प्रदेश सरकारले लगानी सम्मेलनमार्फत् स्वदेशी र विदेशी लगानी भित्र्याउने घोषणा गरिरहँदा पोखराको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी फिर्ता भएको हो ।
पोखरा/ बहुराष्ट्रिय कम्पनी मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुप नेपालबाट बाहिरिने भएको छ । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालबाट लगानी फिर्ता लैजाने निर्णयसँगै यो समूह नेपालबाट बाहिरिन लागेको हो ।
शिक्षा क्षेत्रको बहुराष्ट्रिय कम्पनी मणिपालले पोखरा– ११,फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पताल करिब सवा ३ अर्बमा पोखरेली व्यवसायीहरुलाई सुम्पेको हो । पोखराका व्यावसायिक घराना बतास अर्गनाइजेसन तथा अटोवेज ग्रुुपले अस्पताल ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा खरिद गरेको पुष्टि गरेका छन् ।
टे«ड युनियनको नाममा हुने आन्दोलन तथा नेपाल सरकारको असहयोगका कारण बहुराष्ट्रिय कम्पनीले नेपालबाट लगानी फिर्ता लैजाने निर्णय गरेको हो । मणिपालमा पछिल्लो समय दैनिकजसो हड्ताल हुने गथ्र्यो भने अस्पतालले दिने सेवाको गुणस्तरबारे पनि बेलाबेला आवाज उठाइन्थ्यो ।
प्रदेश सरकारले लगानी सम्मेलनमार्फत् स्वदेशी र विदेशी लगानी भित्र्याउने तयारी गरिरहँदा पोखराको सबैभन्दा ठूलो लगानी फिर्ता भएको हो । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार आएलगत्तै सार्वजनिक गरिएको स्वेतपत्रमा ‘प्रदेश आवधिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल गर्न निजी क्षेत्रबाट कुल लगानीको ५८.१ प्रतिशत, सहकारी क्षेत्रबाट ४.४ प्रतिशत र सामुदायिक क्षेत्रबाट १.९ प्रतिशत लगानी हुने अपेक्षा गरिएपनि निजी क्षेत्र‘सशंकित’हुँदा लगानी नभएको’ जिकिर गरिएको थियो ।
सन् १९९२ अक्टोबर १८ मा नेपाल सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुप भारतबीच भएको सम्झौतापछि नेपालकै पहिलो निजी मेडिकल कलेजको रुपमा मणिपाल नेपाल भित्रिएको थियो ।
१९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यहाँ चिकित्साशास्त्रको अध्ययन सुरु भएको थियो । सन् १९९८ मा ७५० बेडको शिक्षण अस्पताल निर्माण गरेको कलेजले सन् २००१ मा एमबिबिएस तथा सन् २००५ बाट एमडीको अध्यापन संचालनमा ल्याएको थियो । अहिले मणिपाल कलेजमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ । यस अस्पतालले एमबिबिएस अध्यनका लागि बार्षिक १०० जना विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ । तीमध्ये २० प्रतशित नेपाली विद्यार्थीहरु छात्रवृत्तिमै पढ्छन् । अस्पताल संचालन गर्न मणिपाल समुहलाई सरकारले ४९ वर्षका लागि जग्गा उपलब्ध गराइएको थियो । १० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ । मुख्य अस्पताल भवन रहेको जग्गा मणिपालकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचनाहरु सरकारी जग्गामा बनेका हुन् ।
६५ वर्ष पुरानो मणिपाल ग्रुपअन्तर्गत भारत,मलेसिया,संयुक्त अरब इमिरेट्स र एण्टिगुवामा गरी ५ वटा विश्वविद्यालय १० वटा कलेज संचालित छन् । मणिपाल विश्वविद्यालयमा वर्षेनी ३० हजार विद्यार्थी भर्ना हुन्छन् । विश्विद्यालयका अनुसार कलेजमा विभिन्न ५७ देशका विद्यार्थी अध्ययनरत छन् । अस्पतालमा करिब ९ सय कर्मचारी कार्यरत छन् । स्थानीयलाई रोजगारी दिने यो पोखराको ठूलो संस्था हो ।
शिक्षण अस्पतालको स्वामित्वसँगै अब अस्पतालले तिर्न बाँकी रहेको झण्डै १ अर्बको दायित्व पनि स्वीकारेको अटोवेज समूहका अध्यक्ष नारायण पौडेलले बताए । उनका अनुसार शिक्षण अस्पतालमा बतास अर्गनाइजेजनको ६० र अटोवेजको ४० प्रतिशत सेयर रहने छ । मणिपाल समूहसँग शुक्रबार अस्पताल खरिदको सम्झौता गरिने उनले जनाए । अस्पतालले तिर्नुपर्ने करबापत्को दायित्व छिट्टै चुक्ता गर्ने योजना रहेको उनले सुनाए । मणिपालले पोखरा महानगरपालिकालाई घरजग्गाको मालपोत तथा भवनको नक्सापासको शुल्क तिर्न बाँकी छ । मणिपाल अस्पतालको कुनै पनि प्रकारको ऋण छैन । नयाँ व्यवस्थापनले कलेज संचालनको लागि बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति गरेको छ । बाँकी २ शेयर सदस्य बतास समूहकै रहेका छन् ।
केही वर्षअघि पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले पोखराको ठूलो प्रत्यक्ष वैदेशिक लगानी गर्ने मणिपाल समूहलाई सम्मानित गरेको थियो । मणिपाल समूह बाहिरिनुले देशमा लगानीको वातावरण छैन भन्ने सन्देश जानसक्ने पोखरा उद्योग वाणिज्य संघले ठहर गरेको छ ।
‘हामी प्रत्यक्ष बहुराष्ट्रिय लगानी भित्र्याउने कुरा गरिरहेका छौँ तर पोखराबाट एउटा ठूलो लगानी बाहिरिएको छ, यसले वाह्य लगानीकर्तालाई सशंकित बनाउँछ’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेले भने,‘तर,मणिपालमा स्वदेशी र अझ पोखरेली लगानीकर्ताहरुले नै हात हाल्नु राम्रो कुरा हो,निजी लगानीको सुरक्षा र वैदेशिक लगानी भित्र्याउन सरकारले विशेष योजना चाहिँ ल्याउनुपर्छ ।’





