पोखरा/पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको छ । हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै ‘जेसिज सप्ताह’ मनाउँदै आएको जेसीजले यो वर्ष सेनेटरी प्याड निर्माणदेखि कौशी खेतीसम्मका कार्यक्रम ल्याएको छ ।
१८ वर्ष देखि ४० वर्षसम्मका युवाहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाई सामाजिक उत्तरदायित्वको भावना बोध गराउँदै आएको जेसिजले सोमबार आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ।
आगामी भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म विभिन्न कृषिदेखि शिक्षा, स्वास्थ्यसम्मका कार्यक्रम गर्दै मनाउन लागेको पोखरा जेसीजका अध्यक्ष किरण केसीले जानकारी दिए । उनले महिला स्वास्थ्यको क्षेत्रमा संवेदनशील रहेको सेनेटरी प्याड उत्पादन तथा कौशी खेती विशेष रहेको बताए ।
‘महिलाको हकमा यो कार्यक्रम अति नै बहुउपयोगि हो । हाम्रो समाजमा महिनावारीको समयमा महिलालाई हुने समस्यालाई गिज्याउने प्रचलन रहिआएको छ । अझ हेर्ने हो भने त टालोको प्रयोग हुदैँ आएको पाउँछौ ’उनले भने, ‘हामीले पुन ः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम प्रदान गर्दैछौ । जस्ले महिलालाई समेत स्वरोजगार बनाई आत्म निर्भर बनाउन मद्दत गर्छ ।’
यस्तै जेसीज सप्ताह २०२१ मुल संयोजक सन्देश पराजुलीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलोे दिन सराङकोट स्थित मणिज्योती आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गर्ने जानकारी दिए । दोस्रो दिन पोखरा ३ नदीपुरमा कौशी खेति तालिम, तेस्रो दिन बिहिबार जिल्ला कारागारमा रहेका महिला कैदीहरुलाई पुनः प्रयोगयोग्य सेनेटरी प्याड निर्माण, चौथो दिन उद्यमीसँग युवा विषयक अन्तरक्रिया कार्यक्रम, पाँचौ दिन स्वास्थ्य सचेतना परामर्श, छैटौं दिन संविधान सम्बन्धी बहस र अन्तिम सातौं दिन गण्डकी युवा वक्तृत्वकला प्रतियोगितासहित समापन गरिने जानकारी दिए ।




