
पोखरा/ अविरल वर्षापछिको पहिरोले घर पुरिँदा कास्कीमा ३ जनाको मृत्यु भएको छभने एकजना वेपत्ता छन् । गएराती आएका पहिरोमा परी ५ जना घाइते भएका छन् ।
कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालका अनुसार अविरल वर्षापछि घर भत्किँदा ४५ वर्षीय कृष्णकुमार श्रेष्ठको र उनकी पत्नी सुनमाया श्रेष्ठको मृत्यु भएको हो । उनका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ हराइरहेका छन् ।
राति १ बजेतिर ब्लकले बनेको घर पहिरोले भत्किँदा पत्नीको घटनास्थलमै र कृष्णकुमारको उपचारको क्रममा मणिपाल अस्पतालमा निधन भएको हो । अर्का ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएपनि उनी खतरामुक्त भएको प्रनाउ हमालले बताए ।
यसैगरी, पोखरा–११ काहुँडाडामा घर भत्किँदा काहुँ भञ्ज्याङ नमूना नमुना टोलमा घर भत्किँदा ४२ लक्ष्य नेपालीको निधन भएको छभने उनकी १४ वर्षीया छोरी श्रृष्टि नेपाली घाइते भएकी छन् । उनी खतरामुक्त छन् ।
अविरल वर्षापछिको बाढीले पोखराका विभिन्न ठाउँमा जमिन भासिएको छ । पोखराको नदीपुर क्षेत्रमा घर भासिएका छन् भने पोखरा–१३, काहुँखोला क्षेत्रका बस्तीहरु डुवानमा परेका छन् । कास्की कांग्रेसका सभापति कृष्ण केसीका अनुसार पोखरा–१३ को काहुँखोला जमिनको सतहमाथि बगेको छ भने कमलपोखरी क्षेत्रका सबैजसो घरहरु डुबानमा परेका छन् ।





