पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटको श्रोत सुनिश्चित हुने वित्तिकै क्रमागत योजनाहरुलाइ निरन्तरता दिने बताएका छन् ।
बुधबार पोखरामा आयोजना भएको स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन सवाल, समस्या र अन्तर सरकार समन्वय प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै अर्थमन्त्री बरालले सरकारले क्रमागत योजना नरोक्ने बताए ।
‘बजेटको श्रोत सुनिश्चित हुने बित्तिकै पहिलाका क्रमागत योजनाहरुलाई हामीले निरन्तरता दिन्छौं’,उनले भने,‘कुनै पनि बहुवर्षीय योजना काटिएका छैनन, त्यसलाई अनुसूचीमा लगेर राखिएको छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा ल्याएको ३० अर्बको बजेटमध्ये ६ अर्बको घाटा बजेट रहेकोले बजेट जुटाउन नसकिएको उनको भनाइ थियो । उनले प्रदेश सरकार लगानी सम्मेलनको तयारीमा जुटेको र लगानी सम्मेलनले स्रोत र साधनको पहिचान गर्ने जिकिर गरे ।
उनले संघीयताका विरोधीहरुले अधिकार बाँडफाँड नहोस् भन्ने चाहेको जिकिर गर्दै भने,‘संघीयतालाई कसरी फेल बनाउने भित्री र बाहिर केही शक्ति लागेका छन्, यहाँ सरकार कहिले कसको नेतृत्वमा बन्ला त्यो ठूलो कुरा होइन, पहिलो कुरा हाम्रो प्रणाली बचाउनु पर्छ । ’
गाउँपालिका राष्ट्रिय महांसंघ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रमम वोल्दै प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले वित्तीय व्यबस्थापनमा पारदर्शीता आवश्यकता भएको बताए । विकासका कार्यक्रमलाई राजनीति रंग दिन नहुनेमा उनले जोड दिए । नेपाल नगरपालिका महासंघका केन्द्रीय सचिवालय सदस्य पदमपाणि शर्माले स्थानीय तहमा अन्य सरकारको तुलनामा कम बेरुजु रहेको दावी गरे ।सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवासचन्द्र शिवाकोटीले असारमा खर्च गर्ने प्रणालीलाई सुधार गर्नुपर्ने बताए । महासंघ गण्डकीका संयोजक ईश्वर पाण्डेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।




