पोखरा/ ‘१५ वर्षको हुँदा मलाई मनोसामाजिक समस्या देखियो । १९ वर्षसम्म पढाइ जारी राखें । ७ वर्ष घरमै बसें, म त शिक्षा प्रणालीको सिकार भएको रहेछु । २५ वर्षको उमेर पुगेपछि मानसिक स्वास्थ्यको उपचार सुरु भयो ।’
आफ्नो अनुभव सुनाउने व्यक्ति थिए, कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटा । उनी विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै मात्र थिएनन्, बाँच्न उत्प्रेरित गरिरहेका थिए ।
उनका अनुसार मानसिक समस्या रोग होइन । यो मनको समस्या हो । त्यसैले मनोसामाजिक परामर्शले यो समस्यालाई कम गर्न सकिन्छ । मानसिक समस्या एक्सरे गरेर, एमआरआई गरेर, रगत जाँचेर मानसिक समस्या पत्ता नलाग्दै उनले भने, ‘चिरेर, जाँचेर, अपरेसन गरेर हुँदैन । यसका लागि त दक्ष जनशक्ति चाहियो । तनावको कारणले पनि यो हुन्छ भनेर मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने हुन्छ ।’
पछिल्लो तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्याका कारणले आफ्नो जीवन गुमाइरहेका छन् । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा आत्महत्याका कारण ७ हजार १ सय ४१ जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा करिब १४ प्रतिशतले बढी हो ।
नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य सन् २०१५–२०३० अनुसार आत्महत्याको दर १६.५ प्रति १ लाखबाट घटाई ४.७ मा पु¥याउने लक्ष्य लिएकोमा सन् २०२१ को मध्यसम्म बढेर २४.५ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ६ सय ४४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । मुख्यमन्त्री पोखरेलले भने, ‘यो भयानक अवस्था हो जसको सरकार र सम्पूर्ण सरोकारवालाहरुले ध्यान पु¥याउनुपर्छ । हरेक जीवन अमूल्य छ र त्यो जोगाउनु सबैको दायित्व हो।’ आर्थिक रुपमा सम्पन्न भए पनि मानसिक रुपमा कमजोर भएपछि मानिसहरु आत्महत्या गर्न वाध्य भएको पाइएको उनले बताए ।
यसअघि सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी सरकार मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणमा ठोस कदम चाल्न प्रतिबद्ध रहेको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आत्महत्या रोकथामका लागि हामीले के के कोसिस ग¥यौं त भन्ने बारेमा अब समीक्षा हुनु जरुरी रहेको बताए । नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले आत्महत्या प्रदेशको मुख्य समस्या रहेको भन्दै यसका गण्डकी सरकार संवेदनशील रहेको भनाइ राखे । प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी मीनबहादुर घलेले अपराधको मुद्दा दर्ता भएका मध्ये सामाजिक अपराध वाहेक आत्महत्याका मुद्दा नै बढी रहेको बताए ।




