पोखरा / कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मका लागि लम्ब्याएको हो ।
त्यस्तै कार्यक्रम, गोष्ठी तथा सेमिनारको हकमा पनि प्रशासन केही लचिलो बनेको छ । नगरी नहुने सरकारी, तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराएर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन् ।
तर, सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसल भने खोल्न नपाइने यसअघिको नियमलाई निरन्तरता दिइएको छ ।
कास्कीमा बिहीबारसम्म कोरोनाका १ हजार ३६३ जना सक्रिय संक्रमित छन् भने ५ सय ६१ जनाले ज्यानले गुमाइसकेका छन् ।




