पोखरा/ रोजगारीको लागि दक्षिण कोरिया गएका नेपालीहरुमा गम्भीर मानशिक समस्या देखिएको छ । बुधकार सार्वनिक भएको एक अध्ययन प्रतिवेदन अनुसार उनीहरु आत्महत्याको जोखिममा परेका छन् ।
आप्रवासी कामदारहरुको हितमा काम गने दक्षिण कोरियाली संस्था फ्रेण्डस् अफ होप–वि फ्रेण्डस्ले १०२ जना नेपाली,चिनियाँ र बर्मेली आप्रवासी कामदारबीच गरेको सर्वेक्षणबाट यो तथ्य बाहिर आएको हो । आत्महत्या रोकथामको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार मानसिक रोग र डिप्रेसनका कारण उनीहरुबाट आत्महत्याको जोखिममा परेका हुन् ।
माइग्रेन्ट हेल्थ एसोसियसन इन कोरियासमेत भनिने यो संस्थाले ती आप्रवासी कामदारहरुको लागि तत्काल विशेषज्ञ परामर्श सेवा दिइनुपर्ने पनि बताएको छ । बुधबार सार्वजनिक गरिएको सर्वेक्षणका अनुसार अध्ययनमा सामेलमध्ये ३३.४ प्रतिशतमा गम्भीर र २०.६ मा सुस्त गतिको डिप्रेसन देखिएको छ । पछिल्ला कामदारहरुले कामप्रति चासो राख्न छाडेको र खुसी गुमाउँदै गएको प्रतिवेदनमा उल्लेख छ ।पछिल्लो समय कोभिडका कारण ज्याला घट्नु, रोजगार नै गुमाउनु, परिवारबाट टाढा रहनु,भाषा र संस्कृतिसँग घुलमिल नहुनु,गाह्रो काम गर्न बाध्य रहेकाले ती कामदारमा समस्या देखिएको ‘वि फ्रेण्डस्’को ठहर छ । एक अर्को अध्ययनका अनुसार नेपालबाट कोरिया जानेहरु धेरैजसो पढेलेखेका हुन्छन् । सपना र कामबीच तारतम्य नमिल्दासमेत उनीहरु डिप्रेसनको सिकार हुन्छन् ।
‘जागिरबाट हात धुनुपर्ने डरले उनीहरु आफ्नो समस्या भन्न डराएका छन्’,प्रतिवेदनमा भनिएको छ । वि फ्रेण्डस्ले आप्रवासी कामदारहरुको आत्महत्या रोक्नकै लागि सिओलको आत्महत्या रोकथाम केन्द्रसँग सहकार्य गरिरहेको तथा अनलाइनमार्फत् ‘गेटकिपर’ परामर्श दिइरहेको छ । नेपाली,चिनियाँ, बर्मेली तथा कोरियन भाषामा यस्तो परामर्श कक्षा संचालनमा ल्याइएको वि फ्रेण्डस् कोरियाका महासचिव लि ए रानले बताएका छन् । उनका अनुसार आत्महत्या रोकथाम दिवसको अवसर पारेर संस्थाले आप्रवासी कामदारहरुका लागि ‘आफूलाई बचाऊ, जीवन बचाऊ’ भन्ने अभियान नै संचालनमा ल्याएको छ ।
सिओल महानगरका प्रहरी प्रमुख किम ह्युङ सुका अनुसार महानगरको आत्महत्या रोकथाम केन्द्र र म्योङ्जी अस्पतालका मनोचिकित्सकहरुले गरेको अध्ययनका अनुसार आप्रवासी कामदारलाई सहयोग गर्ने आफन्त नहुँदा समस्या उत्पन्न भएको हो ।
सन् २००८ देखि २०१८ सम्मको तथ्याङ्क अनुसार दक्षिण कोरियामा मृत्यु भएका १४३ कामदारमध्ये ४३ जनाको मृत्युको कारण आत्महत्या थियो । रोजगार अनुमति प्रणाली( ईपीएस कोरिया) को भाषा र सीप परीक्षा उत्तीर्ण गरेपछि मात्रै कोरिया जान पाइन्छ ।
कोरियामा झण्डै ३० हजार नेपाली श्रमिक रहेका छन् । कोभिडका कारण करिब १२ हजार नेपाली कामदारले दक्षिण कोरिया जान पाएका छैनन् । पछिल्लो समय कोरियाले छुट्टीमा आएका नेपालीलाई सेल्फ क्वारेण्टिन बस्ने प्रतिवद्धतासहित फिर्ता लगेको छ । फिर्ता जानुपूर्व कामदारले ७२ घण्टाअघि गरिएको पीसीआर रिपोर्ट पेस गर्नुपर्ने ईपीएस सेण्टरको सूचना छ । त्यहाँ नेपालीले हरेक महिना १ लाख ५० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म कमाउँछन् । नेपालीहरु गैर व्यावसायिक भिसा (इ–९ ० मार्फत् अर्थात् कडा शारीरिक श्रम सम्झौता अनुसार कोरिया पुगेका हुन्छन् । हरेक वर्ष अंग्रेजी पात्रोको सेप्टेम्बर १० तारिखलाई आत्महत्या रोकथामको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । विश्वमा हरेक वर्ष ८ लाखभन्दा बढी मान्छेले आत्महत्या गर्छन् ।




