तत्कालीन खेलकुद मन्त्री विश्वकर्मा आफैं उपस्थित भएर रुख ढाल्न आदेश दिएको र उनका भतिज मोहन सुनार हुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले रुख काटेको स्थलगत मुचुल्काबाटै प्रारम्भिक तथ्य खुलिसकेको थियो ।
पोखरा – पोखरा महानगर १९ घार्मी गुराँसपानीमा ३ वर्ष अघि ५ सय ३ रुख काटिए । वन कार्यालयको अनुमतिबिना नै धमाधम रुख कटान भयो । तर, आजसम्म पनि रुख कसले किन काटेको भन्ने कुरा खुल्न सकेको छैज । लामो समय भइसक्दा पनि सब डिभिजन वन कार्यालय ‘अनुसन्धान’मै घुमिरहेको छ ।
वन कार्यालयले ३ वर्षसम्म घटनाको गुदीभित्र छिर्न सकेको छैन । तत्कालीन समयमा अनुसन्धानमा स्थानीयको सहयोग नमिलेको बताएको कार्यालय अहिलेसम्म उही समस्या दोहो¥याइरहेको छ । उक्त प्रकारणमा तत्कालीन खेलकुदमन्त्री जगत विश्वकर्मा जोडिएका थिए । उनले वनमा ‘रुख नकाटेको तर, दाउरा काटेको’ भन्दै आफ्नो बचाउ गरिसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले असारमा मात्रै सोही प्रकरणबारे सोधखोज गरेको थियो । तर, आफूहरुले पनि वन कार्यालयबाट ‘अनुसन्धान भइराखेको’ भन्ने जवाफमात्रै पाएको आयोगका उपसचिव तथा सूचना अधिकारी मेघनाथ रिजालले बताउँछन् ।
‘हाम्रो काम भनेको छानविन गर्ने हो । छानविनका लागि हामीले वन कार्यालयलाई पत्रचार गरेका छौं । दोषी देखिएमा वनले नै कारवाही गर्ने हो,’ उनले भने, ‘एक महिना अघिमात्र बुझ्दासमेत अनुसन्धानमै छौ भनिरहेका छन् । प्रतिवेदन अझै आएको छैन ।’ अख्तियारले ०७७ बैशाख ५ गते वन कार्यालयलाई यथार्थ छानविन गरी प्रतिवेदन पठाउन पत्राचार गरेको थियो ।
पत्र प्राप्त गरेको १ वर्ष कटिसक्दा पनि वन कार्यालयले अनुसन्धान प्रतिवेदन तयार पार्न सकेको छैन । अनुसन्धान प्रक्रिया अघि नबढाउन राजनीतिक दबाब आएकाले पनि अनुसन्धान प्रभावित भइरहेको वन कार्यालयकै एक कर्मचारी बताउँछन् । ‘विभिन्न राजनीतिक दलकै दबाबका कारण अनुसन्धान अघि बढ्न नसकेको हो,’ ती कर्मचारीले भने ।

तत्कालिन खेलकुदमन्त्री जगतवहादुर विश्वकर्मा
सव डिभिजन वन कार्यालय पोखराका सूचना अधिकारी शालिकराम पराजुलीले भने स्थानीयको असहयोगका कारण अनुसन्धानमा कठिनाइ भएको आरोप लगाउँछन् । ‘हामी अनुसन्धानकै क्रममा रहेका छौं । स्थानीयको सहयोग छैन,’
उनले भने । पराजुलीलाई समेत अनुसन्धान कहाँसम्म पुग्यो भन्ने जानकारी छैन ।
सूचना अधिकारी पराजुलीकै भनाइलाई आधार मान्ने हो भने अनाधिकृत रुपमा ५ सय ३ रुख काट्ने उम्किएर जाने देखिन्छ । तत्कालीन खेलकुद मन्त्री विश्वकर्मा आफैं उपस्थित भएर रुख ढाल्न आदेश दिएको र मन्त्रीको भतिज मोहन सुनार हुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले गरी ५ सय ३ वटा रुख ढालेको कुरा स्थलगत मुचुल्काबाट प्रारम्भिक तथ्य खुलिसकेको थियो ।
यस विषयमा अनुसन्धान गरिरहेकी पोखरा सब डिभिजन वन अधिकृत ममता शर्मासँग बुझ्न खोज्दासमेत उत्तर पाउन सकिएन । उनले सुरुमा आफू बिदामा रहेको बताएपनि पछि मोबाइल अफ गरेर जवाफबाट पन्छिएकी हुन् ।
तत्कालीन समयमा रुख काटनका समयमा कोरोना महामारीका कारण लकडाउन थियो । लकडाउनकै मौकामा वनको रुख काटिएको थियो । महामारीका कारण अवस्था प्रतिकुल रहेको भन्दै मुचुल्का गरिएका काठ, गोलिया, दाउरा वनमै छोड्नुपरेको डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठले बताएका थिए । हाल उनको सरुवा भइसकेको छ । श्रेष्ठको ठाउँमा अहिले केदार बराल आएका हुन ।
कार्यालयमा बराल आएपश्चात सुरुआती समय चासोसमेत देखाएका थिए । उनले नापी विभागलाई पत्राचार गरेर वन कसकोे हो भन्ने प्रतिवेदन निस्किएपछि अनुसन्धान अघि बढाउने बताएका थिए । तर, हाल उनीपनि यस प्रकरणमा मौन छन् । पटकपटक सम्पर्क गर्दासमेत फोन उठने ।





