बजार यहाँको प्रमुख आकर्षण रहेको छ । गाउँपालिकाले बन्दीपुर बजारसंगै पर्यटकीय सम्भावना बोकेका स्थानको प्रर्बद्धन र पुर्वाधार बिकासमा जोड दिएको छ ।

२०७६ को बैशाख दोस्रो साता बन्दीपुरको ४१ औँ कार्यपालिका बैठक दक्षिण एसियाकै लामो दाबी गरिएको सिद्ध गुफामा बसेको थियो । पर्यटन प्रर्बद्धनका लागी पर्यटकिय स्थलमा बसेको उक्त कार्यपालिका बैठक तनहुँका स्थानिय तहमा नौलो प्रयोग थियो । त्यसपछि जिल्लाको व्यास नगरपालिकाको कार्यपालिका बैठक भाईरल मानहुँकोट डाँडोमा उक्लिएर बस्यो । शुक्लागण्डकी नगरपालिकाले पनि थप्रेक, दगाम, कालिम¥याङमा पुगेर बैठक गरेको थियो । सबै वडाको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका स्थलमा कार्यपालिका बैठक बस्ने निर्णय गरेपनि दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणले शुक्लागण्डकीलाई रोकेको छ । भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाले पनि पर्यटन प्रर्बद्धनका लागी धार्मिक तथा पर्यटकीय स्थलमा कार्यपालिका बैठक बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->