पोखरा/ ३ महिनाअघि पोखरामा एउटा मिक्सचर दुर्घटनामा प¥यो । पोखरा १८, सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ क ३१८७ नम्बरको मिक्सचर मेथलाङमा दुर्घटना हुँदा सहचालक पोखरा १४ चाउथेका निरोध थापाको मृत्यु भयो ।
दुर्घटनामा मिक्सचर चालक कैलालीको धनगढी १, घर भई पोखरा ५ बस्दै आएका ३५ वर्षीय राजन सिंह घाइते भए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार गरियो । बिहान करिब १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मिक्स्चर आफैं अनियन्त्रित भई सडकको बायाँतर्फ नालीमा पल्टिएको थियो । चालक घाइते भएकै अवस्थामा घटनाबारे अनुसन्धान चल्यो । चालक सिंह उपचार गरेको ४७ दिनपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा हाजिर भए । उनी उपर अनुसन्धान चलिरहेको थियो । उनलाई थुनामा राखेको ६ दिनपश्चात कोरोना संक्रमण देखाप¥यो ।
प्रहरीले होम आइसोलेसनमै बस्ने गरी छाडिदियो । कोरोना देखिएको १२ दिन पछि अर्थात् साउन २९ गते उनी पुनः जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन पुगे । हिरासतमा राखियो । हिरासतमा राखेरै अनुसन्धान गरिरहँदा उनले प्रयोग गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै नक्कली रहेको पुष्टि भएको छ ।
सिंहसँग मोटरसाइकल, मोपेड र स्कुटरको मात्र सक्कल लाइसेन्स रहेको देखियो । बाग्मती यातायात व्यवस्था कार्यालयबाट जारी गरिएको ०१–०६–००६८०७२७ नम्बरको स्मार्ट लाइसेन्स अर्कैको नाममा रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । ‘पोखरा ७ का राजन श्रेष्ठको नाममा रहेको लाइसेन्सको प्रयोग भएको भेटियो । हामीले सबै मिसिल तयार पारी केन्द्रमा पठाएका छौं,’ उनले भने ।
बाग्मतीबाट जारी भएकाले लाइसेन्ससम्बन्धी कारबाही काठमाडौंबाटै हुने हमालले बताए । सिंहले प्रयोग गरेको लाइसेन्समा मोटर साइकलदेखि कार, जिप, ट्रक, बस लहरीसम्म चलाउन पाउने अनुमति रहेको छ । लाइसेन्स कहाँबाट आएको भन्ने अनुसन्धान पनि उतै हुने उनको भनाइ छ । सवारीको ट्रायल परीक्षामा फेल भएकाहरुले ठूलो रकम दिँदै लाइसेन्स बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
गतवर्ष सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका घर भएका आशिष गिरीलाई प्रहरीले फर्जी लाइसेन्स बनाएकै कारण पक्राउ गरेको थियो आशिषले मागेजति पैसा दिए सक्कली लाइसेन्स घरमै पु¥याइदिने गर्दथे । ट्राफिक महाशाखा र भक्तपुर परिसरबाट खटिएको प्रहरी टोलीले थिमी नगरपालिका–६ बाट उनलाई पक्राउ गरेको थियो ।
उनले नेपालमा चर्चित फुटबलर सन्तोष साहुखलको लाइसेन्स नम्बरमा अर्कै विवरण भरेर फर्जी लाइसेन्स बनाइदिएका थिए । साहुखल हाल जापानमा रहेका छन् । उनको लाइसेन्स २०७२ सालमा नवीकरण गर्नुपर्ने थियो । नवीकरण नगर्दा उनको लाइसेन्स खारेज भएको थियो ।




