बस्ती जोगाउनलाई गत वर्ष नै प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, काम सुरु भएको छैन ।
तनहुँ/ धेरै दिनको झरीपछि मंगलबार मौसम छर्लंग खुलेको थियो । तर, तनहुँ भिमादका प्रकाश कलकलको अनुहार भने अँध्यारै थियो । वर्षौंदेखि आड भरोसा दिएको घर छाडेर डेरा सर्दै थिए उनी । दिउँसो साढे १ बजे उनी घरका सर–सामान डेरातर्फ लैजान मिलाउँदै गर्दा भेटिए ।
भिमाद नगरपालिका–६ कुमारचोककोवर्षौं पुरानो घरमा होटल चलाउँदै आएका उनले जिन्दगीको सुख/दुख जोडिएको पुख्र्यौली घर छोड्नुपर्दा मन भारी थियो ।६० वर्षीय उनी भाग्यले जसोतसो बाँचियो भनेरे मनमा परेको चोटमा आफैं मल्हमपट्टी लगाउँथे।
घर छोड्न उनलाई रहर थिएन, वाध्यता थियो । सेती नदीको माथिल्लो भाग भिमाद बजारको कुमार चोकमा रहेकको उनको घरको पछाडिपट्टीको भाग पहिरो खस्यो । शौचालय र भाँडाकुडा पनि गर्लयामगुर्लम खसे । राति ३ बजेतिरको खसेको पहिरोले शौचालयको टिन सेतीको किनारमा बजारिदाँ मस्त निन्द्रामा सुतेका प्रकाश एक्कासिब्युँझिए ।
उठेर हेर्दा कोठाभन्दा पर बाँकी केही रहेन् । त्यहाँ बस्न जोखिम भएपछि नजिकै डेरा खोजेर सर्दै थिए उनी । ‘घर बस्न मिल्ने भएन । अर्को घर बनाएको छैन। बाहालमा बस्न जान लागेको । धन्न एउटा कोठा पा’कोछु । यहाँ बस्नलाई डर लाग्दो भो, बच्न त प¥यो नि !’, उनले सुनाए । बडो संघर्षले बनाएको घर बस्न नमिल्ने भएर छोड्नुपर्दा मन दुखेको उनले भावविह्ल मुद्रामा बताए।
बेलामै तटबन्धन भइदिएको भए यस्तो अवस्था नआउने उनको भनाइ छ । ‘पहिला तलबाट उठाएर तटबन्धन हुन्छ भने जस्तो गर्दिएको भए धेरै राम्रो हुन्थ्यो केरे । त्यो बेला नि एक करोड आछ बजेट भन्नी सुनाए । त्यो काम पनि भएन। अहिले सरकारले वास्तै गर्न छाड्यो’, उनले भने ।
प्रकाशको घर पछाडिको जमिन सेतीमा मिसिएपछि छिमेकीको घर पनि जोखिममा छ । कुन बेला घर खस्ने हो भर छैन। त्यही डरले कोहीडेरा सरे । डेरा सर्न नसक्नेहरु जोखिम मोलेर पहिरो रुघँरे घरमैबसिरहेका छन् । सायद उनीहरुको मनले भन्दो हो, ‘भागेर जाउ कुन ठाउँ जाउँ ? मान्छे नमर्ने शहर हुदैन ।’ भगवान भरोसामा घरमै बसेकाले बरु सवारीको भारले पहिरो खस्न सक्ने भन्दै मुल सडक नै बन्द गराएका छन् ।
पछिल्लो एक साता निरन्तर परेको बर्षाले मंगलबार विहानीपख कुमारचोकको करिब एक दर्जन घर पछाडीबाट पहिरो खसेको छ । ती घरको पछाडी एक इन्च जमिन बाँकी छैन् । अरु तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घर भन्दा बाहिर बाँकी जमिन छैन् । तैपनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाईरहेका छन् ।
दिनभर व्यपार गर्ने र रातमा बास बस्न अन्तै जानेको गरेको माया हिराचनले बताईन् । ‘पहिला घरको पछाडी तरकारी लगाउने ठाउँ समेत थियो । अहिले पहिरो खस्दा खस्दा शौचालय पनि छैन् । दिउँसो व्यपार गरेपनि राती यहाँ बस्न सक्दैनौँ’, उनले भनिन् ।
दिउँसो पनि कुन बेला पहिरो खस्छ केही भर छैन्, किन जोखिम मोलेर व्यापार? प्रश्न खस्न नपाउदै उनको जवाफ थियो, ‘बाध्यता हो नि । अन्त हाम्रो व्यापार गर्ने ठाउँ छैन् । पानी पर्न थालेपछि डराई डराई व्यपार गरिन्छ । दिनमा बसेपनि राती यहाँ बसिन्न ।’
वडाध्यक्ष श्यामसुन्दर जोशीका अनुसार २०५२ सालदेखी हाँ सेतीमा पहिरो खस्न थालेको हो । प्राय घरबाट सेतीको डिलसम्म १५ मिटरसम्म दुरी थियो । तर, अहिले एक इन्च दुरी छैन् । ४१ घर बस्नै नमिल्नेगरी जोखिममा रहेको वडाध्यक्ष जोशीले बताए । यसरी नै पहिरो खसीरहे नदीतर्फको मात्रै नभएर कुमार चोकको पुरै वस्ती जोखिममा पर्ने उनी बताउँछन् । नदी कटान र पहिरो रोक्लाई बर्षेनी वडा र नगरले बजेट विनियोजन गरीरहेको उनी बताउँछन् । सानो बजेटले काम नभएको उनले उल्लेख गरे । ‘नगरको बजेटले नपुग्ने, संघ र प्रदेशले विनियोजन नगर्दा वृहत तटबन्धनको काम भएको छैन्’, उनले भने ।
बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत बर्ष नै डिपिआर तयार गरिएको हो । तर, काम सुरु नभएको उनले बताए । गत बर्ष प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
काम सुरु नभएको वडाध्यक्ष जोशी बताउँछन् । ‘गत साल नै हामी टेन्डर लगाउँछौँ । ठेकदारले पेश्की बुझेर बस्छ । भदौ असोजबाट काम सुरु हुन्छ भनेपछि हामी ढुक्क भएर बस्यौँ । टेन्डर पनि भएन । अहिले प्रदेशले जम्मा ३० लाख रुपैयाँ बजेट हाल्देछ । प्रदेश सरकारले के ग¥या हो ?’, उनको प्रश्न छ ।
नदी तटबन्धनको काम जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँ मातहातमा हुनेछ । कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धनका लागी १७ करोड रुपैयाँको डिपिआर तयार भएको हो । डिपिआर स्विकृतका गर्न गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय पठाएको कार्यालयकी प्रमुख सिनियर डिभिजन इञ्जिनियर दिपा गौतमले बताईन् । उनले भनिन्, ‘कार्यालयको समग्र बजेट १५÷१६ करोड भन्दा हुदैन् । ठुलो रकमको योजना भएकाले मन्त्रालयमा विचारधिन छ’, उनले भनिन् । संघीय सरकारले बजेट पठाएको खण्डमा तुरुन्त काम सुरु गर्ने उनको दाबी छ । सेती नदी तटबन्धनका लागी संघीय सरकारले ३० लाख रुपैयाँ र प्रदेशबाट ४० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिईन् ।





