बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुल निर्माणमा ढिलासुस्ती : समयमै सक्न सांसदको निर्देशन

पुल निर्माणमा ढिलासुस्ती : समयमै सक्न सांसदको निर्देशन

संघीय सरकारको बजेटमा निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र परेपछि बुधबार स्थलगत अवलोकन गर्दैै सिग्देलले यो वर्षभित्र पुल सक्ने गरी काम गराउन सडक डिभिजन कार्यालयलाई निर्देशन ।


  • Dhorpatan News
  • भाद्र २४ २०७८, बिहिबार
पुल निर्माणमा सरोकारवाला र उपभोक्तासँग छलफल गर्दै सांसद सिग्देल ।

तनहुँ/शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका ८, भागर जोड्न सेती नदीमा निर्माणाधीन मोटरेबल पुलको म्याद ४ पटक सकियो । यो अवधिमा ३ वटा पिल्लर ठडिने बाहेक अरु काम भएको छैन ।

पुल निर्माणमा भएको ढिला सुस्तीप्रति यतिबेला चौतर्फी आलोचना भइरहेको छ । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद केदार सिग्देलले पनि पुल निर्माणमा भएको ढिला सुस्तीप्रति चासो देखाएका छन् ।

संघीय सरकारको बजेटमा निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र परेपछि बुधबार स्थलगत अवलोकन गर्दैै सिग्देलले यो वर्षभित्र पुल सक्ने गरी काम गराउन सडक डिभिजन कार्यालय दमौलीलाई निर्देशन दिए । ठेकेदारले ‘बर्खा लायो, नदीको वहाव बढ्यो’ भन्ने बहानामा काम ढिलो गर्नलाई छुट नभएको उनको भनाइ छ । ‘जेठ लागेर काम सुरु ग¥यो, असारमा बाढी आयो भनेर ढिला सुस्ती हुन भएन’, उनी बताउँछन् ।
सेती पारीका जनताले पनि मोटर चढ्न पाउनुपर्ने उनको भनाइ छ । ‘एक वर्षमा एउटा पिल्लर नबन्ने भएपछि जनताले कहिले मोटर चढ्न पाउँछन् ? बजेटको कारण काम रोकिएको हैन । बजेट पुगेन मात्र भन्नुस करोडौँ रुपैैयाँको व्यवस्थापन गर्न पहल गर्नेछु’, उनले भने ।
सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनियर दिपेन्द्र पन्थले यो बर्ष काम सम्पन्न गराउने प्रतिबद्धता जनाए । ‘यो बर्ष सक्ने गरेर ठेकेदारलाई काम गर्न निर्देशन दिएका छौँ । पानीको वहाब घटेपछि ठेकेदारलाई फिल्डमा झिकाउँछौँ’, उनले भने । पुलको डिजाइन परिर्वतनका कारणले पनि निर्माणमा केही समय ढिलाई भएको उनको दाबी छ ।

पुलको तेस्रो पटक थपिएको म्याद ९ भदौमा सकिएको छ । २९ असार २०७५ सम्म निर्माण सक्ने शर्तमा ३० असार २०७२ मा एडभेन्चर कन्ट्रक्सन प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ६५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कोरोनाले प्रभावित निर्माणाधीन आयोजनालाई ६ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार दोभानको पुलको पनि स्वत म्याद थपिएको छ ।

पुल निर्माणमा ढिलाई हुदाँ तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् । पृथ्वी राजमार्ग नजिकका बस्तीहरु बर्खामा यातायात सञ्जालबाट टाढा बन्ने गर्छ ।
दोभानमा सेती तर्नलाई फड्के, तुईन हुदै अहिले झोलुङ्गे पुल बनेको छ । मोटरेबल पुलबाट ओहोरदोहोर गर्न पाईदैन की भन्ने आशंका नारायण खनालको छ । उनी भन्छन्, ‘ठेकेदार आउने यसो कोट्याउने मात्र गर्छ । केटाकेटी खेले जस्तो । यो पुुल नबन्दा विकासको मुख देख्न पाईएन’, उनले भने । छिटो भन्दा छिटो पुल निर्माण हुनुपर्ने उनको माग छ ।

पुल निर्माणमा ढिलाई हुनुमा निर्माण कम्पनीसँगै सडक विभाग अन्तर्गतको पुल महाशाखाको पनि कमजोरी देखिन्छ । सुरुमा ओपन फाउन्डेसनमा पुलको डिजाइन भएकोे थियो । दुई पिल्लरको काम सकेर नदीको बीचमा पिल्लर राख्ने बेला डिजाईन फेरियो । पायल फाउण्डेसनमा डिजाईन फेरिएको पुलको झण्डै डेढ वर्ष काम रोकिएको सडक डिभिजन दमौलीले जनाएको छ ।
आठ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपैयाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पाँच करोड ४२ लाख ४ हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो वर्षको बजेटमा संघीय सरकारले पुल निर्माणका लागिएक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->