पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी सरकार मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणमा ठोस कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश सरकार साथमा रहेको बताए ।
हरेक जीवनलाई जोगाउनु पर्छ र सुनौलो भविश्यको निर्माण गर्नुपर्नेमा प्रतिबद्धता जनाए ।
‘विषम परिस्थितिमा आत्महत्याको सोच जो कोहीलाई पनि आउन सक्दछ । तर, आत्महत्या व्यक्तिगत कमजोरीले हुने होइन, यो त एक मनोसामाजिक समस्याको नतिजा हो’ उनले भने ।
सानो प्रयासले व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउन सकिने भन्दै व्यक्तिलाई बदल्ने भन्दा पनि समाजमा रहेको नकारात्मक सोच र अभ्यासलाई परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्याका कारणले आफ्नो जीवन गुमाइरहेका छन् । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् ।
आर्थिक वर्ष २०७७÷२०७८ मा आत्महत्याका कारण ७ हजार १ सय ४१ जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा करिब १४ प्रतिशतले बढी हो ।
नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य सन् २०१५–२०३० अनुसार आत्महत्याको दर १६.५ प्रति १ लाखबाट घटाई ४.७ मा पु¥याउने लक्ष्य लिएकोमा सन् २०२१ को मध्यसम्म बढेर २४.५ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ६ सय ४४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आत्महत्या रोकथामका लागि हामीले के के कोसिस ग¥यौं त भन्ने बारेमा अब समीक्षा हुनु जरुरी रहेको बताए ।
समस्याको कारण पत्ता लगाएर अब सरोकारवाला सबै संस्था र निकाय एकजुट रहेर निराकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले आत्महत्या प्रदेशको मुख्य समस्या रहेको भन्दै यसका गण्डकी सरकार संवेदनशील रहेको भनाइ राखे ।
मानवअधिकारको आवधिक प्रतिवेदनमा समेत यो विषयले प्राथमिकता पाएको भन्दै उनले सरकारले विशेष खालका कार्यक्रम गरेर हामी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी मीनबहादुर घलेले अपराधको मुद्दा दर्ता भएका मध्ये सामाजिक अपराध वाहेक आत्महत्याका मुद्दा नै बढी रहेको बताए ।
आत्महत्याका कारण खोतल्दै जाँदा गरिबी र बेरोजगारी सबैभन्दा ठूलो समस्या रहको पाइएको उनको भनाइ थियो ।
मानसिक समस्या एक्सरे, एमआरआई , रगत जाँचेर समस्या पत्ता लाग्दैन : देवकोटा
कार्यक्रममा कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले आफू आत्महत्याको प्रयासपछि बँचेर नयाँ जीवन जिएको बताए । उनले भने, ‘१५ वर्षको हुँदा मलाई मनोसामाजिक समस्या देखियो ।
१९ वर्षसम्म पढाइ जारी राखें । ७ वर्ष घरमै बसें, म त शिक्षा प्रणालीको सिकार भएको रहेछु । २५ वर्षको उमेर पुगेपछि मानसिक स्वास्थ्यको उपचार सुरु भयो ।
उनका अनुसार मानसिक समस्या रोग होइन । यो मनको समस्या हो । त्यसैले मनोसामाजिक परामर्शले यो समस्यालाई कम गर्न सकिन्छ । मानसिक समस्या एक्सरे, एमआरआई वा रगत जाँचेर समस्या पत्ता लाग्दैन् ।
‘चिरेर, जाँचेर, अपरेसन गरेर हुँदैन । यसका लागि त दक्ष जनशक्ति चाहियो । तनावको कारणले पनि यो हुन्छ भनेर मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने हुन्छ ’ उनले भने ।





