बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वाल्मिकी आश्रम पुग्न नारायणीमा झोलुंगे पुल

वाल्मिकी आश्रम पुग्न नारायणीमा झोलुंगे पुल


  • खगेन्द्र पराजुली
  • भाद्र २ २०७८, बुधबार

नवलपुर/ त्रिवेणी पारि नेपाली भूमिमै रहेको धार्मिकस्थल वाल्मिकी आश्रम पुग्न भारतीय बाटो भएर जानुपर्ने बाध्यता छ । निर्माणाधीन अवस्थामा रहेको झोलुंगे पुल बनेपछि यो बाध्यता हट्ने भएको छ ।
धार्मिक एवं पौराणिक क्षेत्र वाल्मिकी आश्रम चितवनको माडी नगरपालिका १ मा पर्ने भएपनि नवलपुरतर्फ त्रिवेणीबाट डुंगामा नारायणी पार गरेर वा त्रिवेणी नाकाबाटै भारतको बाटो भएर पुग्नुपर्ने हुन्छ ।

चितवनबाट सडक सञ्जालले जोड्न सकिने अवस्था नभएकाले र त्रिवेणीबाट थोरै पैदल यात्रामा पुग्न सकिने भएकाले दर्शनार्थी–भक्तजन तथा धार्मिक पर्यटक कष्ट सहेरै पनि नारायणी पार गरेर वा भारतीय भूमि हुँदै यहाँ पुग्ने गर्दछन् ।
आश्रम पुगेर फर्कनेहरुले त्यहाँ पुगेपछि आनन्द आउने भएपनि जोखिम मोलेर डुंगामा नारायणी पार गर्नुपर्दा र भारतीय भूमि प्रयोग गरेर जाँदा भारतीय प्रहरी र सेनाको ज्यादती सहनुपर्ने, उनीहरुले धेरै दुःख दिने हुँदा फेरिफेरि जाने चाहना भएपनि जान मन नलाग्ने अनुभव सुनाउँछन् ।

भारततर्फबाट आश्रम पुग्न भारतीय जंगलको बाटो भएर जानुपर्ने हुन्छ । उक्त जंगल बाघ संरक्षित क्षेत्र भएकाले भारतीय पक्षका सेना प्रहरीको ले अनावश्यक झन्झट बेहानुपर्ने अवस्था रहेको हो । तीर्थालुको झोला खानतलासी गर्नेदेखि पैसा माग्नेसम्मको हर्कत गर्ने गरेको उनीहरुको अनुभव छ ।
पछिल्लो समय त्रिवेणीमा रहेको गजेन्द्रमोक्ष धाम (त्रिवेणी मन्दिर) र यहाँको सिसमहलधार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले त्यहाँ पुगेपछि बाल्मिकी आश्रम पुग्ने चाहना भएपनि सहजै जान नसक्दा फर्कने गरेका प्रसस्त उदाहरण छन् ।

यसैले झोलुंगे पुलमार्फत् सडक सञ्जालसँग जोडेर वाल्मिकी आश्रमको विकास र पर्यटकको आगमनमा बृद्धि गर्ने उदेश्यले शुरु भएको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ र चितवनको माडी नगरपालिका१ जोड्ने नारायणी नदीमा निर्माण थालिएको झोलुंगे पुलको सिभिलको काम सम्पन्न भएको छ । नदी वारिपारि लठ्ठा तान्ने टावर निर्माणको काम सम्पन्न भएको हो । अब लठ्ठा तान्ने काम मात्रै बाँकी रहेको पुलका सब कन्ट्रयाक्टर तारा प्रसाद पौडेले बताए ।

पौडेलका अनुसार लठ्ठा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएकाले केही ढिला हुँदा पुलको काम सम्झौताको समयभित्र सपन्न गर्न ढिलाई भएको हो । ‘चैत महिनामै लठ्ठा उपलब्ध भएको भए काम सकेर हस्तान्तरणसमेत गरिसकिने थियो । पुल सम्पन्न गर्ने पछिल्लो सम्झौता जेठ मसान्तसम्मको हो । लठ्ठा तान्ने काम हुँदै गर्दा लगातारको वर्षाले नारायणीमा पानीको वहाव बढेका कारण काम रोकियो,’उनले भने ।
नदीकै बाटो भएर तान्नुपर्ने भएकाले पानीको वहाव र मात्रा घटेपछि लठ्ठातान्न सुरु गरिने हुँदा त्यसपछि काम थालेको १५ दिनभित्रमा सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिए । उनले दशैंसम्ममा नेपालकै बाटो भएर वाल्मिकी आश्रम पुग्न सकिने लक्ष्य लिएर काम सम्पन्न गर्ने बताए ।

५३५ मिटर लम्बाईको यस झोलुंगे पुल ज्वाइन्ट भेन्चर कम्पनी, रुविना–मना जेबी कन्ट्रक्सनले २ वर्ष अघि निर्माणको जिम्मा पाएका थिए । करिब ६ करोडको लागतमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले यहाँ झोलुंगे पुल बनाउने काम पटक–पटक रोकिँदै आएको थियो । कहिले निकुञ्ज प्रशासन त कहिले वन विभागबाट काम रोकिदा विगत ६ वर्ष अघिदेखि सुरु गरिएको झोलुंगे पुल निर्माणको काम पटक–पटक समय थप गर्दा पनि अझै सम्पन्न हुन नसकेको हो । वातावरणीय प्रभाव मुल्यांकन गरेर स्वीकृत भएपछि २ वर्ष अघिबाट फेरि सुरु गरिएको पुलको कामले अब भने पूर्णता पाउन लागेको छ ।
वाल्मिकी आश्रम धार्मिक तथा पौराणीक महत्व बोकेको क्षेत्र हो । हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको कथाका रचयिता महर्षि वाल्मिकीको तपस्याभूमि यही ठाउँ भएको जनविश्वास छ ।

रामायणको कथा अनुसार रामले सीतालाई त्यागेपछि वाल्मिकी । ऋषिको संरक्षणमा यहाँ लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लब,कुश जन्मेको जन्मथलो, लवकुशले घोडा बाँधेको ठाउँकथामा वर्णन गरे अनुसारकै भएकाले पौराणिक कालको बाल्मिकी आश्रमका रुपमा यस ठाउँको महत्व रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->